सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ८७ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ९ करोड रुपैयाँ र सर्वसाधारणलाई १३ करोड ५० लाख रुपैयाँ गरी २२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
आईपीओमा कसरी दिने आवेदन?
कम्पनीले निष्काशन गरेको शेयरमा असार १९ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे असार २९ गतेसम्म म्याद थप हुनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमर्य क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता सिभिल क्यापिटल र सेन्चुरी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
उच्च जोखिम रहेको जनाउने रेटिङ्ग
कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
इक्रा नेपालले कम्पनीको आईपीओलाई २०७८ चैत १७ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्ष अर्थात २०७९ चैत १४ गतेसम्म रहन्छ ।
कस्तो कम्पनी हो?
हिमालयन हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६६ मंसिर २२ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । २०७४ बैशाख २८ गते देखि पब्लिक कम्पनीमा परिणत भई कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १०, बुद्धनगर काठमाडौंमा रहेको छ । कम्पनीको आयोजनाको कार्यालय र जलविद्युत केन्द्र भने कास्कीको मादी गाँउपालिका वडा नं. २ मा रहेको छ ।
कम्पनीले ११.८८ मेगाबाट क्षमताको नामार्जुज मादि जलविद्युत आयोजनाको निर्माण कार्य सम्न्न गरिसकेको छ । आयोजनाबाट २०७७ अशोज १२ गते देखि व्यवसायिक विद्युत उत्पदान गर्दै आइरहेको छ ।
निर्माण कार्य सम्पन्न भैसक्दा आयोजनाको कुल लागन २ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २२ करोड ३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
साथै साधारण लगानी फिर्ता हुने अवधि ९.९४ वर्ष र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १७.०७ वर्ष रहेको छ ।
आईपीओ जारी गर्नुको उदेश्य
कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता शेयर स्थानिय बासिन्दालाई र सर्वसाधारणलाई १२.३३ प्रतिशत अर्थात १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता शेयर गरी कुल २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
आईपीओ निष्काशन गरेर संकलन भएको २२ करोड ५० लाख रुपैयाँ कम्पनीले कम्पनीको दायिन्व भुक्तानीमा प्रयोग गरिनेछ ।
कम्पनीबाट निर्माण भएको आयोजनाको निमार्ण कार्य सम्पन्न गर्नको लागि ग्लोवल आइएमई बैंकबाट लिएका १५ करोड बीजि लोन र आयोजना निर्माण कार्यसँग सम्बन्धित अन्य बाँकि खर्च भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।
तीन वर्षमा सञ्चित नाफा ८ करोड पुर्याउने
कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ८ करोड २८ लाख ४४ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा १३ करोड १५ लाख ४४ हजार नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा पनि ७ करोड २८ लाख ५ हजार रुपैयाँमा नोक्सानीमा रहेको छ । तर चालु आर्थिक वर्षको अन्त्यसम्ममा भने कम्पनीले खुदनाफा ४ करोड ६२ लाख ८१ हजार पुर्याउने प्रक्षेपण गरेको छ ।
यस्तै, अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि कम्पनी ६८ लाख ८० हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ १६ पैसा र प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५७ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ९८ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी १५ रुपैयाँ १२ पैसा नोक्सानीमा रहेको थियो ।
पूँजी संरचना
हाल कम्पनीको चुक्ता पूँजी ८७ करोड रुपैयाँ रहेको छ । स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको अधिकृत पूँजी एक अर्ब ९८ करोड रुपैयाँ र जारी पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ ।
आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापक ७९.४५ प्रतिशत र सर्वसाधारणको २०.५५ प्रतिशत कायम हुनेछ ।
सञ्चालक समिति
कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । संस्थापक शेयरधनीको तर्फबाट ४ जना, आयोजना प्रभावित क्षेत्रबाट निर्वाचित १ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र व्यवसायिक सञ्चालनक १ जना गरी ७ जना सञ्चालक समिति रहने व्यवस्था छ ।
हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तफएबाट ४ जना सञ्चालकहरु मात्रै रहेका छन् ।
सर्वसाधारणलाई आईपीओ निष्काशन पछि कम्पनीले सर्वसाधारणको प्रतिनिधित्व हुने गरी २ जना र थप एक जना विषेशज्ञ सञ्चालक चयन गर्नेछ । सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको हुनेछ ।
कम्पनी सञ्चालक समितिको अध्यक्ष खोम बहादुर के.सी रहेका छन् । यस्तै सञ्चालक समितिमा शिव कृष्ण श्रेष्ठ, मोनिका थापा र सुकान्त अधिकारी रहेका छन् ।
भावी योजना तथा रणनीति
कम्पनीले आफ्नो व्यवसाय वा सेवाको वृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने चरणवद्ध रणनीति बनाएको छ ।
कम्पनीले नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु उदेश्य लिएको छ । यस्तै नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रूपमा सम्भाब्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने, आफ्नो पूँजी तथा दायित्व समेतलाई बिचार गरी आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रुपमा सम्भाव्य देखिएका अन्य जलविद्युत आयोजना कम्पनीहरुमा लगानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।
यस कार्यका लागि सम्भाव्य आयोजनाहरुको पहिचान गर्ने, त्यस्ता आयोजना कम्पनीहरुको अध्ययन गर्ने र त्यसमा लगानी गर्न उपयुक्त भए नभएको निक्र्योल गर्ने र लगानी गर्न उपयुक्त लागेका आयोजनामा लगानी गर्ने रणनीति अख्तियार गरिने कम्पनीको तयारी छ ।
लगानी सम्बन्धी निर्णय गर्दा लगानीको समुचित प्रतिफल प्राप्त गर्ने तर्फ विशेष ध्यान दिने रणनीति अख्तियार गरिने कम्पनीले जनाएको छ ।