यातायात विभागको अग्रसरतामा एक बर्षको लागि सेवाग्राहीलाई उपलब्ध गराउने भनिएको परिक्षणकालीन लाइसेन्स अहिले बाग्मती प्रदेश भित्र हेटौंडा यातायात कार्यालयबाट मात्रै वितरण भइरहेको छ ।
खासगरी,हेटौंडा बाहेका बाग्मती प्रदेश भित्रका यातायात कार्यालयहरुले बजेटको अभाव भएको भन्दै परिक्षणकालीन लाइसेन्स प्रिन्ट र वितरण दुबैलाई स्थगित गरेका हुन् ।
यातायात विभागका उच्च अधिकारीले काठमाडौंका चार ओटा यातायात कार्यालयहरुले परिक्षणकालीन लाइसेन्स दिन रोकेको बताए । उनका अनुसार बाग्मती प्रदेश भित्रको हेटौंडा यातायात कार्यालयले मात्रै परिक्षणकालीन लाइसेन्स वितरण गरिरहेको छ ।
‘यातायात कार्यालय प्रमुखहरुलाई निवर्तमान यातायात मन्त्रीले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै वर्तमान यातायात मन्त्रीले कार्यान्वयन नगर्नु भनेर आदेश दिएका थिए’ ती अधिकारीले भने ‘अहिले बजेट नभएको भन्दै पन्छिरहेको अवस्था छ।’
परिक्षणकालीन लाइसेन्सको लागि एउटा यातायात कार्यालयलाई ५ लाख बजेट भए पुग्ने ती अधिकारीको दाबी छ । परिक्षणकालीन लाइसेन्स र कार्ड खरिदको लागि बजेट नभएको बाहानामा कार्ड वितरण प्रभावित बनेको छ ।
अन्य प्रदेशबाट परिक्षणकालीन लाइसेन्स वितरण भइरहेको बेला विभिन्न बाहाना बनाउँदै बाग्मती प्रदेश भित्रका यातायात कार्यालयहरुले भने सेवालाई अवरुद्ध बनाउदै आएका छन् ।
एकान्तकुनामा विभागले नै मेसिन र कार्ड किनेर हस्तान्तरण गरेको थियो । तर,विभागले किनिदिएको कार्डपछि एकान्तकुना यातायात कार्यालयहरुले पनि नयाँ परिक्षणकालीन लाइसेन्स वितरणमा रोक लगाएको छ ।
पछिल्लो समय विभागको अग्रसरतामा अघि बढेको परिक्षणकालीन लाइसेन्सको अवधारणा पनि यातायात कार्यालयहरुको लापरवाहीले असफल बन्ने अवस्थामा पुगेको छ । परिक्षणकालीन लाइसेन्सको विकल्पमा पहिलेकै रसिद दिएर पठाउने गरेका छन् ।
विभागका ती अधिकारीले भने ‘सवारीसाधन तथा अन्य यातायातका सेवामा रिफर्म गर्न अग्रसरता लिने बागमती प्रदेश हो ।’
‘डेटा,तथ्याङक लगायत सबै बाग्मती प्रदेश भित्र रहेको कारण पनि यो प्रदेशले नेतृत्व लिनुपर्ने हो । तर,अहिले बाग्मती प्रदेश यातायातका सेवाका हरेक रिफर्मको पछाडि परिरहेको छ’ ती अधिकारीले भने ।
यातायात विभागले गत बर्षको साउनदेखि काठमाडौं भित्रका यातायात कार्यालयहरुमा परिक्षणकालीन लाइसेन्स अनिवार्य गर्न निर्देशन दिएको थियो ।
एकान्तकुना र भक्तपुर यातायात कार्यालयले केहि समय वितरण गरेपनि बजेट,पूर्वाधार तथा जनशक्तिको अभाव भएको भन्दै अहिले पछि हटेका छन् ।
यतिमात्रै होइन,यातायात विभागले प्रिट गरेर यातायात कार्यालयहरुमा पठाएको स्मार्ट लाइसेन्स समेत दराजमा थनक्यायर राखेका छन ।
विभागले मार्ट कार्ड प्रिन्ट गरेर यातायात कार्यालयहरुलाई पठाउने गरेको छ । तर, कार्यालयहरूले सेवाग्राहीलाई वितरण गर्नुपर्ने स्मार्टकार्ड दराजमै थन्काएर राखेको छ ।
विभागका ती अधिकारीका अनुसार काठमाडौं उपत्यका भित्रका प्रत्येक यातायात कार्यालयहरुमा २० देखि ३० हजार स्मार्टलाइसेन्स वितरण गर्न बाँकी छ ।