बीमा समितिबाट बीमांकिय मूल्यांकन पारित भएपछि समितिले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् । हालसम्म ८ जीवन बीमा कम्पनीको प्रतिवेदन बीमा समितिबाट पारित भएपनि ३ कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका हुन् ।
समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ, मेट लाइफ, ज्योति लाइफ, एशियन लाइफ, आइएमई लाइफ, रिलायवल नेपाल लाइफ, नेपाल लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको मात्रै आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत भएका छन् ।
त्यस मध्ये नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले मात्रै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् ।
सूर्या लाइफ इन्स्योरेन्सले भने ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रकृया अघि बढेकोले वितरण योग्य मुनाफा भएपनि लाभांश प्रस्ताव नगरिएको जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगरी हाललाई जगेडा कोषमा राख्ने निर्णय भएको जनाएको छ ।
कुन कम्पनीको लाभांश कति?
तीन जीवन बीमा कम्पनी मध्ये नेपाल लाइफ र नेशनल लाइफले समान १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । तर नेशनल लाइफले १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत (कर प्रयोजनको लागि) नगद लाभांश प्रस्ताव गरेको छ ।
यता नेपाल लाइफले भने १५.७८९ प्रतिशत नै नगद लाभांश प्रस्ताव गरेको छ । नेपाल लाइफ र नेशनल लाइफले लाभांश प्रयोजनको लागि बुक क्लोज मिति भने तोकेको छैन् ।
एशिन लाइफ इन्स्योरेन्सले भने १४.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद गरी १५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । असोज १३ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको छ ।
कम्पनीले लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेको थियो । त्यस अनुसार असोज २ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।