पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौं

Nov 11, 2022 05:46 AM Merolagani

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज शुक्रबार (कार्तिक २५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ५८ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ३ प्रतिशत अर्थात १ लाख ६७ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३२० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने ५१ लाख ५७ हजार ८८० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

 

 

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गरेको शेयरमा छिटोमा कार्तिक २९ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे मंसिर ९ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

ओषत जोखिम रहेको जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले सयममा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औषत जोखिम रहेको जनाउँछ ।

उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्ष अर्थात २०२२ डिसेन्बर २५ सम्म कायम हुनेछ ।

कस्तो कम्पनी हो?

पिपुल्स हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६४ असोज २२ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७५ फागुन १५ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिकाको वडा नं. १०, बुद्धनगरमा रहेको छ भने सुपर दोर्दी जलविद्युत आयोजना 'ख' को स्थल, लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिका वडा. नम्बर ६ मा रहेको छ ।

कम्पनीले ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजना 'ख' निर्माण गरिरहेको छ । आयोजनाको कूल लागत १० अर्ब ३९ करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ भने प्रति मेगावाट औसत लागत १९ करोड २४ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

साथै साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि ९.८० वर्ष रहेको छ ।

आईपीओ जारी गर्नुको उदेश्य

आईपीओ निष्काशन गरेर संकलन भएको पूँजी कम्पनीले निर्माण गरिरेको आयोजना निर्माण कार्यमा खर्च हुने जनाएको छ । यस्तै कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्ने कम्पनीको याजना छ ।

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई आईपीओ निष्काशन गरेर लगानीको अवसर दिन तथा आयोजना निर्माणको लागि रकम संकलन गर्न जनाएको छ ।

आईपीओ निष्काशन गरेको संकलन भएको ८० करोड रुपैयाँ मध्ये सिभिल निर्माणमा ३४ करोड रुपैयाँ, हाइड्रोमेकानिक खरिद तथा जडानमा २० करोड रुपैयाँ, विद्युत प्रसारण लाइन निर्माणमा ८ करोड रुपैयाँ, प्रशासनिक तथा इन्जिनियरिङ्ग व्यवस्थापनमा १६ करोड रुपैयाँ र २ करोड रुपैयाँ अन्य क्षेत्रमा लगानी गर्ने जनाएको छ ।

तीन वर्ष पछि साढे ४५ करोड नाफा कमाउने

कम्पनीले आगामी तीन आर्थिक वर्षसम्ममा करिब साढे ४५ करोड रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनी ४५ करोड ४३ लाख २२ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको हो ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा पनि कम्पनी ११ करोड २७ लाख २३ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यस्तै आर्थिक वर्ष २०८१/८२ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २० पैसा र प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६३ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५२ पैसा र प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५२ पैसा रहेको छ ।

पूँजी संरचना

कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनी शेयर स्वामित्व संस्थापकको ७५ प्रतिशत र सर्वसाधारणको २५ प्रतिशत कायम हुनेछ ।

सञ्चालक समिति को को छन्?

कम्पनीको सञ्चालक समितिमा ९ जना रहने व्यवस्था रहेको छ । संस्थापक शेयरधनीको तर्फबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक २ जना गरी ९ जना सञ्चालक समिति रहने व्यवस्था छ ।

हाल कम्पनीमा संस्थापक समूहका शेयरधनीहरुबाट ७ जना र २ जना स्वतन्त्र गरी ९ जना संचालकहरु रहेका छन् । कम्पनीको सर्वसाधारण शेयरधनी समुहको शेयर निष्काशन तथा बाँडफाँड सम्पन्न भए पश्चात् २ संस्थापकको स्थानमा सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व रहने गरि संचालक समितिको गठन गरिने कम्पनीले जनाएको छ । सञ्चालकको कार्यकाल बढीमा ४ वर्षको हुनेछ ।

कम्पनी सञ्चालक समितिको अध्यक्ष उदय नेपाली श्रेष्ठ रहेका छन् । यस्तै सञ्चालक समितिमा केशब बहादुर रायमाझि, अर्जन प्रसाद गौतम, भीमलाल पौड्याल, धर्मराज पराजुली, गणेश कार्कि, इजन कुमार बराल, योगमाया द्धा र गोकुल श्रेष्ठ रहेका छन् । द्धा र श्रेष्ठ भने स्वतन्त्र सञ्चालक हुन् ।


भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय वा सेवाको वृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने चरणवद्ध रणनीति बनाएको छ ।

कम्पनीको उद्देश्य सुपर दोर्दी जलविद्युत आयोजना “ख” निर्माण गरी संचालन गर्ने रहेको र अन्य जलविद्युत आयोजनामा लगानी समेत गर्न सक्ने भएको हुँदा हाललाई कम्पनीको भावी योजना सुपर दोर्दी जलविद्युत आयोजना “ख” को निर्माण कार्य सम्पन्न गरेर यस आयोजनालाई सूचारु रुपमा संचालन गर्ने र आयोजना निर्माणको क्रममा लिएका ऋण सुविधाहरु भुक्तानी गर्ने रहेको छ ।

कम्पनीले आफ्नो पूँजी तथा दायित्व समेतलाई बिचार गरी आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रुपमा सम्भाव्य देखिएका अन्य जलविद्युत आयोजना कम्पनीहरुमा लगानी गर्न सकिने योजना बनाएको छ ।

त्यसका लागि सम्भाव्य आयोजनाहरुको पहिचान गर्ने, त्यस्ता आयोजना कम्पनीहरुको अध्ययन गर्ने, त्यसमा लगानी गर्न उपयुक्त भए नभएको निक्र्योल गर्ने र लगानी गर्न उपयुक्त लागेका आयोजनामा लगानी गर्ने रणनीति अख्तियार गरिने जनाएको छ ।

लगानी सम्बन्धी निर्णय गर्दा लगानीको समुचित प्रतिफल प्राप्त गर्नेतर्फ विशेष ध्यान दिने रणनीति अख्तियार गरिने, कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्बृद्ध बनाउन सहयोग गर्ने जनाएको छ ।

कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि ब्यवसायिक रुपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने रणनीति समेत बनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।