खुम्चिँदो अर्थतन्त्र र सेयर बजारको घट्दो अवस्थाले लगानीकर्ता निरुत्साहित हुन थालेका हुन्। शेयर बजार बढ्दा प्राथमिक शेयर निष्काशन (आइपीओ)मा पनि एकदमै आकर्षण देखिन्थ्याे भने शेयर बजार घट्दा आइपीओमा पनि विस्तारै लगानीकर्ताको आकर्षण कम हुँदै जान थालेको तथ्यांकले देखाएको छ । आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या नै आधा भन्दा धेरैले घटिसकेको छ।
नेप्से बढ्दो क्रममा हुँदा दैनिक कारोबार २१ अर्बसम्म पुगेकोमा अहिले घट्दो क्रममा रहँदा नेप्सेमा दैनिक कारोबारले १ अर्बको हाराहारीमा मात्रै कारोबार हुन थालेको छ । आम चुनावको वर्ष भएकाले तरलता सहज हुने आशा एवम् मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्याज दर केही घट्ने नीति आउने लगानीकर्ताको अपेक्षा थियो । चुनावपछि पनि बजारमा खासै तरलता बढ्न सकेको छैन भने मौद्रिक नीतिमार्फत आएको स्प्रेड दर घटाउने निर्देशनले पनि बजारमा व्याज दर तत्काल नघट्ने भएपछि पछिल्ला दिनमा बजारका लगानीकर्तामा निराशा छाएको हाे ।
सेकेन्डरी मार्केटमा मात्र होइन, प्राथमिक शेयर निष्काशनमा पनि लगानीकर्तामा आकर्षण कम देखिन थालेको छ । कुनै बेला एउटै आइपीओमा झन्डै २७ लाख आवेदनकर्ताले आवेदन दिने गरेकाेमा अहिले आधा भन्दा बढीले घटेको तथ्यांक सीडीएससीले दिएको छ । गत आवमा शेयर निष्काशन गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे ४ लाख ८७ हजार ९ सय कित्ता शेयर निष्काशनको लागि शेयर निष्काशन गर्दा २६ लाख ६७ हजार ७ सय ४१ जना लगानीकर्ताले आवेदन दिएका थिए । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्याको आवेदन हो । धितोपत्र बोर्डको बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ता दिने नीति अनुसार उक्त आइपीओमा ४८ हजार ७ सय ९० जना आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाए भने बाँकी २६ लाख १८ हजार ९ सय ५१ जना आवेदकको हात खाली नै रह्यो । जाल्पा पछि २६ लाखकै हाराहारीमा आवेदन पर्ने कम्पनीहरुमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेस्डो समृवद्धि लघुवित्त वित्तीय संस्था रहे ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी, साहस ऊर्जा, उपकार लघुवित्त, इमर्जिङ नेपाल, मानुषी लघुवित्त वित्तीय संस्थामा भने २४ लाखभन्दा बढी आवेदकले आवेदन गरेका थिए ।
तेर्हथुम पावर कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स, न्यादी हाइड्रोपावर, सीवाइसी नेपाल लघुवित्तलगायतमा २३ लाख आवेदक थिए भने सामलिङ पावर, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, बुद्धभुमी नेपाल हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी, अभियान लघुवित्त वित्तीय संस्थामा २० लाख भन्दा बढीले आवेदन दिएका छन् ।
एकातर्फ शेयर बजार घट्दै जानु अर्कोतर्फ जतिसुकै आइपीओमा शेयर आवेदन दिए पनि शेयर नपरे पछि आजित भएर विस्तारै आइपीओमा आवेदन दिन समेत लगानीकर्ताहरुले कम गर्दै लगेको देखिन्छ । धवलागिरी लघुवित्त, सिर्जनशिल लघुवित्त, खप्तड लघुवित्त, रिभर फल्स पावर, विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि, आदर्श लघुवित्त, हिमालयन हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, पिपल्स पावर, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडलगायतका कम्पनीहरुमा १६ देखि २० लाख आवेदकनकर्ताले मात्रै आवेदन गरेका छन् ।
पछिल्लो समय निष्काशन भएका आइपीओहरुमा आवेदकको संख्या झन झन कम हुँदै गएको सीडीएससीको तथ्यांकले देखाउँछ । दोर्दीखोला जलविद्युत, अप्पर हेवाखोला हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, सयपत्री हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीमा १५ लाख भन्दा बढीले आवेदन गरेकोमा पछिल्लोपटक आइपीओ खुलेको इष्टर्न हाइड्रोपावरमा १३ लाख ९६ हजार जनाले आवेदन दिएका थिए भने पिपल्स हाइड्रपावरमा अहिलेसम्मकै सबैभन्दा कम १२ लाख ६८ हजार जनाले मात्रै आवेदन दिएका थिए ।
जाल्पा सामुदायिकले आइपीओ निष्कासन गरेको १४ महिना नपुग्दै आवेदन दिनेहरुको संख्या १३ लाख भन्दा पनि मुनि पुगेको छ । बारम्बार आइपीओ नपर्दा आस्वा शुल्क मात्र काटिने गरेकाले लगानीकर्ताले दिक्क भएर आइपीओमा आवेदन भर्न बन्द गरेको बताउने गरेका छन् । पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुको मात्रै आइपीओ धेरै निष्काशन हुने गरेको छ । लघुवित्तको आइपीओ निष्काशन हुँदा एकदमै थाेरै कित्ताकाे मात्रै निस्कने तर प्रति शेयर आम्दानी र नेटवर्थ बढी हुने हुँदा तुलनात्मक रुपमा यस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । जाल्पा लघुवित्त, नेस्डो समृद्धि लघुवित्तलगायतका आइपीओ निष्काशन हुँदा नेटवर्थ एकदमै आकर्षक भए पनि पछिल्ला समय निष्काशन भएका हाइड्रोपावर कम्पनीले बिजुली उत्पादन नहुँदै शेयर निष्काशन गर्ने हुँदा प्रकाशित वित्तीय अवस्था त्यति राम्रो हुँदैन । नकारात्मक नेटवर्थ भएका कम्पनीहरुको आइपीओ खुल्नु, सानो रकमको मात्रै आइपीओ खुल्ने हुँदा माग बमोजिम शेयर नपर्नु, आस्वा शुल्क मात्रै तिरिरहनुपर्ने एवम् शेयर परिहाले पनि बजारमा पहिले जस्तो आकर्षक मूल्यमा शेयर नबिक्नु जस्ता कारणले लगानीकर्ता आइपीओमा शेयर भर्न पनि अनिच्छुक देखिएका हुन् ।
शेयर बजार ‘बुल’ मा चलिरहेको समयमा डिम्याट खाता खोल्नेको संख्या उल्लेख्य मात्रामा बढ्यो । धितोपत्र बोर्डको हरेकलाई १० कित्ता शेयर बाँडफाँड गर्नुपर्ने नीतिले यसलाई मलजल गर्यो । बुलको समय जारी भएका चन्द्रागिरी हिल्स, निफ्रा, जीवन विकास लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्स, अपर तामाकोशीलगायतका आइपीओ बिक्री गर्नका लागि ब्रोकर कार्यालय पुगेका साना लगानीकर्ताको भीड पनि उत्तिकै थियो। त्यसबेला सामान्य लगानीबाट ६ देखि ५० गुणासम्म नाफा बुक गर्दा प्राइमरी मार्केटमा लगानीकर्ताको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
अहिले भने हाइड्रोपावरको शेयर मात्रै निष्काशन हुनु, शेयर पार्दा पनि २ देखि ३ गुणासम्म प्रोफिट बुक गर्न पनि धौधौ हुने स्थिति देखिएको छ । ३ सय १९ मा शेयर कारोबार खुलेको राप्ती हाइड्रो एन्ड जनरेल कन्स्ट्रक्सन लिमिटेडको शेयर बढेर ३ सय ५० रुपैयाँसम्म पुग्यो । पहिलो दिन नै झन्डै १ लाख कित्ता शेयर कारोबार भएको उक्त कम्पनीले त्यो विन्दु अहिलेसम्म भेट्टाउन सकेको छैन । पछिल्लो समय यो कम्पनीको शेयर २१० को हाराहारी मात्रै कारोबार भइरहेको छ ।
पिपल्स पावर लिमिटेडको शेयर पहिलो दिन २८४ मा खुलेको थियो । पहिलो दिन बढेर ३ सय ५ सम्म पुग्दा २३ हजार कित्ता शेयर कारोबार भयो । दोस्रो दिन ७ हजार र तेस्रो दिन ४६ हजार कित्ता कारोबार भएको उक्त कम्पनीको शेयर लगातार ३ दिन घटेर तेस्रो दिनसम्म पुग्दा २१५ रुपैयाँमा कारोबार भयो । अहिले पनि यो कम्पनी २ सय रुपैयाँ भन्दा माथि नै कारोबार भइरहेको छ । आइपीओ पर्ने लगानीकर्ताले नै यो आइपीओबाट छोटो समयमा दोब्बर मात्रै फाइदा गरेका छन् । आइपीओको शेयर पार्न सफल आवेदनकर्ताले १० मात्रै पर्ने र दोब्बर प्रोफिट बुक गर्दा पनि १ हजार रुपैयाँ मात्रै नाफा हुने अवस्था देखिएकाले पनि साधारण लगानीकर्ताहरु पछिल्लो समय आइपीओमा आकर्षित नभएको एक लगानीकर्ताले बताए ।