“हामीले के कति कारणले त्यस्तो हुन गएको हो भनेर स्पष्टीकरण सोधेका थियौ। तर कम्पनीले चित्त बुझ्दो जवाफ दिएको छैन। उसले जुन जवाफ दिएको छ। त्यसलाई प्रमाणित गर्ने आधार देखिएन। त्यसले गर्दा कारोबार रोकिएको हो। कम्पनीले प्रमाणित हुने आधार पुर्याए उसको कारोबार तुरुन्तै खोलिने छ। कम्पनीले प्रमाण पुर्याउन नसके थप कारबाहीका लागि धितोपत्र पठाउँछौ” नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए।
समयमा सूचना नदिएको भन्दै नेप्सेले गत मंसिर ७ गते बुधवारदेखि कम्पनीको शेयर कारोबार रोकेको छ। कम्पनीले मंसिर ६ गते बिहान ११ बजे सञ्चालक समिति बैठक गरी आर्थिक वर्ष २०७८/७९ को लागि ४० प्रतिशत बोनस र उक्त बोनसको कर प्रयोजनार्थ २.१० प्रतिशत नगद दिने निर्णय गरेको थियो। कम्पनीले उक्त निर्णय भने नेप्सेलाई दिउसो ३ बजेर ५५ मिनेटमा गराएको थियो। कारोबार समयमा बैठक बसी दोस्रो बजारको कारोबार मूल्यमा प्रभाव पार्ने कार्य गरेको भन्दै नेप्सेले मंसिर ७ गते स्पष्टीकरण सोध्दै कम्पनीको कारोबार रोकेको थियो।
नेप्सेले सोधेको स्पष्टीकरणको जबाफ दिँदै कम्पनीले ६ गते ३ बजे पछि नै बैठक बसी निर्णय गरेको तर सूचना दिने कागजमा भने भूलबस ११ बजे लेखिएको भनेको थियो। तर उक्त जबाफमा चित्त नबुझाएको नेप्सेले थप अनुसन्धान गर्नु पर्ने भन्दै सूचीकरण विभाग प्रमुख भेषराज खनालको संयोजकत्वमा ३ सदस्य छानबिन समिति गठन गर्यो। गठित समितिले अध्ययन प्रतिवेदन बुझाइ सकेको छ। “हामीले प्रतिवेदन बुझाइ सक्यौ। के कस्तो निर्णय गर्ने भन्ने जिम्मेवारी माथिल्लो निकायको हुन्छ। के कस्तो निर्णय हुन्छ त्यही अनुसार कारोबार खुल्ने/नखुल्ने भन्न सकिन्छ” अध्ययन समिति संयोजक खनालले मेरो लगानीसँग भने।
कार्कीका अनुसार समितिले बुझाएको प्रतिवेदनमा उसले प्रमाण पुर्याउन नसकेको उल्लेख छ। कम्पनीले ३ बजे बैठक बसेको दलिल पेस गरेको भए पनि उक्त समयमा नै बसेको भन्ने प्रमाणित गर्ने कुनै प्रमाण दिन नसकेको प्रतिवेदनमा भनिएको छ। त्यही कारण तुरुन्तै कारोबार खोल्न नसकिएको हो। “साथीहरूले गर्नु भएको छानबिनमा कम्पनीले ३ बजे बैठक बसेको भन्ने विषय प्रमाणित गर्ने आधार/प्रमाण दिन नसकेको उल्लेख गर्नु भएको छ। अब कम्पनीले त्यो पुष्टि गर्न सक्ने प्रमाण दिनु पर्ने हुन्छ। बैठक बसेको समयको सिसिटिभी फुटेज वा अन्य कुनै ठोस प्रमाण आए कारोबार खोल्न समस्या छैन” कार्कीले भने। तर कम्पनीले प्रमाण पेस गर्न नसके थप कारबाही प्रक्रिया अघि बढाउने कार्कीको जिकिर छ।
यस अघि पनि त्यस्ता किसिमका गल्तीहरू कम्पनीले बारम्बार दोहोर्याउदै आएका थिए। तर नेप्सेले स्पष्टीकरण सोध्ने काम मात्रै गर्दै आएको थियो। कम्पनीले स्पष्टीकरण दिए लगत्तै कारोबार खोल्दै आएको नेप्सेले यस पटक भने सो विषयलाई तन्काउँदै लगेको अवस्थालाई भने गम्भीरतापूर्वक हेर्न थालिएको छ।
यस अघि कम्पनीलाई स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जबाफ नआए पनि थप कारबाही गर्ने गतिलो कानुनी आधार नभएको कारणले कारोबार खोलिँदै आएकोले गर्दा यस पटक भने उक्त विषयलाई निकास नै दिन खोजिएको कार्कीको भनाई छ। “हामीलाई नियम कानुनले दिएसम्मको परिधिभित्र रहेर छानबिन र कारबाही अघि बढाउँछौ। कम्पनीले प्रमाण पुर्याउन नसकेको खण्डमा थप के कसरी अघि बढाउने भनेर हामी धितोपत्र बोर्डको जिम्मा लगाइदिन्छौ” कार्कीले भने।
कम्पनीका सञ्चालकले गरेको गल्ती र नेप्सेले बढाएको छानबिनका कारण कम्पनीको शेयर कारोबार गएको ९ दिनदेखि बन्द छ। अनाहकमा साधारण शेयरधनी भने ९ दिनदेखि कारोबार गर्नबाट वञ्चित हुँदै आएका छन्। यस विषयलाई लम्ब्याएर लैजानु भन्दा छिटो छिटो छानबिन सकेर कारोबार खोल्ने तर्फ नेप्सेले अघि बढ्नु पर्ने साधारण शेयरधनीको भनाइ छ।