पूँजी बजारको सुधारका लागि पनि व्यवसायिक घरानाका कम्पनी सुचीकृत हुनुपर्छ

Dec 02, 2022 05:49 AM MeroLagani

डा.मनोज शाही

अन्तर्राष्ट्रिय पूँजी बजारको तुलनामा नेपालको सेयर बजारमा धेरै उतारचढाव आउने गरेको देखिन्छ। त्यसको मुख्य कारण भनेको धितोपत्र बजारमा लगानी गर्दा अर्थतन्त्र, कम्पनीको वित्तीय अवस्था तथा बजारको अवस्थालाई विश्लेषण गरेर भन्दा पनि हल्लाका आधारमा लगानी गर्ने प्रवृत्ति हावी भएर पनि हो । 

त्यसका साथै पूँजी बजारमा सुचिकृत कम्पनीको विविधता नभएकाले पनि धितोपत्र बजारमा कारोबारी हावी हुँदा धेरै उतारचढाव आउने गर्छ । 

नेपालको अर्थतन्त्र हेर्दा सिमित व्यक्ति वा समुहको नियन्त्रणमा रहेको छ । ती व्यवसायिक घरहरुको व्यापार व्यवसायले अर्थतन्त्रलाई गति दिंदै आएको छ । अर्थतन्त्रलाई नै नियन्त्रणमा राख्ने व्यवसायिक समुहका कम्पनीहरुलाई धितोपत्र बजारमा ल्याउन आवश्यक देखिन्छ । यस विषयमा सरकारले पनि गम्भिर रुपमा सोच्नुपर्ने समय भएको छ । सिमित व्यक्तिको नियन्त्रणमा रहेका कम्पनीहरु पुँजी बजारमा आएको खण्डमा सर्वसाधारण सहभागिताले अर्थतन्त्रलाई नै गति दिने निश्चित छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पनि सिमित समुहको नियन्त्रणबाट अर्थतन्त्र बाहिर ल्याउने बलियो माध्यम भनेकै पुँजी बजार हो । पछिल्लो उदाहरण हेर्दा पनि भारतमा सिमित व्यक्ति वा समुहको नियन्त्रणमा रहेकाे धेरै कम्पनी पुँजी बजारमा आएका छन् । त्यसले त्यहाँको पुँजी बजार मात्र नभै अर्थतन्त्रलाई नै गति प्रदान गरेको देख्न सकिन्छ । त्यतिमात्र नभै अन्तर्राष्ट्रिय पुँजी बजारसँग समेत जोडिन मद्दत गरेको छ । विश्व सेयर बजारमा आएको उतारचढावले भारतीय पुँजी बजार पनि प्रभावित हुने गर्छ । तर, नेपालको पुँजी बजारको सन्दर्भमा त्यस्तो हुन सकेको छैन ।

नेपालको पुँजीबजार अन्तर्राष्ट्रिय बजारसँग नजोडिनुको धेरै कारण मध्ये ठुला व्यवसायिक घरानाका कम्पनीहरु नआउनुलाई पनि लिन सकिन्छ । धितोपत्र बजारमा सहभागी कम्पनीहरुको विविधताका लागि पनि सरकारले त्यस्ता समुदायका कम्पनीलाई बजारमा ल्याउनु पर्छ ।

पछिल्लो समयमा नेपाली पुँजी बजारमा देखिएको उतारचढाव भने अन्तर्राष्ट्रिय बजारहरुसँग मेल खान जान्छ । त्यसको मुख्य कारण भनेको विश्व अर्थतन्त्रमा देखिएका एकपछि अर्को समस्याहरु छन्। कोरोना महामारीका कारण विश्व अर्थतन्त्रको माग आपुर्ति संरचना नै खलबलिन पुग्यो । त्यसको लगत्तै रुस र युक्रेन युद्ध पनि एक कारणको रुपमा देखा परेको छ । त्यसका साथै पछिल्लो समयमा चीनको जिरो कोभिड नीतिले विश्वको आपुर्ति श्रृ‌खलामा थप असर पुगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि आगामी वर्ष समेत विश्व अर्थतन्त्र खुम्चिने प्रक्षेपण गरेको छ । तर, नेपालको सन्दर्भमा भने सुधार हुने अनुमान कोषको रहेको छ ।

नेपाली अर्थतन्त्र विश्व अर्थतन्त्रसँग पुर्ण रुपमा जोडिन सकेका छैन । व्यापारिक दृष्टिकोबाट केही हदसम्म जोडिएको भएपनि आयातका लागि मात्र भन्दा पनि फरक पर्दैन । काेरोना माहामारी सहज हुनै लाग्दा रुस र युक्रेनको युद्ध सुरु भयो । त्यसले खाद्यान्न तथा पेट्रोलियम वस्तुहरुको आपुर्तिमा गडबड भएपनि त्यसको असरले नेपाली भान्सासम्म पुगेको छ । आयातित मुद्रास्फीतिले समग्र अर्थतन्त्रलाई नै असर गरीरहेको छ । आयातबाहेक हामी विश्व अर्थतन्त्रसँग जोडिएका छैनौं । अर्थतन्त्र जटिलतातर्फ उन्मुख भएपछि अमेरिकी डलरतर्फ लगानीकर्ताको आकर्षण बढ्छ । त्यसको प्रभावस्वरुप हाल डलर ऐतिहासिक बलियो अवस्थामा पुगेको छ ।

नेपाली अर्थतन्त्र मात्र नभै पुँजी बजारकै कुरा गर्दा पनि आवद्धता छैन । नेपाली सेयर बजार र छिमेकी मुलुक भारतको कै पुँजीबजारको कोरिलेसन हेर्दा पनि ५० प्रतिशत जति मात्र देखिन्छ । कुनै समय यस्तो सम्बन्ध नकारात्मक पनि थियो । यसले पनि देखाउँछ की पुँजी बजारको सन्दर्भमा हामी विश्व बजारसँग जोडिएका छैनौ ।

अन्तर्राष्ट्रिय बजारसँग सम्बन्ध नहुँदा अवसर र चुनौती दुबै हुन्छ । बाह्य बजारसँग सम्बन्ध नभएपछि आन्तरिक रुपमा मात्र पुँजी बजारलाइ अघि लौजान सक्छौ कि सक्दैनौ भन्ने प्रश्न आउछ । आन्तरिक उत्पादन गर्न सकेको खण्डमा आयातलाई पतिस्थापन मा भर पर्नु पर्ने अवस्थामा सुधारगर्नं सकिन्छ । आन्तरिक उत्पादन बढाउने ठुला कम्पनी तथा पुर्वाधारको विकार गर्न सकेको खण्डमा पुँजी बजारको पनि विकास सम्भव छ । तर, देश भित्र औद्योगिक क्रान्ती नै हुन सकेन । हामी कृषि, औद्योगिक र सेवा हुनु पर्ने हो । त्यो नभइ कृषि पछि सिधै सेवामा गएका छौ ।

सामान्यत अर्थतन्त्र अनुसार नै पुँजी बजारमा उतारचढाव आउनु पर्ने हो । कोरोना महामारीको अवधिमा सबै मानिस घरमा भित्र थुनिय सरह भयो । त्यो समयमा के गर्ने भन्ने अन्योलतामा सेयर बजारको लगानी बिकल्प बन्यो । बजार बढीरहको अवस्था छ केही हुन्छ की भनेर लगानी गर्नेको संख्या बढदै गएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) सुचकले नयाँ उचाइ बनाउदै गयो । तर, त्यो वृद्धि अर्थतन्त्र तथा सुचिकृत कम्पनीको कार्याम्पदनमा सुधार अएका कारणले नभइ विचार गर्नका लागि गरिएको लगानीको कारणले हो । आधारभूत विश्लेषण नगरी पुँजी बजारमा लगानी बढाएको हो भन्ने पुष्टि पछिल्ला दिनहरुमा आएको गिरावटले स्पष्ट हुन्छ । नेपाली पुँजी बजारमा मात्र नभै विश्वका अधिकासं सेयर बजार सूचक अहिले घट्दो गतिमा देखिएका छन । यसको मूख्य कारण भनेको हेरौ न भनेर गरिएको लगानीका नतिजा हो । नेप्से सुचक ३२ सय सम्म पुगेर १८ समयसम्म झरेको अवस्था छ । बजार घट्ने बढ्ने त हुन्छ नै । पुँजी बजारको मूख्य आधार भनेको अर्थतन्त्र नै हो । अर्थतन्त्र अनुसार नै पुँजी बजार चल्ने हो । सो अनुसार बजार चलेको छैन भने त्यहा विकृती हावी छन भन्ने बुझ्नुपर्छ ।

पुँजी बजारले देशको अर्थतन्त्रका अवस्था पनि झल्काउँछ । अर्थतन्त्र नै अन्योलमा हुँदा समेत पसँजी बजारले नयाँ उचाइ बनाउनु भनेको विकृति हो । धितोपत्र बजारमा दिर्घकालीन सोचेर लगानी गर्ने व्यक्तिले अर्थतन्त्र, बजारको अवस्था तथा आफुले किन्न सेयर किन्न लागेको कम्पनीको आधारभूत पक्षहरुको विश्लेषण गर्छ । अल्पकालीन लगानी गर्नेले कारोबार गर्ने हो । पुँजी बजार भनेको सुचनाको पनि खल हो । बजारमा आएका हल्लालाइ आधार मानेर सेयर खरिद बिक्रीको निर्णय गर्दा कमाउन पनि सकिन्छ गुमाउन पनि सकिन्छ ।

अहिले पुँजी बजारमा स्पेकुलेटिभ बबल विस्तारै घट्दै गएको छ । सेयर बजारमा लगानी गर्दा मूख्यत अहिलेको र भोलिको मूल्यलाई हेर्ने गरिन्छ । कुनै पनि स्टकको खरिद बिक्रीको निर्णय आजको र भाविष्यको भ्यालुलाई आधार बनाएर गरिन्छ । भविष्यमा दिने भ्यालुलाई प्राथमिकतामा राखेर लगानी गर्दै जाँदा मूल्य बढ्दै जान्छ । तर, भविष्यको भ्यालु अनुमान गरिए अनुसार नहुँदा स्टक मूल्य घट्न जान्छ । धितोपत्र बजारमा बढ्ने वा घट्ने भनेको आवश्यकता भन्दा धेरै महत्व दिने भएकाले हो । आवश्यकता भन्दा धेरै महत्व दिएपनि बजार सुचकमा पिक्स एण्ड बबलहरु सृजना हुन्छ । यसमा लगानीकर्ताले कस्तो ब्यबहार गरको छ भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ । सबै लगानीकर्ताले आधारभुत विश्लेण गरेर लगानी नगर्ने भएकाले पनि यस्तो अवस्था आउने गर्छ । पुँजी बजारमा विश्लेषण गरेर भन्दा पनि हल्लाका भरमा लगानी गर्ने लगानीकर्ताको संख्या धेरै हुने गरेको पाइन्छ । धितोपत्र बजारमा कारोबारीले तत्काल नाफा लिन खोज्छ । त्यसकारण पनि बजार अस्वभाविक उतारचढाव देखिन्छ । सेयर बजारमा दिर्घकालीन रुपमा लगानी गर्नेले गुमाउन भने पर्दैन । यसका लागि लगानीकर्ताले बजारको मुभलाइ भने हेर्नु पर्छ । बजार पिकमा पुगेको समयमा लगानी गर्दा लगानीकर्ता गुमाउनु पर्ने हुन सक्छ । त्यसैले लगानीकर्ताको व्यबाहारले पनि बजारको अवस्थालाई निर्देशित गर्छ । सेयरमा लगानी गर्दा बुझेर मात्र निर्णय लिनु नै उयुक्त हुन्छ ।

नेपाली सेयर बजार अन्तर्राष्ट्रिय बजारबाट बाहिर रहेको हुनाल पनि हाम्रै लगानीकर्ता द्धरा निर्देशित हुन्छ । तर, हाम्रोे बजारमा अन्य देशहरुको जस्तो तरलता भने छैन । त्यसको कारणको रुपमा बजारलाई फण्डामेन्टलले गाइड गरेको छैन भन्ने बुझिन्छ । यस्तो बजारमा अर्थतन्त्र, ब्याजदर लगायतका विषयहरुले कम प्रभाव पार्ने र स्प्याकुलेसन नै हावी हुने गर्छ ।

नेप्सेमा रहेको जलविद्युत समुहलाई उदाहरणको रुपमा लिएर लगानीकर्ता किनबेच गर्ने वयबाहारलाइ हेर्न सकिन्छ । जलविद्युत भनेको फिक्स इनकम जस्तै हो । एउटा आयोजनाको अवधि ३५ वर्ष हुन्छ । ५ वर्ष निर्माणमा जान्छ । बाँकी रहेको ३० वर्ष भ्यालु खाने हो । यसको उत्पादन क्षमता र आम्दानी भनेको फिक्स छ । तर, पुँजी बजारमा जलविद्युत कम्पनीको सेयर कारोबर भएको मूल्यले त्यो विषलाई संकेत नै गर्दैन । निर्माण नै नभएका जलविद्युत कम्पनीहरु समेत नेप्सेमा सुचिकृत छन । यसले नेपाली धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ता सुरक्षित छैनन भन्ने बुझिन्छ । सरकारले यसमा विषेश ध्यान दिनु पर्छ । योजना सञ्चालन भएको करिब ५ देखि १० वर्षसम्म स्थापक बाहिरीन नपाउने वयवस्था हुनु पर्ने हो । ३ वर्षको अवधि दिएको छ । योजना निर्माण पुरा नँहुदै बजारको अवस्था अनुसार मार्केट मार्जिन गेन गरेर संस्थापक बाहिरीने अवस्था छ। यो आधारभुत पक्षहरुबाट निर्देशित नभएपछि देखिएको विकृती हो ।

धितोपत्र बजारका लागि अनिवार्य मानिएको स्पेकुलेसन भनेको लगानीकर्ताले निर्धारण गर्ने हो । बजार किन्ने र बिक्री गर्ने पक्ष हुन्छ । कुनै पनि सेयर मूल्य कति पुग्दा बिक्री गर्ने र किन्ने भन्ने निर्धारण लगानीकर्ताले गर्ने हो । कसैले बिक्री गर्न उयुक्त देखेको सेयर अर्को व्यक्ति किन्न उयुक्त देखेको हुन सक्छ । लगानीकर्ता बजारको तथा आफुले किन्न लागेको सेयरलाइ नबुझि आवश्यकता भन्दा धेरै तिर्न तयार हुन्छ भने कसैले पनि केही भन्ने अवस्था हुँदैन । यसमा लगानीकर्ता शिक्षा, निष्पक्ष विश्लेषण जस्ता कुराहरु जोडिन आउछ । नेपालमा स्वतन्त्र विश्लेषण गर्ने र लगानीकर्तालाइ जानकारी दिने अवस्था छैन । लगानीकर्ता शिक्षा बढाउने र स्वतन्त्र विश्लेषकहरुलाई काम गर्न दिने हो भने अनावश्यक स्पेकुलेसनमा नियन्त्रण हुन्छ । त्यतिमात्र नभै बजार पनि अर्थतन्त्र अनुसार चल्छ।

धितोपत्र बाजारमा इक्वीटीको मात्र कारोबार हुने गरेको छ । सरकारको नेतृत्व गर्ने व्यक्तिहरुको कमजोरीका कारण धितोपत्र बजारमा विविधता आउन नसकेको हो । सरकारले शिक्षा, स्वस्थ्या र पुर्वाधारमा लगानी गर्नु पर्ने हो । नेतृत्वमा दुरगामी भिजन नहुदाँ असर पुँजी बजारमा समेत देखिएको छ । शिक्ष र स्वास्थ्यले क्षमतावान जनशक्ती दिन्छ । पुर्वाधारले औद्योगिक बातावरणको विकास हुन्छ । त्यसले धितोपत्र बजारमा पनि विविधिकरण्ुा ल्याउने तथा डेब्ट मार्केटकको समेत विकास गर्न सकिन्छ । त्यसका साथै नेतृत्व समय अनुसार चल्ने हो भनेपनि धेरै समस्या समाधान भएर जान्छ । पछिल्लो समयमा प्रविधिमा लगानी बढाएर आइटी कम्पनीहरुलाई पोत्साहन गर्नु पर्छ । त्यस्ता कम्पनी धितोपत्र बजारमा आएको खण्डमा अन्तर्राष्ट्रिय बजारहरुसँग समेत सम्बन्ध स्थापित हुने अवस्था सृजना हुन्छ । अहिले नेप्सेमा आइटी क्षेत्रको कुनै पनि सुचिकृत छैनन । नेपालको पुँजी बजारमा, फुडमाण्डु इसेवा जस्ता कम्पनीहरु सुचिकृत गराउने विषयमा सरकारले ध्यान दिनु पर्छ ।
नेपालको समग्र अर्थतन्त्र नै थोरै व्यवसायिक समहुले नियन्त्रणमा छ । यस्तो नियन्त्रणलाई सरकारले पुँजी बजारको प्रयोग गरेर बाहिर ल्याउनु पर्छ । सरकारले त्यसो नगरेको खण्डमा नयाँ उद्योगहरुले मर्ने तथा इनोभेसन नै समस्यामा पर्न सक्छ । सरकारले एक अर्ब चुक्ता पुँजी भएको वा वर्षमा ५० करोड देखि एक अर्बको कारोबार गर्ने कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्नु पर्ने व्यवस्था बजेट मार्फत गरियो । तर, त्यसको कार्यान्वयन हुन सकेन । नीति राम्रा भएपनि कार्यान्वयन हुन नसक्दा पनि नेपाली पुँजी बजार पछि परेको छ ।

धितोपत्र बजारमा दुइ प्रकारका लगानीकर्ता हुन्छन । एक भनेको स्पेकुलेटर र अर्को भनेको इन्भेष्टर्स हुन्छन । अहिले स्पेकुलेटरको संख्या धेरै छ । यसलाइ नियन्त्रण गर्नु आवश्यक छ । इनसाइडर कारोबार भयो भनिन्छ तर इनसाइडर कारोबार गरेका लगानीकर्ता वा कारोबारीलाई कारबाही नै हुन सकेको छैन । नीति नियम भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । बजार तलमाथी हुन्छ । तर, अनावश्यक गतिविधिलाई नियामकले सुक्षम अध्ययन गरेर उयुक्त कदम चालेको देखिदन । त्यसै गरी बजार सँग सम्बन्धित सुचनाको पहुच सबैलाई छैन । सिमित व्याक्तिलाइ मात्र सुचना दिने अभ्यसालाई अन्ते गरेर सबैलाइ सुचना उपलब्ध गराउने काम गर्नु पर्छ । बजारको पारदर्शिता बढाउने वित्तीकै सुचनाको पहँुच बढ्न जान्छ । त्यसले सेयरको उपयुक्त मूल्य निर्धारणमा मद्दत हुन्छ ।
धितोपत्रको दोस्रो बजारमो कम्पनीको फ्युचर भ्यालुबाट कति लिने भन्ने लेखाजोखा भैरहेको हुन्छ । सबै भ्यालु क्याप्चर गरिसकेको अवस्थामा उक्त सेयरको मूल्य घट्ने भन्दा अर्को उपय नै हुदैन । त्यसैले सरकारले सरकारले समय अवधि तोकेर विभिन्न औजारहरु जारी गर्नु पर्छ । त्यसले एउटा बेञ्चमार्क इल्ड कर्भ सृजना होस । त्यो बेञ्चमार्कबाट अन्य प्रडक्टहरुको प्राइसीङ होस । बैंकको कर्जा लिदा बेस रेट भनिन्छ । त्यो पनि बैंक अनुसारको फकर छ । बैंकहरुको कर्जाको आधार दरको पनि औसत निकालेर इण्डेक्स बनाउन सकिन्छ । त्यसकै आधारमा कर्जा दिने हो भने बैकहरुलाई लोन ट्रेडिङका लागि सहज हुन्छ । बजारमा तरलता हुनुपर्छ । सरकारी ऋणपत्र भएकाले प्राइस एउटै हुनु पर्ने हो । तर, त्यसमा लगानीकर्तालाई दिने भनिएको रेट फरक छ । त्यो इन्सेन्टिभ दिइएका होला । तर, कारोबार गर्न नपाइने भएपनि त्यो इन्सिेटिभ रिफ्याक्ट भएन नी । त्यसलाई बिक्री गर्ने संयन्त्र विकास गरेको खण्डमा खरिद बिक्रीको बातावरण हुन्छ । यसमा सरकारी निकायले सहजीकरण गर्नु पर्ने हुन्छ ।

नियमकले लाइसन्स दिने मात्र नभै नियमन तथा सुपरिवेक्षण पनि प्रभावकारी गर्नु पर्छ । नियमन नगर्ने तर नियमन गर्ने संस्थाको संख्या वृद्धि मात्र गर्नु पनि भएन । नियम पालना भए नभउको विषयमा नियामक चनाखो हुने वित्तीयक बजारमा स्वसथ्या अभ्यासको सुरुवात हुन्छ । नेपालको सन्दर्भमा बजार घटवड हुने भनेको स्पेकुलेसनले नै हो । कर्जा सहज हुने र ब्याजदर घट्ने हो भने स्प्याकुलेसन बढ्न मद्दत पुग्छ । तर, दीर्घकालीन रुपमा अर्थतन्त्रको आधारभूत अवस्था अनुसार नै बाजार चल्ने हो । बजारको भविष्य अर्थन्त्रले न तय गर्छ । इनोभेसनलाई अघि बढाउन व्यवसायिक समुहलाई नियन्त्रण गरेर सरकारले शिक्षा स्वस्थ्य र पुर्वाधारमा ध्यान केन्द्रीत गर्नु पर्छ । त्यसका साथै प्रविधि क्षेत्रका कम्पनी स्थापना तथा बजार प्रवेश गराएको खण्डमा आजको परिपक्क पुँजी बजार देख्न लामो समय पर्खनु पर्दैन । (शाही एसोसिएसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल्स इन नेपालका अध्यक्ष हुन)

(सेजन स्मारिका २०७९बाट)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।