सरप्राइज व्यवसाय जसले निरजलाई पुर्यायो एशियाका ३० वर्ष मुनिका उत्कृष्ठ ३० सफल व्यवसायीभित्र, पुगे फोर्ब्ससम्म

Dec 01, 2022 06:15 PM Merolagani

ज्याेति शाह 

नेपालीहरुलाई सरप्राइज दिएर नै निरज काफ्ले २०२२ को "फोर्ब्स ३० अण्डर ३०" एशियालीको सूचीमा पर्न सफल भएका छन् । खुशी बाँडेर नै फोर्ब्ससम्मको यात्रा तय गरेका निरज अफरिङ ह्याप्पीनेसका सह संस्थापक हुन् ।

फोर्ब्सले सार्वजनिक गरेको एशियाका ३० वर्ष मुनिका उत्कृष्ठ ३० सफल व्यवसायीभित्र अफरिङ ह्याप्पीनेसका सह संस्थापक निरज काफ्ले र सन्ताेष पाण्डे दुबै जना परेका हुन् ।

२०१७ मा स्थापना भएको नेपालकै पहिलो सरप्राइजको योजना र खुशी वितरक कम्पनी अफरिङ ह्याप्पीनेसले हालसम्म लाखौं नेपालीलाई खुशी दिएको छ । विदेशमा रहेका नेपालीले नेपालमा बसेका आफन्तलाई कुनै उत्सवमा दिने सरप्राइजको व्यवस्थापन, योजना तथा कार्यान्वयन यस कम्पनीले गर्दछ ।

देश होस् वा विदेशबाट नेपालमा बस्ने आफ्नालाई सरप्राइज दिन सहयोग गर्ने कम्पनीबाट विश्वमा नै आफ्नो नाम बनाउन सफल यी मध्येका एक निरजको यात्रा आजको मेरोलगानी स्टार्टअप स्टोरीमा ः

 

खुशी बाँडेर खुशी पाउँदा

सामाजिक संजालमा एक भिडियो भाइरल भयो । सो भिडियोमा एक अधबैंसे महिला पसलमा बसिरहेकी हुन्छिन् । अचानक एक पुरुष आउँछन् र फुलको गुच्छा हातमा थमाइदिन्छन् र भन्छन्, "स्पेशल मेसेज छ तपाईंको लागि," ती महिला अचम्मित हुन्छिन् । ट्याब खुल्छ र उताबाट आवाज आउँछ, "ह्याप्पी मदर्स डे ममी," महिला अवाक् हन्छिन्, आँखा रसाउँछ । मन भरिएर जवाफ दिन सक्दिनन्, "ओ!", मात्र निस्कन्छ । फेरि छोराले भन्छन्,"यो पहिलो वर्ष हो ममी हामीसँगै मदर्स डे मनाउन नपाएको," बिस्तारै आमाले बल गरेर सुस्काउँछिन्, "थ्यांक्यु यू बाबु भावविह्वल ती आमाको आँखाबाट आँसु झर्न थाल्छन् । भन्छिन्, "म त केहि बोल्न नसकिराको ।"

पुनः अर्को आवाज आउँछ, "ह्याप्पी मदर्स डे," आमाले जवाफ दिइन्, "थ्यांक्यु बाबु ।" "मैले तपाईँलाई दुःख दिन्थे, बच्चामा साग पकाउँदा आलु चाहियो । आलु पकाउँदा साग चाहियो तर अब अहिले ठुलो भएर रियालाइज गर्दा, ममी मलाई सबै चाहियो । थ्यांक यू ममी । धन्यवाद भनेर पुग्दैन, ममी !", ती युवा भावुक हुन्छन् । आमा आँसु पुछिरहन्छिन् । सोहि भिडियोमा अर्का एक युवा देखिन्छन् र भन्छन्," ममी, १३ वर्ष भइसक्यो तपाईँलाई नदेखेको, त्यहिँ भएर ह्यापपी मदर्स डे, आमाको मुख हेर्ने दिनको धेरै शुभकामना ।"

यस्तै अफरिङ ह्यापपीनेसको एक टिकटकमा स्वेच्छा नाम गरेकी एक युवती आफ्नी मिल्ने साथी एकताको ब्राइडल सावरमा सरप्राइज दिन ८००० माइल्स पारी अमेरिकाबाट नेपाल आएको भिडियो पनि चर्चित भएको थियो । फुल लिएर साथीको अगाडि स्वेच्छा एक्कासी आउँदा एकता डाँको छोडेर रुन्छिन् । पृष्ठभूमीमा गीत बजिरहेको हुन्छ, "ये दोष्ती हम नहिँ तोडेंगे, तोडेंगे दम मगर..."

यस्ता कैयन् खुशी अफरिङ ह्याप्पीनेसले कसैका आमा, बुवा, दाजुभाई, दिदीबहिनी, साथी, प्रेमीप्रेमिका र श्रीमान वा श्रीमतीलाई दिएको छ । भौगोलिक दुरीले मेटाउन नसकेको माया र भावना दर्शाउने भूमिका यस कम्पनीले निभाएको छ । कुनै व्यक्तिको मनोभावना बुझेर उस्तैगरी अर्को व्यक्तिसम्म पुर्याउने सहज काम होइन । यो काम मात्र नभएर निरजकालागि सेवा पनि हो । आफ्नै परिवारका सदस्य ठानेर मायाको कोसेली र शब्दलाई मनमा डेलिभर गर्छन् निरज र उनका टिम ।

यसैगरी, रोमान्टिक डेट र मोटर सरप्राइजकालागि पनि योजना बनाउने र पुरै तयारी कम्पनीले गर्ने गरेको छ । यसकासाथै सो समयको फोटो र भिडियो पनि कैद गरिन्छ । भारतका चर्चित कलाकारहरुमार्फत पनि केहि खासलाई विशेष सन्देश पठाउन सकिन्छ । यसैगरी, फिल्म हलमा वा अन्य स्थानमा पनि शुभकामना सन्देश दिने पनि व्यवस्था मिलाउने गरेको छ । नेपाली कलाकार स्वेता खड्काले ब्राइडल सावर मनाउन पनि यहिँ कम्पनीलाई रोजेकी थिइन् । पूर्व मिस नेपाल अर्थ् प्रिया सिग्देलको जन्मदिनमा सरप्राइजको योजना पनि निरज र सन्तोषले नै बनाएका थिए ।

"पहिलो पटक कसैले खुशी बनाउन कोशिस गरेकाले हामीले राम्रो पहिचान पायौंं, खुशी दिन गार्हाे हुन्छ । सबैलाई चाहिने खुशी हो, त्यहिँ पक्षलाई व्यवसायमा पहिलो पटक समेट्दा निकै राम्रो प्रतिक्रिया पाइयो । खुशी दिँदा खुशी मिलेको छ," निरज बताउँछन् ।

३० वर्ष उमेर मुनिका एशियाका ३० व्यवसायीभित्र पर्दा निरज र सन्तोष गौरवान्वित भएको महसुस गर्छन् । "विश्वमा नै नेपाललाई प्रतिनिधि गर्दै फोर्ब्स फिचर हुन पाउँदा अत्यन्त खुशी भएँ । पहिचान पाएका छौं," निरज सुनाउँछन् ।

२०१६को त्यो उपहार जसले जन्मायो व्यवसायको अवधारणा

सुनसरीमा जन्मेका निरज २०६१ मा काठमाडौं शिक्षाकालागि आए । काठमाडौंमा नै कक्षा १२ को अध्ययन पछि उनले विदेश अध्ययनकालागि अष्ट्रेलिया कोशिस पनि गरे तर सफल भएनन् । त्यसपछि स्नातक पढ्दै गर्दा अमेरिकन दुतावाससँग समाजसेवाका क्रममा पनि उनले काम गरे । आर्थिक सुदृढिकरणकालागि आफै केहि गर्ने चाहना निरजमा थियो ।

२०१६ तिर निरजले एक विशेष उपहार पाएका थिए । जुन उपहारले निरजमा अफरिङ ह्याप्पीनेसको अवधारणाको विकास गरिदियो ।

"त्यो उपहार देखेपछि म खुशी भएँ र सोंचे मानिसलाई पर्सनल टच दिँदा खुशी लाग्दो रहेछ ।" अनि आफ्ना नेशनल कलेजका सात साथीहरुसँग मिलेर योजना बनाउन लागे । "सोहि क्रममा उपहार मात्र नभएर अनुभवको बजार ठुलो भएको महसुस गर्दै काम गर्न थाल्यौं," उनी थप्छन् ।

सुरुवातमा नयाँ व्यवसाय भएकाले सर्वसाधारणले २४ वर्षिय निरज र उनका साथीहरुलाई झ्याप्प विश्वास गरेनन् । कस्टमाइज उपहार बिक्री गर्ने सोंचे पनि २० दिनमा मात्र पहिलो अर्डर आएको निरज सम्झिन्छन् । तर व्यापारिक पृष्ठभूमि नभएका निरज र उनका साथीलाई कुनै व्यवसायिक ज्ञान नहुँदा सामान्य अप्ठ्यारा झेल्नुपर्यो । डिनर डेट, बञ्जि जम्प, स्पालगायतका प्याकेज उपहार दिन पनि सेवा सुरु गरियो । बिस्तारै ६ महिनापछि डिनर डेटको सेवा व्यापक बनेपछि अफरिङ ह्याप्पीनेसले आफ्नो लय समात्यो ।

७० हजार रुपैयाँको लगानीबाट करोडौंको आम्दानी

सर्वप्रथम नेशनल कलेजका चार विद्यार्थीले प्रतिव्यक्ति ७० हजार रुपैयाँ अफरिङ ह्याप्पीनेसमा लगानी गरेका थिए । ७० हजार पनि एकैपटक नभएर चरणबद्ध रुपमा लगानी गरिएको थियो । सोहि रकममै लगानीकर्ताहरुले थप्दै र घुमाउँदै कम्पनी चलिरह्यो । अहिले भने विशेष गरी, निरज र सन्तोषले नै कम्पनी चलाउने गर्छन् ।

२० जना कर्मचारी सहित संचालन भएको अफरिङ ह्याप्पीनेसले निकै राम्रो आम्दानी गर्ने गरेको थियो । सो कम्पनीले सिजनको समय अर्थात् भ्यालेन्टाइन्स डे, मदर्स डे, फादर्स डेलगायतका दिनमा दैनिक १५ लाखसम्मको कमाई पनि गरेको थियो । कोरोनाको समयअघि वार्षिक एक करोड रुपैयाँ भन्दा माथि आम्दानी हुने गरेको निरजले बताए ।

अफरिङ ह्याप्पीनेसमा उपहार र सेवाहरु २०० रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका पाउन सकिन्छ । ग्राहकको रोजाई र क्षमता अनुसारका उपहार र सेवाहरु कम्पनीले पुर्याउने गरेको छ ।

कम्पनीको फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप र वेबसाइटमार्फत पनि उपहारको अर्डर तथा सेवाहरु लिन सकिन्छ । काठमाडौं उपत्यका भित्र मात्र डेलिभरी हुने खुशीहरु बिस्तारै देशव्यापी बनाउने योजना भने निरजको छ ।

पुनःव्युतिँदै अफरिङ ह्याप्पीनेस

कोभिडको समयमा सबै व्यवसायमा असर पर्दा अफरिङ ह्याप्पीनेस पनि अछुतो रहेन । प्रत्यक्ष रुपमा मानिससँग जोडिन पर्ने भएकाले पनि कोरोनाको धक्का निरज, सन्तोषलगायतका समुहले महसुस गर्नुपर्यो । तर पनि कम्पनीले कर्पोरेट सेवा भने दिइ नै रह्यो । कोरोना महामारीको अन्त्यपछि भने अब कम्पनी नयाँ ढंगबाट संचालन हुँदैछ ।

अफरिङ ह्याप्पीनेस पुनःव्युतिने क्रममा छ । सहसंस्थापकद्धय निरज र सन्तोष पाण्डे नयाँ रुपमा कम्पनीलाई ल्याउनकालागि तयार रहेका छन् । निरज भन्छन्, "अबको डेढ महिनामा हामी नयाँ अफरिङ ह्याप्पीनेस लिएर आउँछौ ।"

निरज र उनका साथीकालागि कम्पनीलाई यो स्थानसम्म पुर्याउने यात्रा सामान्य थिएन । उनी समझिन्छन्, "नेपालमा स्टार्टअप बिजनेस म्याचुयर्ड भएको छैन । नेपालमा लगानी गरेर विभिन्न समस्याका बाबजुद कम्पनी चलाउन अलि कठिन छ । अहिलेसम्मको यात्रा रोलर कोष्टर जस्तै थियो । हामीले हरेक समय देखेका छौं । राम्रो आम्दानी गरेर ठुलो अफिसमा सर्नेदेखि फेरि साथीको सानो अफिसमा सर्ने पनि देखेका छौं । यात्रा फरक छ तर पनि रमाइलो लाग्छ सम्झिदा ।"

यसैगरी, पुनःआगमन गर्नु चुनौतीपुर्ण रहेको निरज मान्छन् तर ग्राहकहरुको पुर्ण साथ पाइसकेकाले निरज आशावादी भने छन् ।

पाँच वर्षअघि अफरिङ ह्याप्पीनेसले मात्र दिने गरेका सेवा र कस्टमाइज उपहारको व्यवसाय अहिले फस्टाएको छ । निरज भने यसलाई सकरात्मक रुपमा लिन्छन् । उनी भन्छन्, "यो त्रास भन्दा पनि अवसर हो । पहिलो डिनर डेट भन्दा लजाउने समय थियो, अहिले त्यो ट्रेण्ड भइसक्यो । सो बजार जति विस्तार भयो त्यति हाम्रोलागि राम्रो हो ।"

निरज र सन्तोष अहिले अन्य व्यवसायमा पनि संलग्न छन् । उनीहरुको ओहो केक पनि नेपालीमाझ चर्चित रहेको छ । अफरिङ ह्याप्पीनेस बाहेक निरज अन्य व्यवसाय पनि बढाउन चाहन्छन् ।

उपहारको भ्याकेन्ट बजारलाई केन्द्र बनाएर धेरै काम गर्ने योजना उनको छ । अफरिङ ह्याप्पीनेसको बजारलाई विस्तार गर्ने निरजको लक्ष्य छ ।

अफरिङ ह्याप्पीनेसका सहसंस्थापक निरज काफ्ले र सन्तोष पाण्डेले हालसम्म "ग्लोबल स्टुडेन्ट इन्टरप्रिनियर अर्वाड्स २०१८", "सिडस्टार्स काठमाडौं २०१९" मा "बेस्ट स्टार्टअप" जित्दै "सिडस्टार ग्लोबल समिट २०२०" मा पनि छानिएका थिए । अफरिङ ह्याप्पीनेस सन् २०२१ म नेशनल जोग्राफिक डकुमेन्ट्री "ओन द रुम" मा पनि फिचर गरिएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।