बीमा कम्पनीहरुको सिईओहरुमाथि थप कडाई, उमेर हद पनि ५ वर्ष कटौती

Apr 30, 2024 06:12 PM Merolagani

नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासनको लागि भन्दै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)हरु माथि थप कडाई गरेको छ ।

त्यसक्रममा प्राधिकरणले नेपाल राष्ट्र बै‌ंकको सिको गर्दै बीमा कम्पनीका उमेर हद ५ वर्ष कटौती गरेको छ भने कम्पनीका गतिविधिहरुको मुख्य जिम्मेवारी संचालक समितिको साटो सिईओलाई नै बनाएको छ ।

नेपाल राष्ट्र वैंकले २०७६ साउनदेखि बैंक तथा वित्तीय संस्थाहरुको सिईओहरुको उमेर हद ७० बाट घटाएर ६५ वर्ष कायम गरेको थियो । त्यसको झण्डै ५ वर्षपछि बीमा प्राधिकरणले आफू मातहतका बीमा कम्पनीहरुमा त्यस्तै व्यवस्था गरेको हो ।

प्राधिकरणले हालै बीमा कम्पनीहरुलाई ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८०’ जारी गर्दै यसअघिको सिईओ नियुक्ति प्रकृयालाई थप कडाई गरेको छ ।

अहिलेसम्म बीमा कम्पनीका संचालक समितिले सिईओ नियुक्ति गरेर प्राधिकरणलाई जानकारी मात्रै दिए हुने व्यवस्था थियो । तलब हिसाब, कागजात परीक्षण इत्यादिको कामहरु कम्पनीको संचालक समितिले नै गर्दथे । तर, अब सिईओ नियुक्तिका हरेक प्रकृयाको बारेमा प्राधिकरणलाई अग्रिम जानकारी गराउनु पर्नेछ, सिईओको सेवा सुविधा निर्धारणमा पनि प्राधिकरणको सहमती लिनु पर्नेछ ।

उक्त निर्देशिकामा पहिलो पटक बीमा कम्पनीमा डेपुटी सिईओ सम्बन्धी व्यवस्थालाई कडाईपूर्वक लागू गरिएको छ । जसमा तीन महिनाभन्दा बढि डेपुटी सिईओ रिक्त राख्न नपाइने व्यवस्था गरिएको छ ।

नयाँ निर्देशन अनुसार अबदेखि अभिकर्ताले आफ्नो घर परिवारका सदस्यको बीमा आफ्नै कम्पनीमा गर्न पाउने छैनन् । साथै बीमा कम्पनीहरुले मुनाफाको कम्तिमा १ प्रतिशत सामाजिक उत्तरदायित्व (सीएसआर)मा खर्च गर्नु पर्ने र २ प्रतिशत कर्मचारीहरुको क्षमता विकासमा खर्च गर्नै पर्ने व्यवस्था गरिएको छ । 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।