समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन

Apr 30, 2024 05:24 PM MeroLagani

सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिएको छ ।

मंगलवार संसदीय समितिका सभापतिहरु र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरुलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिएकाे हो । उनले समितिमा छलफलको क्रममा रहेका विधेयकहरुलाई संसदको आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै बैठक बसि टुंग्याउन निर्देशन दिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरुको अवस्थाको बारेमा जानकारी लिएको बताए । उनले आगामी अधिवेशनमा संसदमा आउने अवस्थामा के कति विधेयकहरु छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउनेगरी तयारीस्वरुप बैठक राखिएको बताए । सभामुख घिमिरेले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रुपमा अगाडी बढाउनका लागि राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गर्ने बताए ।

उनले भने – ‘यो बैठकले समितिमा गएका विधेयकहरु छलफल कसरी भइरहेको छ ? समितिका बैठकहरु कसरी चलिरहेका छन् ? र समितिबाट विधेयक पारित भएर प्रतिवेदनको रुपबाट आउने तयारी कहाँ पुगेको छ ? ताकि अब आउने अधिवेशनमा हाम्रो विधेयकहरु पेश हुनसक्ने कुराको स्थिति कहाँ पुग्यो भन्ने कुराको जानकारी राख्ने, त्यसमा केही समस्याहरु छन्, समस्याको निराकरण खोज्ने, समस्या छैनन् तिनलाई बुझ्ने र आउँदो अधिवेशनको तयारी गर्ने सन्दर्भमा आयोजित बैठक थियो । स्थितिको जानकारी प्राप्त भयो । विधेयकहरु अझै पनि कतिपय छलफल भएर टुंगिएका छैनन् । तिनीहरुलाई अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै छिटो समितिका बैठकहरु बस्ने । बनेका उपसमितिका बैठकहरुले पनि समितिलाई प्रतिवेदनहरु दिने र यसलाई छिटो टुंग्याउने काममा गति दिने कुरामा छलफल र एउटा भावनात्मक वा निर्णय, निष्कर्षमा पुगेर बैठक सकिएको छ । आजपनि मैले के आव्हान गरेको छु भने हाम्रो तयारी गरौँ । अधिवेशनमा आउने अप्ठ्याराहरुलाई हल गर्नका लागि सबैले भुमिका निर्वाह गरौँ । ताकि तयारीका साथ अगाडी जान सकोस् भन्ने कुरा हो । यो पनि एउटा पहल हो । आवश्यक परेमा शिर्ष तहमा छलफल संयुक्त, अलग–अलग रुपमा गर्छु ।’

बैठकपछि अर्थ समितिका सभापति सन्तोष चालिसेले सभामुखले समितिमा रहेका विधेयकलाई चाँडोभन्दा चाँडो पारित गरेर ल्याउन निर्देशन दिनुभएको बताए । उनले समितिको बैठक बस्दा गणपूरक संख्या नपुग्ने समस्या रहेको भन्दै समितिलाई परेका अप्ठ्याराहरुको बारेमा पनि समिति सभापतिहरुले सभामुख समक्ष राखेकाे जानकारी दिए । उनले आगामी बजेटमा संसदीय समितिहरुलाई पनि पर्याप्त बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको पनि बताए । उनले समिति बैठकमा सांसदहरुको अनिवार्य उपस्थितिका लागि दलका सचेतकहरुलाई पनि आग्रह गरे ।

उनले भने – ‘संसदीय समितिको भुमिका कमजोर भयो । भएका विधेयकहरु आएनन् । समितिमा अड्किइरह्यो । त्यसलाई चाँडोभन्दा चाँडो समितिले छलफल गराएर निष्कर्षसहित पास गरेर ल्याउनुपर्यो भन्ने कुरा उहाँको निर्देशन भयो । हामीले के राख्यौँ भने समितिका सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा पनि जानु जरुरी छ । त्यहाँ जाँदा र संसद बैठकमा जाँदै गर्दा समितिमा आउनलाई समय नसकेको अवस्था छ । समिति बैठकमा कोरम नपुगेर छोड्नुपरेको अवस्था । यसलाई कसरी समाधान गर्ने ? सबै साथीहरुलाई कसरी लिएर आउने वातावरण हुन्छ त ? यसले गर्दा आज सचेतकहरुलाई पनि बोलाएर सबै पार्टीले यसमा भुमिका खेल्नुपर्यो भनेर कुरा राखेका छौँ । आगामी बजेटमा संसदीय समितिलाई पर्याप्त बजेट भएन भने धेरै कुरामा हामी अड्किएका छौँ । आगामी दिनमा यो नहोस् भनेर राखेका छौँ ।’

उनले समिति सभापतिहरुसँग सभामुखले महिनाको एकपटक बैठक बस्ने निर्णय गरिएको पनि जानकारी दिए । 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।