उत्पादनमूलक कम्पनीहरूको चार्म घट्दै, फाइनान्स र विकास बैंक चम्किँदै, खराब वित्तीय विवरणका बाबजुद आकर्षण किन ?

May 02, 2024 05:57 AM merolagani

सुवास निरौला

मंगलबार दोस्रो बजारमा २४५ कम्पनीका शेयर कारोबारमा आए। जसमा २१५ कम्पनीको शेयर मूल्य बढ्यो भने २६ कम्पनीको शेयर मूल्य घट्यो। चार कम्पनीको शेयरमा कुनै परिवर्तन भएन।

मंगलबार एक करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर चार अर्ब ८० करोड ४४ हजार ६०१.६६ रुपैयाँमा किनबेच भए। जसमा सबैभन्दा धेरै शेयर साइन विकास बैंकको भयो। उसको १८ करोड २४ लाख २८ हजार २९२.३० रुपैयाँको शेयर किनबेच भएको हो। सबैभन्दा धेरै शेयर किनबेच हुने १० कम्पनीको सूचीमा फाइनान्स र विकास बैंक मात्रै छन्। १० कम्पनीको सूचिका सात फाइनान्स र तीन विकास बैंकले आफ्नो स्थान सुरक्षित गरे। सबैभन्दा धेरै कारोबार गर्ने २० कम्पनीमा पनि फाइनान्स र विकास बैंककै वर्चस्व छ। २० कम्पनीको सूचिमा एक जलविद्युत जुन १४ स्थानमा छ भने अर्को इन्स्योरेन्स २० औ स्थानमा छ।

अघिल्ला महिनाहरूमा भने उत्पादन र बिमा कम्पनीको शेयरक उच्च कारोबार हुने गरेको थियो। जलविद्युत कम्पनीमा पनि उत्तिकै आकर्षण रहने गरेको थियो। तर अहिले उच्च कारोबार गर्ने कम्पनीहरूको सूचिमा फाइनान्स र विकास बैंकले स्थान पाउन थालेका छन्।

बिस्तारै लगानीकर्ता जलविद्युत, उत्पादनमूलक र बिमा कम्पनीका शेयरलाई छाडेर फाइनान्स र विकास बैंकको शेयरमा डाइभर्ट हुँदै गएका छन्। जसले गर्दा चैत लागे यता दोस्रो बजारमा फाइनान्स र विकास बैंकको शेयरमा हरियाली छाउँदै आएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को चैत महिनाको मासिक विवरण अनुसार चैतमा सबै क्षेत्रका कम्पनीको कारोबार घट्दै गर्दा फाइनान्स र विकास बैंकको शेयर कारोबार भने बढेको छ। विवरण अनुसार चैतमा कुल कारोबार नै ७.२३ प्रतिशतले घटेको छ। फागुनको तुलनामा उक्त प्रतिशतले घटेको हो। जसमा फाइनान्स कम्पनीको भने ६८.२७ प्रतिशतले कारोबार बढेको छ। उता विकास बैंकको २७.२७ प्रतिशतले बढेको छ।

छोटो समयमा नै राम्रो नाफा आउन थालेका कारण लगानीकर्ता फाइनान्स र विकास बैंकको शेयरमा झुम्मिन थालेका हुन्। तर जसरी शेयर मूल्य बढिरहेको छ, त्यसरी बढ्नुपर्ने कुनै गतिलो आधार भने छैन। बढ्ने आधार त छैन नै, त्यसका अतिरिक्त तेस्रो त्रैमासमा फाइनान्स कम्पनी र विकास बैंकले आफ्नो वित्तीय विवरण समेत खराब प्रकाशित गरेका छन् जसका कारण लगानीकर्ता आफैं ती कम्पनीको शेयरमा कन्फिडेन्स देखिएका छैनन् त्यसैले गर्दा सूचकमा तीव्र उतारचढाव देखिन थालेको छ।

शेयर बजारमा कम्पनीको शेयर मूल्य कति हुनु पर्ने हो भनेर कसैले भन्न सक्दैन। शेयरको मूल्य कति हुनुपर्ने हो त्यो शेयर बजार आफैले तय गर्छ। सोही कारण खराब वित्तीय विवरण आउँदा समेत शेयर मूल्य बढिरहेको छ। तर शेयर बजारले नै मूल्य तय गरिरहेको हो वा मूल्य तय गराइएको हो भन्ने विषयले निक्कै ठुलो महत्त्व राख्छ। माग र आपूर्तिको प्राकृतिक सिद्धान्त अनुरूप शेयर बजारले मूल्य बढाएको भए त्यसले दीर्घकालमा धोका दिने सम्भावना निक्कै न्यून हुन्छ। तर बढाइएको हो भने त्यो पानीको फोका जस्तै हुन्छ। केही बेर निक्कै ठुलो भएर फुल्छ र निश्चित अवधिपछि फुट्छ। जुन लगानीकर्ताको लागि जोखिमपूर्ण हुन्छ।

शेयर बजारका जानकारहरूका अनुसार अहिले दोस्रो बजारमा दीर्घकालीन लगानीकर्ता भन्दा पनि धेरै अल्पकालीन लगानीकर्ताहरू हाबी हुन थालेका छन्। उनीहरू कुनै पनि कम्पनीमा धैर्यताका साथ लगानी गर्दैनन्। उनीहरूको लगानी आफैंमा अल्पकालीन हुन्छ। उनीहरूको मुख्य उद्देश्य भनेकै क्यापिटल गेन गर्नु हो। जुन बेला जस्तो जस्तो लहर जुन क्षेत्रमा आउँछ, त्यतै तिर दौडिने उनीहरूको बानी हुन्छ। केही समय अघिसम्म जलविद्युत क्षेत्रका कम्पनीमा रमाउँदै आएका अल्पकालीन लगानीकर्ता अहिले फाइनान्स र विकास बैंकमा रमाउन थालेकाले मात्रै अहिले फाइनान्स र विकास बैंकको शेयर मूल्य बढेको हो। त्यस बाहेक अरू कुनै कारण छैन। 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।