२२ सयमा २२ महिना रुमल्लिएको शेयरबजार

Apr 23, 2024 02:32 PM Merolagani

देब गुरागाँई

वि.स.२०७८ भाद्र २ गते शेयरबजारको ईतिहासमै नेप्से परिसूचक सबैभन्दा उच्च विन्दु ३२ सय पुगेको दिन थियो। करिब १४ महिनाको अवधिमै नेप्से परिसूचक ११ सयकाे हाराहारीबाट त्यो उच्च विन्दु चुम्न सफल भएको थियो।

त्यसपछि करिब १० महिनाको ओरालो यात्रा तय गर्दै २०७९ असारमा नेप्से परिसूचक झरेर १८०० को विन्दुमा आइपुगेको थियो। आज यो आलेख तयार गर्दै गर्दा नेप्से परिसूचक १९०० विन्दुमा घुमिरहेको छ। शेयर बजारको बियरिश यात्रालाई हेर्दा २२ महिनामा २२ सय र १८ सय कै वीच बजार रुमल्लिएको पाईन्छ। यसरी हेर्दा २२ महिनामा शेयर बजार ४०० अंककै वरिपरि मात्र घुमिरहनुको प्रमुख कारण के हो? आजको यस आलेखमा विश्लेषण गरिएको छ।

 

सर्वप्रथम त विगत २२ महिनामा शेयर बजार कसरी ४ सयकाे अंक वरिपरि रुमल्लिरहेको छ जुन देहायको तथ्याङ्कमा हेरौं।

सि.नं. वि.सं. परिसूचक
२०७९ असार ९ १८४८.२८
२०७९ साउन १६ २१९६.२५
२०७९ असाेज ७ १९२१.९९
२०७९ पुस २५ २२११.७६
२०७९ चैत २६ १८३८.४५
२०८० साउन ७ २२२७
२०८० कात्तिक १९ १८२६
२०८० माङ २ २१७५
२०८१ बैशाख ९ १९८४.४३

पछिल्लो करिब २ वर्षको अवधिमा शेयरबजार करिव करिव उस्तै रेखा (साईडवेज ट्रेण्ड) मा रहेको बजारको चार्टले देखाएको छ। यसको मतलब के शेयरबजार नियन्त्रित भई सन्तुलित भएको हो त? सन्तुलित हुनुको अर्थ बजारको ट्रेण्ड लाइन सिधा रेखामा हुनुलाई प्रगतिशील बजार (प्रोगेसिभ मार्केट) मान्न सकिदैन। यस्तो अवस्थामा लगानीकर्ताले बजारबाट अपेक्षित लाभ लिन पाउँदैनन्। यो २२ महिनाको अवधिमा शेयर बजारको यो अवस्था हुनुको पछाडि के कस्ता कारणहरु रहेका छन् जुन देहायका बुँदाहरुमा उल्लेख गरिएको छः

१. कोभिड १९ को भुत प्रभावी असर (पोष्ट ईफेक्ट) का खातिर आर्थिक गतिविधि/अर्थतन्त्रमा देखिएको शिथिलताले शेयरबजार समेत प्रभावित हुन पुग्यो। यसलाई यसरी बुझौं यदि कुनै नदीको मुहान नजिक ठूलो पहिरो गएर नदी थुनियो र नदीको बहाव ठप्प भयो। नदी थुनिएको ठाँउमा ठूलो ताल बन्यो,केही समय पछि पानीको दबावले ताल यसरी फुट्यो कि पानीको बेगले मुल समेत खिचेर (सोसेर) लग्यो र पछि मुल सुकेर पानीको बहाव कम हुन पुग्यो। हालको अर्थतन्त्रको अवस्था यसरी नै हुन पुगेको जस्तो देखिन्छ।

२. राजनितिक खिचातानी र सरकार परिवर्तनको असरले लगानीकर्ता जहिले पनि नीतिगत जोखिमको सिकार हुन पुग्दछन् जुन पछिल्लो समय नेपालमा भएको अप्रत्यासित राजनितिक गतिविधि र सरकार परिवर्तनको असर शेयर बजारमा देखिएको हो।

३. जग्गाको वर्गीकरण र कित्ताकाट सम्बन्धी लिईएको असफल नीतिको कारण ठूलो धनराशी रियल स्टेटमा गएर अड्किएको छ जसले गर्दा देशै भर आर्थिक गतिविधि चलायमान हुन सकेको छैन। यसको परोक्ष असर बजारमा देखिएको हो।

४. केन्द्रिय बैंकको मौद्रिक नीतिको नकारात्मक प्रभाव मुताविक हाल तरलताको स्थिति सहज हुँदा पनि कर्जाको माग नहुनु र बैंक, बित्तीय संस्थाले कर्जा प्रवाह गर्न समस्या हुनु हो।

५. युवा पुस्ता विदेशिने दर अत्याधिक बढेर जाँदा नयाँ लगानीकर्ताको प्रवेश भन्दा भइरहेकै लगानीकर्ता टिकाउन नसक्नु तथा पुरानै लगानीकर्ताको समेत वर्हिगमन भइरहेको छ। जसको प्रभाव कारोबारमा देखिएको छ।

६. अढाई वर्ष पहिले बुलिश ट्रयापमा परेका नयाँ लगानीकर्ताहरुले बियरिश बजारमा आफ्नो सम्पत्ति गुमाउँदाको असरले हालको शेयर बजारको अवस्था सिथिल बन्न पुग्नुलाई एक प्रमुख कारणको रुपमा लिन सकिन्छ।

७. ठूला–ठूला भष्ट्राचारका केस तथा विभिन्न घोटाला र अनियमितताका काण्डहरु सतहमा आइरहेका छन् जसले देशको छवि धुमलिएको छ। फलस्वरुप लगानीकर्ता लगानी गर्न उत्साही हुन सकेका छैनन्।

८. डलरको भाउ र पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण कच्चा पदार्थ आयत महंगो पर्न गइ उद्योग धन्दा फष्टाउन सकेका छैनन्। उपभोक्ताको क्रय शक्तिमा कमी हुँदै जाँदा उत्पादित वस्तु तथा सेवाको खपत कम हुदै गएको छ। जसको असर सूचीकृत कम्पनीको वित्तीय विवरणमा झल्किने गरेको पाईन्छ।

९. पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुुक्तिमा चलखेल देखिएको आशंका,शेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को विषयमा प्रहरीले अनुसन्धान गर्ने विषय,बैंक तथा वित्तीय संस्था सम्वन्धी प्रस्तावित ऐनमा १ प्रतिशत भन्दा बढी शेयर हुने व्यक्ति मात्र सञ्चालकमा चुनिने र बैंकर/व्यवसायी छुट्याउने जस्ता विषयको चर्चाले शेयरबजार प्रभावित भईरहेको पाईन्छ।

१०. आश्चर्यको कुरा त के छ भने सरकारले भूत प्रभावी कर उठाउन थालेको छ। नविनतम् क्षेत्रका उद्योग व्यवसाय जुन वामे सर्न खोज्दैछन् त्यसमा करछलीको आरोप लगाएर चिचिला निमोठ्ने कार्यमा सरकारी निकाय उद्धत रहेको देखिन्छ। यस्ता कार्यले सुचना प्रविधि जस्तो नविनतम् उद्योग व्यवसाय जुनपछि शेयरबजारमा आउन सक्छन्, तिनलाई तर्साउने कार्य भईरहेको छ,जसको असर समग्र लगानीको क्षेत्रमा परेको छ। शेयरबजार अनुत्पादक क्षेत्र,जुवाधर, हावा बजार हो जस्ता शब्द/वाक्य प्रयोग गरी बजारलाई खसालेर अभिव्यक्ति दिनु भनेको वास्तवमा शेयर बजारको महत्वलाई नबुझ्नु हो,लगानीको संवेदनशीलतालाई नबुझ्नु हो।

अन्त्यमा, शेयरबजार कहिले पनि स्थिर हुन सक्दैन। यसको मतलब बजारमा अत्याधिक उतार–चढाव पनि हुनु हुँदैन। त्यसैले शेयरबजारलाई एक निश्चित दिशा प्रदान गर्न विभिन्न उपायहरु अवलम्बन गरेको पाईन्छ। शेयर बजार स्वतन्त्र हो तर यसमा सन्तुलन पनि कायम राख्नु पर्दछ भन्ने मान्यता राखिन्छ। स्वतन्त्र र सन्तुलनका बीच शेयर बजारलाई संयमित ढंगले अगाडी बढाउन यहाँ विभिन्न निकायहरु खडा गरिएका हुन्छन्। ति निकायहरुको भूमिकाको विषयमा समय समयमा चर्चा परिचर्चा र बिश्लेषण गरिन्छ।

शेयरबजारमा लगानी गर्ने लगानीकर्ताको लगानीको अवस्था के कस्तो रहको छ? जोखिम न्युनिकरण गर्न के कस्ता कदम चालिएका छन्? लगानी सम्बन्धी आम नागरिकलाई के कसरी सु–सूचित गरिएको छ? भन्ने विषय धेरै महत्वपूर्ण हुन्छन्। तर,यस्ता विषयमा कहीँ कतै राज्य वा राज्यद्वारा निर्मित निकायहरुले त्यति धेरै मतलव राखेको पाईदैन। “लगानीको जोखिम स्वयं लगानीकर्ताको मात्रै हो,कर,कमिशन र शुल्कमा मात्र राज्यको ध्यान हो” भन्ने आभाष आम नेपाली लगानीकर्ताले गरिरहनु परेको अवस्था छ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।