यद्यपि नारायणमुर्तिकाे यो भनाई केही महिना अघि व्यक्त गरेका हुन् । तर, विश्व मजदुर दिवसको सन्दर्भमा उनको भनाइलाई जोडेर सृजना भएका बहसहरुले भारतको मात्रै नभएर विश्वभरकै कर्पाेरेट र श्रमिक तथा अधिकारकर्मीहरुको बीचमा चर्चा पाइरहेको छ ।
नारायणमूर्तीले देशको उत्पादकत्व बढाउन भारत जस्ता विकासाेन्मुख देशका युवाहरुले कम्तिमा ७० घण्टा काम गर्छौंं भनेर घोषणा गर्नुपर्ने र सरकारले पनि यो नियम लगाउनुपर्ने बताएका थिए । अन्तराष्ट्रिय श्रम संगठनले साप्ताहिकरुपमा ४८ घण्टा कार्यअवधि तोकेको छ । र, कतिपय देशमा त्यो समय पनि धेरै भएको भन्दै कार्यघण्टा घटाउनुपर्ने बहस चलिरहेको बेला नारायणमुर्तिले ७० घण्टा काम गर्नुपर्ने, गराउनुपर्ने तर्क अघि सारेपछि त्यसले विश्वको श्रम बजारलाई तताउनु स्वभाविक पनि हो ।
‘जबसम्म हामी हाम्रो उत्पादकत्वमा सुधार गर्दैनौं हामी द्रुत प्रगति गरिरहेका देशहरूसँग प्रतिस्पर्धा गर्न सक्ने छैनौं त्यसैले भारतमा हप्ताको ७० घण्टा कार्यअवधि लागू गरिनुपर्छ’ उनले भनेका थिए ।
नारायणमूर्तिको भनाईपछि सामाजिक संजालमा प्रतिकृया जनाउँदै कतिपयले अधिकांश महिलाहरूले घर र कार्यालय दुवैमा गरेर ७० घण्टा भन्दा निकै धेरै काम गर्ने गरेको उल्लेख गर्दै पुरुषहरुले काम गर्ने कार्यघण्टा बढाउनु अन्यथा नहुने प्रतिकृया दिएका छन् । त्यस्तै कतिपयले पनि काम र व्यवहारिक तनावले मानिसको जीवन नै भद्रगोल बनाइरहेको बताउँदै कार्य समय बढाउने होइन कि मोबाइल र सामाजिक संजालको प्रयोग नगरी आराम गर्ने समय व्यवस्थापन गर्ने नियम लागू गर्ने बताएका छन् ।
बैङ्ग्लोरमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ दीपक कृष्णमूर्तिले सामाजिक सञ्जाल एक्समा लेखेका छन्—सामाजिक घुलमिल हुन समय छैन, परिवारसँग कुरा गर्ने समय छैन, शारीरिक व्यायाम गर्न समय छैन, मनोरञ्जन गर्न समय छैन । कामको अवधिपछि पनि इमेल र फोन सम्पर्कमा जवाफ दिने अपेक्षा गर्ने गरिएकै छ । त्यही भएर युवा उमेरमै हृदयाघात भयो भनेर किन अचम्ममा पर्ने ? मानिसलाई सामाजिक संजाल बिनाको शान्त वातावरणमा बस्ने अवस्था सृजना गर्ने बारेमा बहस गरिनु जरुरी छ ।
चलचित्र निर्माता रोनी स्क्रिउवालाको भनाईमा उत्पादन बढाउनको लागि धेरै समय काम गर्नुपर्छ भन्ने होइन । ‘मानसिक तन्दुरुस्तीका साथ चुस्त दुरुस्तरुपमा आफूले गर्ने काममा अझ राम्रो हुनु—क्षमता बढाउनु, सकारात्मक काम गर्ने वातावरण हुनु र गरेको कामको लागि उचित ज्याला पाउने हो भने उत्पादन वृद्धि स्वतः हुन्छ ।’- उनले सामाजिक संजाल एक्समा लेखेका छन् ।
आइटी कम्पनी टेक महिन्द्राका मालिक सीपी गुर्नामीले भने नारायणमूर्तीको भनाईलाई कम्पनीमा श्रम गर्ने बाध्यकारी व्यवस्थालाई बुझ्न नहुने बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन् —जब उनले कामको बारेमा कुरा गरेका छन्, मलाई लाग्छ त्यो कम्पनीमा मात्रै सीमित छैन । उनले ७० घण्टा कम्पनीको लागि मात्रै काम गर भनेका छैनन, ४० घण्टा कम्पनीको लागि काम गर तर ३० घण्टा आफ्नो लागि काम गर भनेका छन् एक हजार घण्टा लगानी गरेर एउटा विषयमा मास्टर्स गर। रातिसम्म काम गरेर आफ्नो विषयको विज्ञ बन भन्ने कुरालाई कसरी गलत भन्ने ?
स्मरणीय के छ भने भारतमा कार्य घण्टा बढाउने विषयमा बहस चर्किरहेको बेला कतिपय विकसित देशहरूले भने हप्तामा चार दिन काम गर्ने अभ्यासमाथि परीक्षण गरिरहेका छन् ।
सन् २०२२ मा बेल्जियमले कानुन परिमार्जन गरेर कामदारहरूलाई तलब नघट्ने हिसाबमा साताको चार दिन काम गर्न मिल्ने अधिकार दिएको थियो । केही वर्ष अघि कोरोना महामारीपछिको लकडाउन घटे लगत्तै बेलायतमा कैयौं कम्पनीहरूले हप्तामा ४ दिन काम गर्ने अभियान चलाएका थिए जसमध्ये करिब २ दर्जन कम्पनीहरुले अहिले पनि उक्त कदमलाई निरन्तरता दिइरहेका छन् । अर्थात् सातामा ४ दिन मात्र कार्यालय संचालन गरिरहेका छन् ।