संचारमाध्यमका अनुसार हङकङ र सिङ्गापुरले कारबाही गरेपछि अष्ट्रेलियाको बजारबाट पनि यी उत्पादनहरु फिर्ता हुने सम्भावना रहेकाे छ ।
हङकङले हालसालै तीन एमडीएच मसला र एभरेष्टको फिश करी मसलाको बिक्रीमा प्रतिबन्ध लगाएको छ। इथिलिन अक्साइडको मात्रा अत्यधिक भएको भन्दै सिंगापुरले एभरेष्टको मसला बजारबाट फिर्ता पठाएकाे छ । यो एक रसायन हो जसकाे प्रयाेग लामो समयसम्म गर्दा क्यान्सर हुन सक्छ।
एफएसएएनजेड(FSANZ)ले एक विज्ञप्तिमा लेखेकाे छ, "हामी यस मुद्दालाई बुझ्न अन्तर्राष्ट्रिय समकक्षहरूसँग र अष्ट्रेलियामा थप कारबाही आवश्यक छ कि छैन भनेर निर्धारण गर्न संघीय, राज्य र क्षेत्रीय खाद्य प्रवर्तन एजेन्सीहरूसँग काम गरिरहेका छौं"।
एजेन्सीले अष्ट्रेलियामा बिक्री हुने खानेकुरामा इथिलीन अक्साइड प्रयोग गर्न नपाइने बताएको छ। यदि कारबाही अघि बढ्यो भने, ती उत्पादनहरू बजारबाट फिर्ता हुन सक्छन्। एमडीएच (MDH) र एभरेष्ट (Everest) भारतका प्रमुख मसला ब्रान्डहरू हुन् । यी मसलाहरू युरोप, एशिया र उत्तर अमेरिकामा उपलब्ध रहेकाे छ।
अमेरिकामा रहेको युनाइटेड स्टेट्स फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ। भारतको खाद्य नियामकले एमडीएच र एभरेष्ट दुवैको उत्पादन सुविधाको पनि निरीक्षण गरेको छ।
भारतीय मसलामा प्रश्न उठ्ने र अन्तर्राष्ट्रिय नियामक निकायबाट छानबिन सुरु भएपछि खाद्यवस्तुमा स्वास्थ्य चिन्ता बढेको छ । अष्ट्रेलियाका उपभोक्ताहरूलाई अनुसन्धान पछि सम्भावित रिकलको बारेमा सचेत रहन र खरिद गर्दा खाद्य सुरक्षा सुनिश्चित गर्न सल्लाह दिइएको छ।