चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६३.४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.८८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९१.०६ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ९.८४ प्रतिशतबाट घटेर ४.७४ प्रतिशतमा झरेको छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ५ करोडबाट घटेर ५४ लाखमा सीमित भएको छ। यसले गर्दा लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ १७ पैसा बढेर १४ रुपैयाँ २ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १२३.०५ गुणा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १८ लाख रुप्ैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ९३ पैसा रहेको छ।
२६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३१ करोड १ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ४ अर्ब ९८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।