लेनिनवादी सिद्धान्तको प्रशासनमा भद्धा प्रयोग गर्दै प्रधानमन्त्री प्रचण्ड, भ्रष्टलाई काखी च्याप्दै पुरस्कृत गर्दै

May 06, 2024 06:09 AM Merolagani

मार्क्सवादलाई सबैभन्दा शसक्तरुपमा व्यवहारिक प्रयोग गर्ने रुसी नेता भ्लादिमिर यलिच उल्यानोभ (लेनिन) को एउटा सिद्धान्त छ—एक कदम पछाडि, दुई कदम अगाडि ।

आफूलाई प्रखर लेनिनवादी मान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले लेनिनको त्यही सिद्धान्तलाई नेपालको राजनीतिमा मात्र नभएर अब प्रशासन संयन्त्रमा प्रयोग गर्न थालेका छन् ।

उनको यो प्रयोगले राजनीतिक क्षेत्रमा त उथलपुथल मच्चाएको छ नै, अब प्रशासन संयन्त्रमा पनि कस्तो परिणाम ल्याउने हो, त्यो थाहा पाउन भने केही समय कुर्नैपर्छ । हेक्का राख्नु पर्ने कुरा के छ भने लेनिनवादी सिद्धान्तको मुख्य जोड कार्यकुशलता र ‘सफलता’ मा आधारित छ भने प्रधानमन्त्री प्रचण्डको प्रयोग र जोड ‘आफ्नाहरु’ जस्ता भए पनि च्याप्ने र अर्काे पार्टी प्रति सहानभुती राख्ने भए जो सुकैलाई पनि ‘ठोक्ने’मा आधारित छ ।

 

मुख्य सचिव नियुक्तिदेखि गत विहिबारको मन्त्रिपरिषद् वैठकले गरेका सचिव र सहसचिवको सरुवासम्मको घटनाक्रमलाई हेर्दा प्रचण्डले गरिरहेको उक्त लेनिनवादी सिद्धान्तको भद्धा नक्कललाई स्पष्ट पार्छ, जस्ले प्रशासनिक क्षेत्रमा सृजना गर्न खोजिरहेको अराजकता र अस्थिरतालाई स्पष्ट पार्छ ।

गत वर्ष प्रधानमन्त्री बनेको केही समयपछि दाहालले तत्कालिन मुख्य सचिव शंकरदास वैरागीलाई जर्वजस्त हटाएर अबकाश पाउन केही घण्टा बांकी रहेका बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाए । सचिव हुँदा देखि नै अनेक काण्डहरुमा फसेका अर्याल मुख्य सचिव बने यताको करिब १० महिनाको अवधिमा उनका भ्रष्टाचारका काण्डहरु निरन्तर छताछुल्ल भैरहेका छन् । तर, मुख्य सचिव अर्यालका काण्डहरुप्रति प्रधानमन्त्री पूर्णरुपमा मौन छन् । बरु उनलाई नै अगाडि राखेर सुशासन कायम गर्ने निर्णय गर्ने र भाषण गर्ने गरिरहेका छन् ।
लेनिनवादी सिद्धान्तले काम गर्नेहरुलाई प्रोत्साहन गर्ने र भ्रष्टहरुलाई तह लगाउने कुरा गर्छ । आफूलाई अब्बल लेनिनवादी मान्ने दाहाल भने भ्रष्टलाई जसरी पनि काखी च्याप्ने र अरुलाई शंकाकै आधारमा ‘तह लगाउने’ काम गरिरहेका छन् ।

सचिव सरुवाले उठाएका प्रश्नहरु

कर्मचारीको सरुवा बढुवा सरकारको नियमित काम र दायित्व हो । तर, प्रधानमन्त्री प्रचण्डले अहिले जसरी उच्च पदका कर्मचारीहरुको सरुवा गरिरहेका छन्, त्यो केवल सरकारको नियमित काम, कर्तव्य र दायित्वमा सिमित छैन, त्यसभित्र ‘अरु नै केही कुरा’ रहेकोमा शंका छैन ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससंगको गठवन्धन तोडेर एमालेसंग गठवन्धन गरेर नयाँ मन्त्री परिषद् बनाएपछि फागुन २१ यता करिब २ महिनाको अवधिमा गत विहिबार चौथो पटक सचिवहरुको सरुवा गरेका छन् । त्यति नै पटक सहसचिव लगायत अन्य तहका उच्च कर्मचारीहरु सरुवा गरिएको छ । सरुवा गरिएकाहरुमध्ये केही ठाउँ पूर्ववर्ती सचिवहरुले अवकाश पाएकोले रिक्त रहेको अवस्थामा सरुवा गरि पदमिलान अर्थात पदपूर्ती गरिएको छ । त्यो स्वभाविक हो । तर, प्रधानमन्त्री प्रचण्डले सचिव लगायतका उच्च तहका कर्मचारीहरुको सरुवा र बढुवामा रहस्यमय शैलीले अपनाइरहेको ‘लेनिनवादी शैली’ ले अनेक प्रश्नहरु उत्पन्न गरेको छ ।

बिहीवारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका ६ सचिवहरुमध्ये पर्यटन मन्त्रालयमा गणेश पाण्डेलाई जिम्मेवारी दिइएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यरत थिए । पर्यटन मन्त्रालयका सचिव दिपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । त्यहाँ कार्यरत सुरेश अधिकारीले केही दिनअघि अवकाश पाएका थिए ।

वन तथा वातावरण मन्त्रालयका सचिव दिपक खराललाइ कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी) पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषि)मा जिम्मेवारी दिइएको छ । कृषि सचिव गोविन्द प्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै, एक वर्षदेखि लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्यालको उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ ।

सरुवा भएका सचिवहरुमध्ये कृषि मन्त्रालयका पौडेल र खरालको पदावधि अब केही दिन मात्र बाँकी छ । जागिर अवधि केही दिन मात्र बाँकी रहेका सरकारी अधिकारीहरुलाई सहानुभूतिको लागि बढुवा गरिदिने प्रचलन रहे पनि अवकाशको मुखमै सरुवा गरिदिने प्रचलन भने संभवतः थिएन । उनीहरुको सरुवाले देखावटीरुपमा खासै ठूलो प्रभाव नपारे पनि यस्ले प्रशासनिक क्षेत्रको उच्च तहमा अस्थिरता सृजना गरेको सरोकारवालाहरु बताउंछन् । उनीहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई सरुवा गरेर ‘मेरो उपेक्षा गरे जुनसुकै बेला जेसुकै पनि हुन सक्छ’ भन्ने सन्देश प्रवाह गर्न खोजेका छन् ।

ढुंगानाको सरुवाले उठाएको प्रश्न

सरकारले राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । उनको सट्टामा एक साता अघि वैशाख १४ गते पर्यटन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएका चक्रबहादुर बुढालाई सरुवा गरिएको छ ।

ढुंगानालाई अहिले प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ र प्रधानमन्त्री निकटका व्यक्तिहरु यस्लाई उनलाई दिएको नसहितको रुपमा व्याख्या गरिरहेका छन् । ढुंगाना कोटीभिटी काण्डका ‘अभियुक्त’ हुन् । उनलाई कारवाही स्वरुप विभागिय जिम्मेवारी खोसेर प्रधानमन्त्री कार्यालयमा ‘तानिएको’ दावी गरिए पनि प्रधानमन्त्री निकट स्रोत भने केही दिनमै उनलाई केही समयमै कोलकोत्ताको महावाणिज्यदूत बनाएर ‘पुरस्कृत’ गर्न लागिएको बताइन्छ । अहिले महावाणिज्यदूत रहेका ईश्वरराज पौडेलको कार्यकाल साउन पहिलो साता सकिदैंछ ।

त्यसअगाडि नै पौडेललाई प्रधानमन्त्री कार्यालयमा तानेर ढुंगानालाई पठाउने तयारी गरिएको बताइन्छ ।
‘लेनिनले त शत्रुहरुसंग लड्नको लागि एक कदम पछि दुई कदम अघिको सिद्धान्त अघि सारेका थिए, यहाँ प्रधानमन्त्री प्रचण्ड त भ्रष्टहरुलाई कारवाही गरेजस्तो गरेर पुरस्कृत गरिरहेका छन् । योभन्दा ठूलो जात्रा के हुन्छ ? यस्तै कारणले दिक्क भएर हरिबोल गजुरेलले प्रधानमन्त्रीको सल्लाहकारबाट राजिनामा दिनु भएको हो’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले मेरो लगानीसंग भने ।

स्मरणरहोस् गतवर्ष प्रचण्ड प्रधानमन्त्री भए लगत्तै राजनीतिक सल्लाहकार नियुक्त भएका गजुरलले उनको कार्यशैलीप्रति असहमती जनाउंदै केही महिना अघि राजिनामा दिएका थिए ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।