रेमिट्यान्स निरन्तर बढ्दै, बाह्य क्षेत्र बलियो हुँदा पनि आन्तरिक अर्थतन्त्र मन्दीमै

May 06, 2024 10:59 AM Merolagani

चालु आर्थिक वर्षदेखि मासिक १ खर्ब बढी रेमिट्यान्स भित्रिन थालेको छ। गत आर्थिक वर्षको पछिल्लो ५ महिनादेखि नै १ खर्ब बढीको रेमिट्यान्स आप्रवाह हुन थालेकोमा चालु आर्थिक वर्षमा पनि निरन्तर बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यसअनुसार चालु आर्थिक वर्षमा औसतमा मासिक १ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको पहिलो ८ महिनामा औसतमा ९९ अर्ब रुपैयाँ आएको थियो।

अहिले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको सँख्या बढीरहेको छ भने अर्कोतर्फ अध्ययनको लागि बाहिरिने नेपाली विद्याथाीको सँख्या समेत बढिरहेको छ। यसले गर्दा पनि पछिल्ला महिनाहरुमा रेमिट्यान्स बढ्दै गएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षभरिमा नेपालले १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। ८ महिनाको तथ्याँक हेर्दा चालु आर्थिक वर्षमा त्योभन्दा निकै धेरै रेमिट्यान्स भित्रिने देखिन्छ। बजारमा माग नै नभएकाले अहिले विगतका वर्षहरुमा धेरै आयात हुने सामानहरुको आयात नै घटेको छ। नेपालमा पछिल्लो समय रेमिट्यान्स बढ्नुमा कोभिड पछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा वृद्धि हुनु, अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमुल्यन हुनु र रेमिट्यान्स आप्रवाहमा प्रविधि प्रयोगको कारण सहजता आउनु नेपालमा रेमिट्यान्स बढ्नु प्रमुख कारण रहेको छ।

रेमिट्यान्स बढ्दा त्यसले विदेशी मुद्रा भित्र्याएको छ भने बाह्य अर्थतन्त्रलाई मजबुत बनाउदै लगेको छ। चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धि र आयातमा आएको संकुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र व्यवस्थापन सहज भएको राष्ट्र बैंकले जनाएको छ। विप्रेषण आप्रवाहको बढोत्तरीले बाह्य क्षेत्रतर्फको चालु खाता तथा शोधनान्तर बचत कायम गर्न, तरलतामा सुधार ल्याउन, ब्याजदरमाथि परेको चाप कम गर्न र आन्तरिक माग बढाउन सहयोग पुगिरहेको राष्ट्र बैंकको भनाइ छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या र प्रवृत्तिलाई दृष्टिगत गर्दा आगामी महिनाहरुमा पनि विप्रेषण आप्रवाह सन्तोषजनक रहने केन्द्रिय बैंकले जनाएको छ। तर आन्तरिक अर्थतन्त्र भने चलायमान हुन सकेको छैन, अझ भनौ आन्तरिक अर्थतन्त्र मन्दीकै अवस्थामा छ।

केन्द्रिय बैंककै कतिपय अध्ययनले रेमिट्यान्सको अधिकाँश पैसा उपभोगमा जाने देखाइरहेको छ। यसरी रेमिट्यान्स बढ्दा पनि उपभोग भने बढ्न सकेको छैन। पछिल्लो समय युवाहरु धेरै विदेशीएकोले उपभोग केहि कम भएको र रेमिट्यान्स केहि बचतमा गइरहेको पुर्व बैंकर भुवन दाहल बताउछन्। चालु आर्थिक वर्षमा चालु खाता सकारात्मक हुँदा पनि त्यसले रेमिट्यान्सको पैसा बचतमा गइरहेको संकेत गर्ने बताउछन्।

वर्षैदेखि घाटामा रहने चालु खाता चालु आर्थिक वर्षमा भने निरन्तर नाफामा छ। किनभने आयातका तुलनामा रेमिट्यान्सको बृद्धिदर धेरै छ। निर्यात बढेर चालु खाता बचतमा पुगेको भने होइन।

धेरै पैसा उपभोगमा जाँदा त्यसले आयात बढाउनुपर्ने हो। तर आयात धेरै बढेको छैन। कोभिडको समयमा आयात अत्याधिक बढेको थियो। सो पश्चात आयातमा केहि कडाइ भएको थियो। अहिले गरिएका कडाइहरु खुल्दा पनि आयात धेरै बढेको छैन। आयातकर्ताहरु बजारमा माग नै नभएका कारण धेरै बस्तु आयात नगरिएको बताइरहेका छन्।

पछिल्लो समय खाध्यान्न लगायतका बस्तुहरुको उपभोग खासै नघटेको भए पनि अन्य बस्तुहरुको भने आयात घटेको अर्थविद अनलराज भट्टराइ बताउछन्। धेरै युवाहरु विदेशिँदा पनि त्यसको असर उपभोगमा परेको उनी स्वीकार्छन्। अहिले धेरै पैसा नयाँ बस्तु खरिदमा भन्दा पनि मेन्टेनेन्समा गइरहेको उनी बताउछन्।

 
comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।