खुला मञ्चलाई पानी नजम्ने र आकाशे पानी पुनभरण हुने बनाउँदै काठमाडौँ महानगरपालिका

May 06, 2024 05:44 PM Merolagani

काठमाडौँ महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङकाे काम थालेको छ । काम गर्ने पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरले जानकारी दिएकाे छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र के. सी. र महानगरपालिकाका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरेका हुन् ।

यस्ता पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यसै सहमतिका आधारमा २३ गते विभागले खुला मञ्चको ग्रेडिङ् र लेभलिङका लागि सम्झौता गरेको हो ।

कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार,कम्पनीका प्रमुख कार्यकारी अधिकृत के. सी., महानगरपालिकाको सार्वजनि निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इञ्जिनियरहरु मञ्च पुगेका थिए ।

कामका विषयमा प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत परियारले भने,‘नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता गर्‍यौँ । त्यसको भोलिपल्टैबाट काम थालिएको छ । हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौँ ।’

कम्पनीसँगको सहकार्यका विषयमा उनी भन्छन्,‘खुला मञ्चमा हुने कामको नतिजाका आधारमा अन्य योजनामा सम्झौता गर्ने योजनामा छौँ ।’

नेपाल पूर्वाधार निर्माण कम्पनी वि. सं. २०७६ साल असार २५ गते दर्ता भएको सरकारको स्वामित्व भएको कम्पनी हो । कम्पनीको सञ्चालक समितिमा अर्थ मन्त्रालय,सहरी विकास मन्त्रालय,उर्जा जलस्रोत तथा सिँचाइँ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गरी ४ वटा मन्त्रालयको प्रतिनिधित्व छ ।

सबै प्रकारका निर्माण कार्य र परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको पहिलो निर्माण सम्बन्धी काम यही नै हो । परियारले भने, ‘कम्पनीको पहिलो काममा महानगरपालिकाले सहकार्य गरेको छ ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत के. सी. भन्छन्, ‘कम्पनीका लागि यो एउटा अवसर पनि हो । यसलाई तोकिएको समयमा सम्पन्न गरिनेछ ।’

खुला मञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ ।

सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार जेठ मसान्तभित्र काम सकिने छ । यसपछि बर्खाको पानी भेल भएर नबग्ने र जमिनमुनि प्रवेश गर्ने पनि बताइएकाे छ ।

महानगरपालिकाले गएको माघ महिनामा दैनिक ५० जना जनशक्ति परिचालन गरेर ढुङ्गा टिप्न लगाएको थियो ।

काठमाडौँ टावर निर्माण थालिएपछि त्यहाँ भएको बसपार्क खुल्लामञ्चको रत्नपार्कतर्फको खण्डमा बारेर बसपार्क चलाइएको थियो । २०७२ सालको महाभूकम्पपछि वीर अस्पताल र दरबार हाइस्कूल पुननिर्माणका लागि निर्माण सामाग्री राख्ने तथा जनशक्ति बस्ने ठाउँका रुपमा विकास गरिएको थियो ।

अहिले खुला मञ्चभित्रका सबै संरचना हटाइसकिएको र यसलाई मौलिक दुवो रोपेर आकर्षक खुला स्थानका रुपमा विकास गर्ने योजना रहेकाे महानगरपालिकाले जानकारी दिएकाे छ ।

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।