हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छुः अर्थमन्त्री पुन

May 06, 2024 05:40 PM MeroLagani

अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन् । सोमबार मन्त्रालयमा उनले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् । कार्यक्रममा महासंघ अध्यक्ष एवं सञ्चार उद्यमी शोभा ज्ञवाली,डा. माला खरेल,अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवर्धन का लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए ।

कार्यक्रममा अर्थमन्त्री पुनले महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने बताए । बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरु गर्ने सोचमा आफू रहेको उनको भनाइ थियो । बढी भन्दा बढी महिलालाई कसरी उद्यमी बनाउन सकिएला भन्नेबारे आफूलाई सुझाव दिन उनले आग्रह गरे । ‘महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरुले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरु आफैं आत्मनिर्भर बन्छन् । छोरीहरु आर्थिक रुपले अघि आउँदा मात्र राजनीति,प्रशासन,सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ ।’ मन्त्री पुनले मुलुकको समग्र विकास र आर्थिक समुन्नतिका लागि महिला आर्थिक रुपले बलियो हुनुपर्ने अनिवार्य सतै रहेको उल्लेख गरे ।

मन्त्री पुनले महिलाका नाममा पास गर्दा घरजग्गाको रजिष्ट्रेशनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको स्मरण पनि गरे ।‘२७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ । बाबु आमाले पनि सम्पत्तिको हक राख्ने भएकाले पढाउनुपर्छ छोराछोरी बराबर हो भन्ने धारणाको विकास भएको छ । किन भने छोरी पढायो भने बुहारी पनि पढेकै आउँछ भन्ने लाग्न थालेको छ । यो सम्पत्ति सम्बन्धका कारण भएको परिवर्तन हो । पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ । तर, कमै मात्र छोरीहरुको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै छैन’, उनले भने, ‘यो वर्षको बजेटमा हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु ।’ उनले नयाँ आउने महिला उद्यमीलाई अहिले व्यवसायमा रहेका महिलाहरुले बाटो देखाउनुपर्ने उल्लेख गरे । महिलाको हातमा सम्पत्ति भएपछि उनीहरुको आत्मविश्वास पनि बढ्ने उनको भनाइ थियो ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।