यसाे गरियाे भने नेप्से इण्डेक्स कनि कनि २ हजारको हाराहारीमा होइन, त्यसको दोब्बर, तेब्बर अंकमा पुग्नेछ

Apr 07, 2024 06:45 PM Merolagani

बाबुराम ढकाल
एउटा स्कुलमा जानु पर्ने थियो, तोकिएको समयभन्दा अलि छिटो पुगेछु । यस्सो टहल्दै थिएँ, स्कुलको मेन ढोकाका गार्ड मोवाइलमा घोत्लिएको देखेपछि लाग्यो, उनले कुनै उटपट्याङ भिडिओ हेर्दै होलान वा फेसबुकमा च्याट गर्दै होलान् ।

मैले यत्तिकै मजाकमा सोंधे—निकै घोरिनु भएको छ त, खत्रै कुरा आयो कि क्या हो ? ‘अँ सर, त्यस्तै छ । मेरो शेयरकाे लगानी त डुब्ने भो कि भन्ने चिन्ता लागिरहेको छ, जताततै रातो मात्रै देखिन्छ’ उनले भने । त्यसपछि बल्ल मैले बुझें, उनी त शेयर बजारका लगानीकर्ता पो रहेछन् । ‘खासमा म चाँहि हिड्न लगानीकर्ता हुँ, जागिर छोड्न पनि सकेको छैन । कहिले काँही विचल्ली नै हुँदा यही जागिरले भरथेग गर्छ, त्यसैले श्रीमतीले थोरै थोरै दोस्रो बजारमा लगानी गर्छिन्, म चाँहि सकेसम्म आइपिओ भर्छु र श्रीमतीलाई सकेको सुझाव दिन्छु ।’ उनले भने । 

उनको कुरा सुनेपछि सुरक्षा गार्डहरुलाई हेर्ने दृष्टिकोण केही हदसम्म परिवर्तन भयो । उनीहरु ढोकाको छेउमा उभिएर गेट खोल्ने र लगाउने काम गर्दै बेला बेलामा सामाजिक संन्जालका उटपट्याङ भिडियोहरु हेरेर रमाउँछन भन्ने भ्रममा थिएँ । केही त्यस्ता होलान पनि, तर वास्तवमा उनीहरु त अचेल पूँजी बजारका खेलाडी पो रहेछन् ।

काठमाडाैं तीनकुनेमा कान्तीपुर टिभीको कार्यालय नजिकै एउटा पानीपुरी र चटपटे पसल छ, मैले धेरै वर्षदेखि चिनिरहेका साहुजी छन् । चटपटे पसल संचालकहरुले पैसा राम्रै कमाउँछन् तर उनीहरु वौद्धिक हुँदैनन्, त्यसमाथि आर्थिक क्षेत्रको विश्लेषण त उनीहरुको दिमागले नभ्याउने कुरा हो भन्ने मान्यता म जस्ता धेरै मानिसहरुको रहेको हुन्छ । ती चटपटे पसलले एक दिन मलाई अचानक शेयर बजारको बारेमा तपाईलाई कति थाहा छ भनेर सोधे । मैले किन भनेर सोंधे ? उनले आफ्नो अनुभव यस्तोसँग सुनाए, मानौं म कुनै विज्ञसँग आलेखको लागि कुरा गरिरहेको छु । उनको कुरा सुनेर छक्क परिरहेको म त्यतिबेला झन छक्क परें, जब उनले आर्थिक क्षेत्रका अनलाइनहरुको न्यूजको कण्टेण्ट र विश्लेषणका शैली र तथ्यपरकताको पनि चिरफार गरे । यी दुई घटना प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो समय शेयर बजारप्रतिको आकर्षण तीब्ररुपमा बढिरहेको छ, लगानीकर्ताहरुको संख्या बढिरहेको छ भन्ने कुराको दृष्टान्त हुन । 

केही वर्ष अगाडिसम्म शेयर कारोबार भनेको काठमाडाैंका केही सिमित टाढाबाठा व्यापारीहरुले ‘खै के खै के’ गरेर कमाउने माध्यम हो भन्ने बुझाई आम मानिसहरुमा थियो । तर, इण्टरनेट र मोवाइलको लोकप्रियता र पहुँच विस्तारसँगै शेयर कारोबार अहिले शहर बजारमा संभ्रान्त परिवारबाट गाउँ गाउँका परिवारको जिविकोपार्जनको माध्यम बनेको छ । गाउँ—शहर, सुगम—दुर्गम, धनी—गरिब, युवा—प्रौढ सबैको आम्दानीको स्रोत र ‘टाइमपास’ को माध्यम बनेको छ । शायद अहिलेसम्म कसैले अध्ययन गरेको छैन, त्यसैले तथ्याँकगतरुपमा यही नै हो, यति नै हो भन्न सकिने अवस्था छैन तर शेयर बजारप्रतिको सर्वसाधारणको चासो र यसमा संलग्न मानिसहरुको संख्या, आईपिओ भर्नेहरुको भीड हेर्दा नेपालमा विगत एक एक, डेढ दशक यता शेयर बजार जत्तिको आकर्षक लगानी र आर्थिक गतिविधिको क्षेत्र अर्काे कुन छ ? भनेर प्रश्न गर्नुपर्ने अवस्था छ ।

यस्तो लोकप्रिय क्षेत्र भए पनि शेयर बजारले अपेक्षाकृत किन विकास गर्न सकेको छैन ? कुनै बेला ३२ सय पुगेको शेयर बजार झन बढ्दै ४/५ हजार तिरको बाटोमा अगाडि बढ्नु पर्नेमा किन अहिले फेरि २ हजार, २१ सयको विन्दु पार गर्न पनि सकस परिरहेको छ ? यस्ता विषयमा सर्वसाधारण लगानीकर्ता भन्दा पनि विश्लेषकहरु र सरकारी निकायले गंभिरतापूर्वक ध्यान दिनु पर्ने हो । तर,
उनीहरुले के गरिरहेका छन् ।

कतिपयलाई आरोप लगाएको जस्तो लाग्न सक्छ, तर वास्तविकता के हो भने नेपालमा अपवादमा बाहेक शेयर विश्लेषक भनिएकाहरु वास्तविक विश्लेषक होइन, उनीहरु आफै कुहिरोको काग जस्तै दिग्भ्रमित भएर हचुवाको आधारमा विश्लेषण गरेको देखिन्छ । त्यसमा २ कारण हुन सक्छ, या त उनीहरु आफै शेयर बजारको गतिलाई बुझ्न र विश्लेषण गर्ने हैसियत राख्दैनन्, या त जानेर नियतबस नै भ्रमको खेतीमा रमाउँछन् ।

यस्तो किन हुन्छ ? किनकी नेपालमा शेयर विश्लेषक, पूँजीबजारका ज्ञाता भनिएकाहरु आफै शेयरको कारोबारमा संलग्न छन् । विश्लेषक भनेको निरपेक्ष हुनु पर्छ । यो र त्यो भन्ने आधारमा होइन, तथ्यको आधारमा विश्लेषण गर्न सक्नुपर्छ । तर जो व्यक्ति आफै शेयर बजारको खेलाडी छ ? उ कसरी निरपेक्ष हुनसक्छ ? उस्ले कसरी स्वतन्त्र र तथ्यगतरुपमा विश्लेषण गरेर सर्वसाधारणलाई तथ्यपरक सूचना र जानकारी दिनसक्छ ? सक्दैन । उ आफै खेलाडी भएकोले उस्ले आफ्नो स्वार्थ अनुसारको एकाँकी तर्क र विश्लेषण गर्छ र त्यसैलाई ‘अन्तिम सत्य’ भन्दै होहल्ला मच्चाउँछ ।

शेयर बजारमा लगानी गर्ने हरेक व्यक्ति आफै विश्लेषक हो । आफै विश्लेषक हुनै पर्छ । तर, त्यो आफूमा सिमित हुन्छ, आफ्नो नाफा घाटामा सिमित विश्लेषण हुन्छ  । तर, स्वतन्त्र विश्लेषक वा ज्ञाता भनेर दावी गर्दै दुनियाँलाई पाठ पढाउने वास्तविकतामा भने आफूलाई कहिल्यै पनि निरपेक्षरुपमा प्रस्तुत गर्न नसक्ने व्यक्ति सही विश्लेषक हुनै सक्दैन । विश्वको कुनै पनि शेयर बजारमा मात्र होइन, अरु कुनै बजारमा विश्लेषक भनिएकाहरु व्यापारी हुँदैनन्, विश्लेषक नै हुन्छन्, जस्ले सम्भावित घटनाक्रमको आधारमा विश्लेषण गर्छन् । तर यो त नेपाल न हो । हरेक विज्ञ व्यापारी, हरेक व्यापारी बिज्ञ । माथि नै लेखिएको छ, सबै विश्लेषक त्यस्ता छैनन् । तर, अपवादमा वाहेक अधिकाँश विश्लेषक भनिएकाहरुको अनुहार त्यस्तै त्यस्तै छ भन्नेमा शायद कसैलाई दुविधा नहोला ।

शेयर बजारको विकासको लागि सरकारले के गर्यो ? के गरिरहेको छ ? यसबारेमा धेरै बहस र छलफल गर्नु जरुरी नै छैन । किनकी शेयर बजारको विकासको लागि अरु देशका सरकारहरुले जसरी काम गरिरहेका छन्, गर्छन त्यसको तुलनामा हाम्रो सरकारले केही गरेको छैन । फगत नेप्से र धितो पत्र बोर्डमा चलखेल गर्दै पदाधिकारी नियुक्ति गर्ने र राजश्व असुल्नेबाहेक । अहिलेसम्म शेयर बजारले जे जति आरोह, अवरोह भोगिरहेको छ, त्यो सरकारको भूमिकाको कारण होइन, आफ्नै कारणले हो । लगानीकर्ताको कारणले हो । सरकारको दिमागमा शेयर बजार अहिले पनि लगानीको लागि प्राथमिकता प्राप्त क्षेत्र होइन, रोजगारी र आर्थिक सम्वृद्धिको क्षेत्र पनि होइन, फगत हल्लै हल्लाको भरमा चल्ने एउटा क्षेत्र मात्र हो ।

सरकारले शेयर बजारमा केही नगर्नुका पछाडि उस्कै दृष्टि दोष लगायतका अरु धेरै कारण छन्, हुन सक्छन् । एउटा मुख्य कारणचांही शेयर बजार विश्लेषकहरु हुन् । उनीहरुले कहिल्यै पनि एकिकृतरुपमा शेयर बजारका समस्या र सम्भावनाको बारेमा तथ्यगत तरिकाले लविइङ गर्ने, दबाब दिने कामै गरेनन् । साना लगानीकर्ता र ठूला लगानीकर्ता, कर्पाेरेट खेलाडी र सामान्य खेलाडी, उपत्यका भित्रका खेलाडी र उपत्यका बाहिरका खेलाडी आदी इत्यादी भन्दै शेयर लगानीकर्तालाई अनेक ग्रुपमा बाँड्ने र त्यही अनुसार ‘खेल्न खोज्ने’ प्रवृत्तिले शेयरका ‘मनोगत विश्लेषक’ हरुले काम त पाएका छन्, तर यस्ता प्रवृत्तिहरु सरकारलाई ‘काम नगर्नको लागि निहुँ’ बनिरहेका छन् ।

त्यसैले शेयर बजारको साँच्चै नै विकास र विस्तार चाहाने हो भने सबैभन्दा पहिले विश्लेषक भनिएकाहरुले अहिले ठूलो ऐनामा आफूलाई हेर्नु जरुरी छ । त्यसबाट आत्मचिन्तन गर्दै शेयर बजारका सबै समस्याहरुलाई वस्तुपरक रुपमा एकीकृत गर्दै सरोकारवाला सरकारी निकायहरुलाई दबाव दिने हो भने बल्ल शेयर बजारको विकास र विस्तार सही ढंगले हुनेछ । नेप्से इण्डेक्स कनि कनि २ हजारको हाराहारीमा होइन, त्यसको दोब्बर, तेब्बर अंकमा पुग्नेछ । अन्यथा सधैको राम रमिता भन्दा अरु केही हुने छैन ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।