सिटिजन, सन नेपाल र रिलायवल नेपालले लाभांश घोषणा गरिसक्दा पनि आईएमई लाइफको लाभांश घोषणामा किन ढिलाई ?

Apr 09, 2024 11:25 AM MeroLagani

प्रिमियममा आईपीओ निष्काशन गरेका अधिकांश लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरे पनि आईएमई लाइफ इन्स्योरेन्सले भने अहिलेसम्म घोषणा गरेको छैन् । चालु आर्थिक वर्षभन्दा अगाडि नै प्रिमियममा आईपीओ निष्काशन गरेर सूचीकृत समेत भएको आईएमई लाइफले राम्रो लाभांश बाँड्ने अड्काल बाजी कायमै रहे पनि कम्पनीले अहिलेसम्म लाभांशको घोषणा गरेको छैन् ।

अहिलेसम्म नेप्सेमा सूचीकृत १२ वटा लाइफ इन्स्योरेन्स कम्पनीमध्ये सूर्यज्योति, सिटिजन, रिलायबल नेपाल, एशियन र सन नेपाल लाइफ इन्स्योरेन्स गरी ५ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), हिमालयन लाइफ र सानिमा रिलायन्स लाइफ गरी चार वटा लाइफ इन्स्योरेन्स कम्पनीले भने लाभांश नदिने घोषणा गरेका छन् । अझै लाइफ इन्स्योरेन्सतर्फ नेसनल लाइफ, प्रभु महालक्ष्मी लाइफ र आईएमई लाइफ गरी ३ वटा कम्पनी लाभांश घोषणा गर्न बाँकी छन् ।

लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये प्रिमियममा आईपीओ निष्काशन गरेका कम्पनीहरुले पहिलो चरणमा लाभांश घोषणाको शुरुवात गरेका थिए । रिलायवल नेपाल लाइफले शुरु गरेको लाभांश घोषणालाई सिटिजन लाइफ र सन नेपाल लाइफले पछ्याए । अहिलेसम्म प्रिमियममा आईपीओ निष्काशन गरेका लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये आईएमई लाइफ इन्स्योरेन्सले मात्रै लाभांश घोषणा गरेको छैन । आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले कम्पनी वित्तीय विवरण नेपाल बीमा प्राधिकरणबाट स्वीकृतिको अन्तिम चरणमा रहेको बताए । आईएमई लाइफले बीमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन झन्डै १ अर्ब रुपैयाँ बराबरको पुँजी बढाउनुपर्ने हुन्छ । अहिले कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ बराबरको छ । नियामकले तोकेको पुँजी बढाउनै पर्ने बाध्यतामा रहेकाले कम्पनीले सकेसम्म बोनस शेयरमै जोड दिने कम्पनीका अधिकारीहरु बताउँछन् । हुन त लेखा समितिको निर्देशनसँगै नेपाल बीमा कम्पनीले प्रिमियममा आईपीको निष्काशन गरेका कम्पनीहरुले प्रिमियमबापत् संकलित रकमलाई बाँडफाँट नगरी एउटा छुट्टै कोष बनाउन निर्देशन दिएको थियो । प्रिमियम रकम बाँड्न बन्देज रहेका कारण आईएमई लाइफले पनि बोनस शेयर नै दिने छ । प्रिमियम रकम चलाउन नपाएपछि कम्पनीले पनि चुक्ता पुँजी पुर्याउन नपुग रकम हकप्रद नै निष्काशन गर्ने छ ।

सार्वजनिक लेखा समितिको निर्देशनपछि बिमा प्राधिकरणले प्रिमियममा आईपीओ निष्काशन गर्ने कम्पनीलाई प्रिमियम रकम खर्च नगरिकन एउटा छुट्टै कोष बनाएर राख्न निर्देशन दिएको थियो। पछिल्लो समय बिमा कम्पनीले घोषणा गरेको लाभांश भनेको अहिलेसम्मको सञ्चित नाफाबाट दिएको हो। प्रिमियम रकमलाई लाइफ इन्स्योरेन्स कम्पनीहरुले चलाएका छैनन्।

रिलायबल नेपाल लाइफले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ। कम्पनीको बोनस शेयर नेप्सेमा समेत सूचीकृत भइसकेको छ । बोनस शेयरको सुचीकरणसँगै कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । नियामकले तोकेको पुँजी पुर्याउन रिलायवल नेपाललाई अझै ३६ करोड रुपैयाँ अपुग रहेको देखिन्छ ।

त्यसैगरी सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९-८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँमा सो लाभांश घोषणा गरेको हो। कम्पनीको लाभांश साधारण सभाले पारित गरेर नेप्सेमा समेत सूचीकृत भएपछि अहिले चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । नियामले तोकेको पुँजी पुर्याउन अझै १ अर्ब ६ करोडठ २५ लाख रुपैयाँ अपुग छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले आव २०७९-८० को लागि २३.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रिमियममा आईपीओ जारी गरेका लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये अहिलेसम्म सबैभन्दा बढी लाभांश दिने कम्पनीको रुपमा समेत सन नेपाल लाइफ इन्स्योरेन्स रहन पुगेको छ । ३ अर्ब २० करोड चुक्ता पुँजी रहेको सन नेपाल लाइफले बोनस शेयर सूचीकृत भएपछि कायम रहेको चुक्ता पुँजीमा पुनः २५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत अघि बढाएको छ ।

बिमा कम्पनीहरुको एक्च्युरी भ्यालुएटर पर्याप्त मात्रामा नहुँदा विदेशमा जानुपर्ने बाध्यताका कारण हरेक वर्ष समयमा साधारण सभा हुन सकेको छैन । कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्र अर्थात पुस मसान्तसम्म साधारण सभा गरिसक्नुपर्ने प्रावधान भए पनि तोकिएको समयमा औंलामा गन्न सकिने कम्पनीले मात्रै साधारण सभा गरेका छन्।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।