वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति बढेर साढे १४ खर्ब पुग्यो, वार्षिक साढे २४ प्रतिशतको वृद्धि

Apr 15, 2024 06:23 PM MeroLagani

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति साढे १४ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले हालै प्रकाशित गरेको २०७७ देखि ८० असारसम्मको वार्षिक तथ्यांकमा आधारित सर्वेक्षण अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले निक्षेप परिचालन गर्ने क, ख, ग वर्गका वित्तीय संस्थाको वासलातको आधारमा वित्तिय सर्वेक्षण तयार पारेको हो ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षणले यस्तो देखाएको हो । विभागका एक अधिकारीले बैंक तथा वित्तीय संस्थाको विदेशी बैंकमा बचत बढेको देखिएको बताए । विशेष गरी विदेशी मुद्रा,एलसी खोल्नुपर्ने रकम लगायत विदेशी बैंकमा जम्मा हुने गरेको छ ।

राष्ट्र बैंकले २०८० असार मसान्तसम्मको तथ्यांकलाई आधार मानेर वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति मापन गरेको हो । खुद वैदेशिक सम्पत्ति २०७९ असार मसान्तको भन्दा साढे २४ प्रतिशतले बढी हो । केन्द्रीय बैंकका अनुसार २०७९ को असार मसान्तसम्म वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति ११ खर्ब ४९ अर्ब ६४ करेड रुपैयाँ थियो । वित्तीय क्षेत्रको यस्तो सम्पत्ति २०७९ असार मसान्तसम्ममा १३ खर्ब ७० अर्ब ५२ करोड रुपैयाँ र २०७८ असार मसान्तसम्म १३ खर्ब २६ अर्ब ३४ करोड रुपैयाँ थियो ।

वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति भने २०८० साल असार मसान्तसम्म ३९ खर्ब २६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको २०७९ असार मसान्तको भन्दा ७ दशमलब ६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष खुद आन्तरिक सम्पत्ति ३६ खर्ब ६८ अर्ब ४० करोड ९६ लाख रुपैयाँ पुगेको थियो ।
वित्तीय क्षेत्रको आन्तरिक दाबी ६८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो सम्पत्ति ६३ खर्ब ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी २०८० असार मसान्तसम्म १० खर्ब २३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने सार्वजनिक गैर वित्तयि संस्थान माथिको दाबी ३१ अर्ब ४४ करोड रुपैयाँ छ । त्यसैगरी निजी क्षेत्रमाथिको दाबी भने ५७ खर्ब ९४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति भने ऋणात्मक

राष्ट्र बैंकको सर्वेक्षण अनुसार प्रत्यक्ष निक्षेप संकलन नगर्ने अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति भने ऋणात्मक देखिएको छ । सर्वेक्षण अनुसार २०७० असार मसान्तसम्म अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति ५ अर्ब ५२ करोडले ऋणात्मक रहेको छ । यो सम्पत्ति अघिल्लो वर्ष २०७९ असार मसान्तसम्मसम्म १ अर्ब ७० करोड रुपैयाँ मात्रै ऋणात्मक थियो । राष्ट्र बैंकले प्रत्यक्ष निक्षेप सकंकलन नगरे पनि सम्झौतित बचन परिचालन गर्ने बीमा कम्पनीहरु, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल पूर्वाधार विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, र लघुवित्त वित्तीय संस्थाको वासलातका आधारमा अन्य वित्तीय संस्था सर्वेक्षण तयार पारी प्रकाशन गर्ने गरेको छ ।

अन्य वित्तीय संस्थाको आन्तरिक दाबी २०८० असार मसान्तसम्म १८ खर्ब २७ अर्ब ४६ करोड रहेको छ भने नेपाल सरकारमाथिको दाबी ११ अर्ब १७ करोड रुपैयाँ, सार्वजनिक गैर वित्तीय संस्थान माथिको दाबी २८ अर्ब ७९ करोड रुपैयाँ, निजी क्षेत्रमाथिको दाबी ८ खर्ब ९१ अर्ब ४२ करोड रुपैयाँ र केन्द्रीय बैंक एवम् निक्षेप परिचालन गर्ने बैंक तथा वित्तीय संस्थामाथिको दाबी ८ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।