अर्थमन्त्री पुनको बोलीमा ढुक्क भएर लगानी गर्नेहरू प्यानिक अवस्थामा, बजारलाई निरास बनाएर लगानी सम्मेलनकाे "भव्य" तयारी

Apr 16, 2024 06:36 PM Merolagani

अर्थमन्त्री वर्षमान पुन अर्थमन्त्रालयको कार्यभार सम्हालेकै दिन शेयर बजारमा लगानीकर्तालाई भनेका थिए,"ढुक्क भएर लगानी गर्नुहाेस् अब विगतमा जस्तो हुँदैन।" लामो समयदेखि घट्दो बजारले निराश भएका लगानीकर्तामा अर्थमन्त्रीको सो बोलीले केही उर्जा थप्यो।

उनले अर्थमन्त्री भएपछि पुँजीबजारमा देखिएका नीतिगत समस्या सामाधान गर्ने र सहज वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका दलहरुबीच गठबन्धन गरी नयाँ सरकार बनाएपछि शेयर बजारमा केही उतारचढाव देखिएको थियो। पूर्व अर्थमन्त्री प्रकाशशरण महतबाट बजार सुधारको लागि कुनै काम हुन नसकेको भन्दै निराश बनेको शेयर बजार अर्थमन्त्रीमा वर्षमान पुन आएपछि केहि सकारात्मक नै देखिएको थियो।

अर्थमन्त्रीले बजार सुधारको लागि काम गर्ने प्रतिबद्धता जनाएपछि लगानीकर्ताले पनि उनलाई परिक्षण गर्ने विचार गरे। केहि दिन बजार पनि बढ्यो। लगानीकर्ता र ब्रोकरहरुसँगका भेटमा पनि पुनले आफु शेयरबजारप्रति सकारात्मक रहेको र बजारमा सकारात्मक माहौल बनाइदिन आग्रह गरेका थिए। यहीबेला पुनले शेयर बजारका तीनवटै निकायसँग बजार सुधारको कार्ययोजना माग गरे। सो चिठ्ठी सामाजिक सञ्जालमा समेत भाइरल भयो। यसले लगानीकर्तामा केही आशा जगाएको थियो।

तर सुझाव माग गरेका अर्थमन्त्रीले आएका सुझावलाई कार्यान्वयन गर्ने कुरामा चासो नदेखाउँदा लगानीकर्तामा निराशा पैदा हुँदै गएको छ। अर्थमन्त्रीले बजार सुधारको काम गर्ने आशामा बसेका लगानीकर्ताहरुको धैर्यतको बाँध फुट्दै गएको छ। जसले गर्दा शेयर बजारमा बिक्री चाप बढ्न थालेको देखिन्छ। जसले गर्दा बजार पुनः ओरालो गतितर्फ लागिसकेको छ। उनी अर्थमन्त्री हुँदा २ हजार विन्दु माथि रहेको नेप्से सूचक मंगलबार २ हजार विन्दु तल झरिसकेको छ। पछिल्लो डेढ वर्षदेखि १८ सय र २२ सय विचको विन्दुमा बसिरहेको शेयर बजार फेरि न्युन विन्दुतिर नै जान थालेको महसुस लगानीकर्ताले गर्न थालिसकेका छन्।

अर्थ मन्त्रालयको कार्यभार सम्हालेसँगै लगानीकर्ताले गरेको परिक्षणमा यतिबेला अर्थमन्त्री पुन फेल हुँदै गएका छन्। बजार निरन्तर ओरालो लागेर लगानीकर्तामा चरम निराशा पैदा हुँदा पनि अर्थमन्त्रीले बजार सुधारको लागि कुनै चासो देखाएका छैनन्। अर्थन्त्रीले पूँजीबजार सुधारको लागि सकारात्मक नीति लिने अपेक्षा कुरेर बसेका लगानीकर्ता अब कुर्न नसकिने बताउन थालेका छन्। जसले गर्दा कतिपय लगानीकर्ता अहिले घाटामा नै शेयर बिक्री गरेर बाहिरिन थालेका छन्।

शेयर बजारप्रति सरकार निरीह बन्दा बजारमा अन्योल पैदा भएको लगानीकर्ता तारा फुल्लेल बताउछन्। "बजारमा निरन्तर गिरावट आउनु सरकारकै निकम्मापन हो। बजारप्रति सरकार निरीह देखियो।" उनले भने "अर्थमन्त्रीले बजार सुधारको लागि कुनै पनि काम नगर्दा लगानीकर्तामा निराशा पैदा भयो।"

राष्ट्र बैंकका गभर्नरले पनि कुनै नीतिगत संशोधन नगर्ने र अर्थ मन्त्रालयले समेत बजार सुधारमा कुनै काम नगर्दा बजार ओरालो लागेको उनले बताए। "एमाले पनि सरकारमा गएपछि राष्ट्र बैंक पनि लचक होला भन्ने अपेक्षा लगानीकर्ताको थियो। तर त्यो अनुसार नतिजा नआउँदा बजार सुधार हुन सकेन।" उनल भने ।

सरकार लगानी सम्मेलनको भब्य तयारीमा लागिरहेको बेला नेपालकै शेयर बजारमा भने चरम निराशा देखिइरहेको छ। कुनै पनि देशको शेयर बजारले त्यस देशमा रहेको लगानीको वातावरणलाई देखाउने बताइन्छ। शेयर बजार निरन्तर घट्दा लगानीको वातावरण राम्रो नरहेको सन्देश विदेशी लगानीकर्तामा पनि जाने छ।। तर पनि अर्थमन्त्री र नियामक निकायको ध्यान त्यसमा जान सकेकाे छैन। स्वदेशकै लगानीकर्तामा चरम निराशा पैदा भइसकेको बेला विदेशी लगानीकर्ताले के आशमा लगानी गर्न तयार हाेलान?

शेयर बजारका लगानीकर्ताका मुख्य मागहरु अहिले राष्ट्र बैंक तर्फ पनि छ। शेयर धितो कर्जाको सीमा हटाउने,जोखिम भार घटाउनु पर्ने,बैंकलाई शेयर बजारमा लगानी गर्न लचक नीति लिनुपर्ने लगायतका मागहरु लगानीकर्ताको छ ।यी मागहरु लगानीकर्ताले अर्थमन्त्री पुनलाई समेत बुझाइसकेका छन्। लगानीकर्ताको यी माग सम्बोधनको लागि अर्थमन्त्रीले राष्ट्र बैंकलाई समेत कन्भिन्स गराउन सक्नुपर्छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।