प्रभु इन्स्योरेन्सले कसरी पुर्याउला साढे २ अर्ब चुक्ता पुँजी ?

Apr 12, 2024 12:41 PM MeroLagani

प्रभु इन्स्योरेन्सले बीमा प्राधिकरणको हकप्रद शेयरको स्वीकृति बिनै साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले आगामी बैशाख २० गते कम्पनीकै केन्द्रीय कार्यालय तीनकुनेमा २८ औं साधारण सभा आयोजना गर्दैछ ।

प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आवको नाफाबाट ४ दशमलब ७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बोनस शेयर सूचीकरण पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले नपुग रकम नियामक निकायले दिएको निर्देशन बमोजिम हुने गरी हकप्रद शेयर वा अन्य कुनै विकल्प भए सोही बमोजिम बीमा प्राधिकरणको स्वीकृतिमा पुँजी वृद्धि गर्ने उल्लेख गरेकाे छ ।

प्रभु इन्स्योरेन्सले बोनस शेयर जारी गरेपछि हकप्रद शेयर वा अन्य कुनै विकल्पबाट चुक्ता पुँजी पुर्याउन नपुग रकम सूचनामा उल्लेख गरेको भएपनि प्राधिकरणबाट प्रभु इन्स्योरेन्सले हकप्रद शेयरको स्वीकृति पाएको छैन । नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले प्रभु इन्स्योरेन्सले बीमा प्राधिकरणबाट हकप्रद शेयर निष्काशनको लागि कुनै प्रकारको स्वीकृति नलिएको बताए ।

हकप्रद शेयरको स्वीकृति नलिए पनि प्रभुले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्विमा कम्पनीको १९ लाख ७९ हजार ४२४ कित्ता शेयर बिक्री गरिसकेको छ । कम्पनीले न्युनतम २ सय ८० रुपैयाँ भन्दा माथि पुनर्बीमा कम्पनीको सबै शेयर बिक्री गरेकाे हो ।

कम्पनीले यसअघि विदेशी भेन्चर क्यापिटल ल्याएर पुँजी पुर्याउने योजना बिमा प्राधिकरणमा पेश गरेको थियो । त्यो योजना तत्काललाई सफल हुन नसकेपछि कम्पनीको स्वामित्वमा रहेको जग्गा बेचेर पुँजी वृद्धि गर्ने योजना अगाडि सारियो। आर्थिक मन्दीका कारण जग्गा बिक्री हुन नसकेपछि प्रभुले पुनर्विमा कम्पनी र कुमारी बैंकको संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको थियो । नेपाल पुनर्विमा कम्पनीको संस्थापक शेयर बिक्री भइसकेपनि कुमारी बैंकको संस्थापक शेयर अझै बिक्री प्रक्रियामा रहेको छ ।

विदेशी भेञ्चर ल्याउने योजना अगाडि प्रभु इन्स्योरेन्सले प्राधिकरणले तोकेको पुँजी कायम गर्न अजोड इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सम्झौता गरेको थियो तर अजोडले प्रभुसँगको सम्झौता भंग गरी युनाइटेड इन्स्योरेन्ससँग मर्जर गरेर युनाइटेड अजोड इन्स्योरेन्सका नामबाट एकीकृत कारोबार गर्यो । त्यसपछि भने प्रभुले विदेशी भेञ्चर ल्याउने योजना ल्याएका थिए । योजना मात्र पेश गरेर सो अनुसार कार्य नभएपछि बिमा प्राधिकरणले बारम्बार कारवाही गर्ने सन्देश दिएका थिए । बिमा प्राधिकरणमा पेश गरे अनुसार विदेशी भेन्चर ल्याउन नसकेपछि भने प्रभु इन्स्योरेन्सले नेपाल पुनर्विमा कम्पनीमा रहेको शेयर बेचेर पुँजी पुर्याउने योजना बनाएको हो ।

बिमा प्राधिकरणले एकपटक पनि मर्जरमा नगएका कम्पनीलाई हकप्रद शेयर समेत जारी गर्न नदिने नीति लिएको थियो । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले विदेशी भेञ्चर ल्याउन नसकेपछि ६५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेर बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले कम्पनीको प्रस्ताव स्वीकृति नभएपछि हकप्रद शेयर, सम्पत्ति बिक्री वा अन्य उपयुक्त विकल्प सबै खुला राखेर पुँजी वृद्धि गर्ने प्रस्ताव गरेको कम्पनीले स्रोतले जनाएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।