चार लघुवित्तको शेयर कारोबार महिना दिनदेखि बन्द,१५ दिनभित्र खोल्नुपर्ने व्यवस्थाकाे बोर्डले नै उडायाे धज्जी

Apr 16, 2024 03:08 PM Merolagani

चार लघुवित्त कम्पनीको शेयर कारोबार पछिल्लो एक महिनाभन्दा बढी समयदेखि बन्द छ। मर्जरपश्चात एकीकृत कारोबार सुरु गरेपछि बन्द भएको शेयर कारोबार अझै खुल्न सकेको छैन।

विपिडब्लु र सामुदायिक लघुवित्तले गत फागुन २४ गतेदेखि एकीकृत कारोबार गरी २५ गतेदेखि नै १५ दिनको लागि शेयर कारोबार रोक्का गरिदिन नेप्सेमा पत्र पठाए। नेप्सेले सोही अनुसार कारोबार बन्द गर्यो। तर अहिले २६ कार्य दिन वित्दा समेत शेयर कारोबार खुल्न सकेको छैन।

यता मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तले फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरे। एकीकृत कारोबार सुरु भएपछि फागुन ३० गतेदेखि नै लघुवित्तको शेयर कारोबार बन्द भयो। यी लघुवित्तको पनि अहिलेसम्म दोस्रो बजारमा शेयर कारोबार खुल्न सकेको छैन।

धितोपत्र बाेर्डका तत्कालीन अध्यक्ष रमेश हमालले मर्जरमा गएका कम्पनीको लामो समयसम्म कारोबार रोक्का हुँदा शेयरधनी मर्कामा परेको भन्दै एकीकृत कारोबार सुरु भएको १५ दिनमात्रै शेयर कारोबार रोक्का हुने व्यवस्था गरे। मर्जरपश्चात कारोबार रोक्का भएको १५ दिनभित्रै नेप्सेमा कारोबार खुल्नुपर्ने व्यवस्था गरिएको थियो। तर १५ दिन होइन महिना दिन वित्दा पनि कारोबार भने खुल्न सकेको छैन।

धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका,२०७९ अनुसार एकीकृत कारोबार शुरु भएको दिनबाट १५ कार्यदिनसम्म कारोबार रोक्का राख्न पाउने व्यवस्था गरेको छ । निर्देशिकाले १५ कार्यदिनभित्रै शेयर कारोबार खुल्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि पनि धौलागिरी लघुवित्त र खप्तड लघुवित्त,आरएमडीसी लघुवित्त र साना किसान लघुवित्तबीच मर्जरपश्चात १५ दिनभन्दा बढी अवधि शेयर कारोबार रोक्का भएको थियो। यस्तै लक्ष्मी सनराइज बैंक, समिट माइक्रोफाइनान्ससँग मर्जर भएर एकीकृत कारोबार गरेको नेसनल माइक्रोफाइनान्स,नयाँ सारथीसँग मर्जर गरेर एकीकृत कारोबार गरेका विजय लघुवित्त,प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी इन्स्योरेन्स एकीकृत भएर बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्तलाई गाभेर एकीकृत कारोबार गरेको आशा लघुवित्तले समेत समयमा नै कारोबार खुल्ला गर्न सकेनन्। यसरी अधिकांश कम्पनीहरुले एकीकृत कारोबार पश्चात १५ कार्य दिन भन्दा बढी शेयर कारोबार बन्द गरिरहेका छन्। तर त्यसमा धितोपत्र बोर्डले कुनै कारवाही अगाडि बढाउन सकेको छैन।

धितोपत्र बोर्डले नियम बनाउने तर त्यसको कार्यान्वयनमा भने चासो नदेखाएको देखिन्छ।। नियम मात्रै बनाएर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यसको कुनै अर्थ रहँदैन।

धितोपत्र बोर्डका अधिकारीहरु कतिपय अवस्थामा प्रक्रियामा जाँदा जाँदै पनि ढिलाई हुन जाने बताइरहेका छन्। बोर्डले किन ढिलाई भयो भनेर कम्पनीसँग प्रश्न समेत सोध्न सकेको छैन। कुनै पनि कम्पनीले १५ दिनभित्र कारोबार खुल्ला गर्न नसक्ने अवस्था भए किन १५ दिनभित्रै कारोबार खुल्ला गर्नुपर्ने व्यवस्था गर्ने ? त्यसलाई संशोधन गर्नुपर्दैन ? निर्देशिकामा एउटा व्यवस्था गर्ने तर त्यसअनुसार काम हुन नसक्दा भने १५ दिनभित्रै कारोबार खुल्छ भनेर बसेका कम्पनीका शेयरधनीहरु मर्कामा परेका छन्।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।