मुख्यसचिव अर्यालसँग बयान लिने तयारीमा अख्तियार, सरकार र राजनीतिक पार्टीहरु भने मुख्य सचिवलाई जोगाउन प्रयासरत

Apr 16, 2024 06:38 PM Merolagani

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्बन्धी ठेक्का प्रकरणका प्रमुख आरोपी मुख्य सचिव डा. वैकुण्ठ अर्यालसँग बयान लिने तयारी गरिरहेको छ ।

सरकार र प्रमुख राजनीतिक पार्टीहरुबाट रहस्यमय रुपमा साथ पाइरहेका अर्याललाई बयान लिए पनि अख्तियारले कारवाही गर्ला कि नगर्ला भन्ने विषयमा भने विभिन्न आंशकाहरु उत्पन्न भएका छन् ।

यो प्रकरणमा संलग्न भएको आशंकामा अख्तियारले बैकुण्ठ अर्यालसहित ३० उच्च पदस्थ कर्मचारीसँग बयान लिन थालेको अख्तियार स्रोतले जानकारी दिएको छ । अर्याल संचार मन्त्रालयको सचिव हुँदा घटाइएको यो काण्डमा उनले घुस लिएर काम गरिदिएको आरोप लाग्दै आएको छ ।

केही दिन यता दैनिक ३/४ जना कर्मचारीसँग अलग अलग रुपमा बयान लिइरहेको छ र यो साताको अन्त्यसम्म मुख्य सचिव अर्यालसँग बयान लिएपछि बयानको क्रम सकिने अख्तियार स्रोतले जानकारी दिएको छ ।

अख्तियारले मुख्य सचिव अर्यालवाहेक टेलिकमका निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी,अर्थ मन्त्रालयका सहसचिवहरु भुपाल बराल र उत्तरकुमार खत्री, कानुन मन्त्रालयका तत्कालिन सहसचिव सुशील कोइराला,नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, कर्मचारी प्रतिनिधि शंकर लामिछानेसँग बयान लिने तयारी गरेको छ ।

कोइराला हाल उच्च अदालत बिराटनगरको धनकुटा इजलासमा न्यायाधीश छन् । टेलिकमका पूर्वप्रबन्ध निर्देशक डिल्लीराज अधिकारीसँग भने अख्तियारले केही दिन अगाडी बयान लिइसकेको छ ।

स्मरणरहोस् नेपाल टेलिकमले प्रतिस्पर्धा  बिना लगाएको बिलिङ प्रणाली मर्मत सम्भारको करिव ३ अर्ब २५ करोड रुपैयाँको ठेक्कामा निकै ठूलो आर्थिक घोटाला भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

गतवर्ष पुसमा भएको ठेक्का सम्झौताका अनुसार एसिया इन्फो नामक कम्पनीले वार्षिक करिव ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब २५ करोड रुपैयाँ भुक्तानी पाउने छ । त्यसमाथि सञ्चालक समितिले आवश्यक परेमा थप एक वर्ष त्यस्तो सम्झौता लम्ब्याउन सकिने सम्झौता गरिएको छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई यो प्रकरणमा तत्कालिन संचार सचिव तथा हालका मुख्य सचिव अर्यालको प्रत्यक्ष संलग्नता देखिएको हुँदा कारवाही गर्ने पक्षमा रहेको बताइएको छ ।

उनले केही समय अघि संसदीय समितिमा पनि त्यो काण्डको छानबिन अन्तिम चरणमा पुगेको जानकारी दिंदै छिट्टै परिणाम देखिने बताएका थिए । स्रोतका अनुसार राई जतिसक्दो छिटो यो प्रकरण टुंग्याउन चाहान्छन् र त्यसमा संलग्न कुनै पनि व्यक्तिमाथि कारबाही गरेर छोड्ने पक्षमा छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल मात्र होइन, एमाले, रास्वपा र नेपाली कांग्रेस लगायतका प्रमुख दलका नेताहरु भने अर्याललाई जोगाउने पक्षमा छन् । त्यहीकारण कुनै पनि पार्टीका उच्च पदस्त नेताहरुले यो प्रकरणको कुरालाई न संसद र संसदीय समितिमा, न त अन्य कुनै सार्वजनिक फोरमहरुमा नै प्रश्न उठाइरहेका छन् ।

गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा उच्च स्तरिय छानबिनको माग गर्दै संसद अवरुद्ध गरेको नेपाली कांग्रेसले पनि अर्याल विरुद्ध एक शब्द बोलेको छैन । प्रधानमन्त्री दाहाललगायका माओवादी नेताहरु त अर्याललाई जोगाउनको लागि यो अख्तियारलाई दबाब दिइरहेको विभिन्न संचारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् । त्यस्तै बैकल्पिक राजनीति गर्ने र भ्रष्टाचार विरुद्ध कडा कदम उठाउने घोषणा गर्दै आएको रास्वपा पनि मुख्य सचिव मुछिएको यो प्रकरणमा भने रहस्यमयरुपमा मौन रहेको छ । त्यसैले यो प्रकरणको छानबिनलाई अन्तिम चरणमा पुर्याएको अख्तियारले राजनीतिक दबाबमा परेर मुख्य सचिव अर्याललाई ‘क्लिन चिट’ दिने त होइन ? राजनीतिक र प्रशासनिक वृतमा आंशका छाएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।