ज्योति विकास बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

Apr 17, 2024 07:43 AM Merolagani

ज्योति विकास बैंक लिमिटेड (JBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ। फलस्वरुप बैंकको इम्पेरमेन्ट चार्ज ७१ करोडबाट बढेर ८३ करोड पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ८ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ।

४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ६३ अर्ब ४२ करोड निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।