बैंक व्याज घट्दै गएपछि संस्थागत निक्षेपकर्ताको आकर्षण ऋणपत्रमा, बढ्न थाल्यो ऋणपत्रको कारोबार

Apr 22, 2024 03:29 PM MeroLagani

बाबुकृष्ण महर्जन

बैंकहरुले निक्षेपमा दिने व्याज दर हरेक महिना घटाउँदै लगेपछि ऋणपत्रको प्रतिफल आकर्षक देखिन थालेको छ । तरलता अभावको समयमा मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म व्याज दिन थालेका बैंकहरुले बैकिङ प्रणालीमा तरलता थुप्रिदै गएपछि विस्तारै व्याज दर घटाउन थालेका छन् । बैंकबाट पाउने प्रतिफल घटेपछि लगानीकर्ताहरु ऋणपत्रतर्फ आकर्षित भए।


२० वाणिज्य बैंकमध्ये १३ वटा बैंकले वैशाखको लागि ब्याजदर घटाएका थिए । जसमा साधारण निक्षेप खाताको ब्याज ३ देखि ४ प्रतिशतमा झरेको छ । त्यस्तै व्यक्तिगत मुद्दती निक्षेपमा औसत ७.२५ प्रतिशत व्याज दिइरहेका बैकले बैशाखमा औसत ७ दशमलब ०७ प्रतिशत व्याज दर पुर्याएका छन् ।

बैंकको ब्याज घटेसंगै दोस्रो बजारमा ऋणपत्रमा आकर्षण देखिन थालेको हो । पछिल्लो केही कारोबार दिनदेखि ऋणपत्रको कारोबार बढ्न थालेको छ । साेमबार प्रभु बै‌क,  सिद्धार्थ बै‌ंक, एभरेष्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, कृषि विकास बै‌ंक, सा‌ग्रिला डेभलपमेन्ट बै‌क, हिमालयन बैंक, सानिमा बैंक, ग्लाेबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बै‌क, नेपाल एसबीआई बै‌ंक, नेपाल पूर्वाधार बैंक, प्रभु बै‌क, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बै‌ककाे ऋणपत्रकाे काराेबार भयाे । आइतबार पनि लक्ष्मी बैंकको साढे ८ प्रतिशत व्याज रहेको ‘एलबीएलडी८८’ ऋणपत्र अघिल्लो कारोबार भन्दा ५ प्रतिशतले बढेर ९८८ रुपैयाँमा अन्तिम कारोबार भयो । उक्त ऋणपत्र ७ कारोबारमा २ सय ८५ कित्ता कारोबार भएको छ । त्यस्तै साढे ९ प्रतिशत व्याज रहेको एनसीसी डिबेन्चर २०८६ नामक ऋणपत्र २.८२ प्रतिशतले बढेर १०२० मा कारोबार भयो । साढे ९ प्रतिशत नै व्याज दर रहेको मञ्जुश्री फाइनान्सको ‘एमएफएलडी८५’ २.७१ प्रतिशतले बढेर १०२५ रुपैयाँमा अन्तिम कारोबार भयो । त्यसैगरी एलबीएलडी८६ ऋणपत्र १०२५ रुपैयाँमा, एनबीएलडी८२ ऋणपत्र १०४० रुपैयाँमा, केएसबीबीएलडी८७ ऋणपत्र १०२० रुपैयाँमा कारोबार भएको छ । साधारणतया ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ रहेको हुन्छ भने बैंकहरुले तरलता अभावको समयमा निष्काशन गरेको हुँदा अधिकांश ऋणपत्रको व्याज दर ८ प्रतिशतभन्दा माथि नै रहेको छ । राष्ट्र बैंकले अनिवार्य लगानी गरेको ऊर्जा र कृषि ऋणपत्रको व्याज दर मात्रै अहिलेको बजारको व्याज दर भन्दा तल रहेको छ ।

बैंकहरुले व्यक्तिगत मुद्दतीमा औसत ७.०७ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा औसत ५.८७ प्रतिशत व्याज प्रदान गरिरहेको छ जबकी बैकहरुले जारी गरेको मुद्दती निक्षेपमा ८ देखि १२ प्रतिशतसम्मका व्याज दर सजिलै पाउन सकिने अवस्था छ । नेपाल राष्ट्र बंैंकले संस्थागत निक्षेपकर्तालाई सर्वसाधारणभन्दा १ प्रतिशत कम व्याज दर दिन निर्देशन दिएका कारण संस्थागत निक्षेपकर्ताको प्रतिफल झनै घट्ने गरेको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेना र नेपाल प्रहरीको कल्याणकारी कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थागतलगायत अधिकांश बीमा कम्पनीहरु वित्तीय बजारमा संस्थागत निक्षेपकर्ताको रुपमा चिनिन्छन् । यी संस्थाहरुले आफूसँग भएको पोर्टफोलियोको ठूलो अंश मुद्दती निक्षेपको रुपमा विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका छन् । बैकहरुले अहिले दिने व्याज दर महिनैपिच्छे घट्दै गएकाले यी संस्थाहरुले पछिल्लो समय ऋणपत्रहरुमा लगानी बढाएको एक बैंकको ट्रेजरी विभागमा कार्यरत कर्मचारीले मेरो लगानीलाई बताए । ‘प्रतिफलको हिसाबले अहिले बैंकको मुद्दती निक्षेप भन्दा विभिन्न बैंकहरुले जारी गरेको ऋणपत्रहरु प्रतिफलको हिसाबले एकदमै आकर्षक देखिएका छन् । त्यसकारण पछिल्लो समय ऋणपत्रमा ती सस्थाहरुले लगानी बढाएको देखिएको छ ।’–उनले भने । बैंकमा रकम राखेर आउने प्रतिफल घट्दै गएर ऋणपत्रबाट आउने निश्चित प्रतिफल बढी भएकोले ऋणपत्रमा आकर्षण देखिएको हो ।

नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका अनुसार लगानी विविधिकरण गरेर लगानी गर्नुपर्ने हुँदा सो निर्देशिकाको अधिनमा रहेर बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा राख्ने रकम कम गरेर ऋणपत्रमा समेत प्रतिफल गर्न सक्ने अवस्था आएको उनले बताए ।

ऋणपत्र भनेको के हो ?

ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्काशनमा सहजीकरण र प्रोत्साहन गरेपछि ऋणपत्र निष्काशन गर्ने बैंक तथा वित्तीय संस्थाको संख्या बढेको छ ।
अहिले नेपालमा निष्काशन भएका ऋणपत्र रिडिमेबल हुन् । अर्थात् निश्चित समयपछि कम्पनीले ऋणपत्रमा लगानी गरिएको सम्पूर्ण रकम फिर्ता गर्छ। कम्पनीले निश्चित समयको लागि (अहिले ५ देखि १० वर्षको ) भनेर ऋणपत्र निष्काशन गरेको हुन्छ र त्यसमा प्रदान गर्ने ब्याज पनि पहिले नै तोकेको हुन्छ । सो ऋणपत्रको अवधि भर लगानीकर्ताले पहिले नै तोकेको ब्याज प्राप्त गर्दछ ।

यो ऋणपत्र शेयरको दोस्रो बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पनि कारोबार हुन्छ । मूल्य बढेमा लगानीकर्ताले दोस्रो बजारमार्फत पनि नाफा लिन सक्छन् । ऋणपत्रको तोकिएको अवधि सकिएपछि कम्पनीले सम्पूर्ण सावाँ फिर्ता गर्ने गर्छ । यसो भएको हुँदा शेयरको तुलनामा ऋणपत्र कम जोखिमयुक्त मानिन्छ । अहिले नेपालको पुँजी बजारमा ७५ वटा ऋणपत्र (बन्ड समेत गरी) रहेका छन् जसमा ४२ वटाले १० वा सो भन्दा धेरै ब्याज प्रदान गर्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।