सार्वजनिक बिदामा प्रचण्ड सरकारकाे किर्तिमान,के नेपालका राष्ट्रपति कतार जाँदा बिदा होला त?

Apr 22, 2024 06:21 PM MeroLagani

बाबुकृष्ण महर्जन
पुष्पकमल दाहाल नेतृत्वकाे सरकार सार्वजनिक बिदा दिन किर्तिमान राख्दै छ  । विमान दुर्घटना हुँदा होस् वा विदेशी राष्ट्रको राष्ट्रप्रमुख नेपाल आउँदा बिदा घोषणा गरिहाल्ने प्रवृत्ति प्रधानमन्त्री दाहालमा देखिएको छ ।

कार्यक्रम तालिका अनुसार कतारका राजा शेख तामिम विन हमद अल थानी भोलि ५ बजेर ३५ मिनेटमा नेपालको विमानस्थल ओर्लिने छन् तर सरकारले मुलुकभरको लागि सार्वजनिक बिदा घोषणा गरिसकेको छ । विदेशी राष्ट्रको राष्ट्र प्रमुख आउँदा कडा सुरक्षा प्रबन्ध गरेर उचित सम्मान दिनु उचित हुने भए पनि प्रचण्ड सरकारले सार्वजनिक बिदा दिएर देशलाई नै ठप्प बनाएपछि सामाजिक सञ्जालमा विरोधका पोस्टहरु बर्षिन थालेका छन् । पञ्चायती व्यवस्थाकाे सबै खराबी हटाएकाे दावी गर्ने गणतान्त्रिक सरकारहरूले कुनै देशका राष्ट्रप्रमुख आउँदा  साेही व्यवस्थाले चलाएकाे सार्वजनिक बिदा दिने चलनलाइ किन अनुशरण गरेका हेालान् भन्ने सर्वसाधारणकाे प्रश्न छ।

चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवालले सार्वजनिक विदा घोषणाको व्यङ्ग्य गर्दै लेखेका छन् – ‘आफ्नो देशको राजालाई दरबारबाट लखेटेर अर्कोको देशको राजा आउँदा काम नपाएर बिदा दिँदैछन् । देश विकास कहिले हुने हो?’

सार्वजनिक बिदा दिँदा अहिले निजी क्षेत्रले सो अनुसार बिदा नदिए पनि बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरु सबै बन्द हुने गरेका छन। त्यसै त काममा चुस्त दुरुस्त नभएको सरकारी कार्यालयहरुबाट काम लिनुपर्ने सेवाग्राहीले बेला न कुबेलाको सार्वजनिक बिदाले झनै सास्ती व्यहोर्नु परेको छ ।

त्यस्तै अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता कुमार बेनले विदेशी राष्ट्र प्रमुख आउँदा नेपालले सार्वजनिक बिदा दिएजस्तै नेपालको राष्ट्रप्रमुख विदेश जाँदा बिदा हुने गरेको छ कि छैन भन्ने प्रश्न सहितको पोस्ट सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरे । नेपालका प्रधानमन्त्री एवम् राष्ट्रपति विदेश जाँदा सामान्य शिष्टाचार बाहेक अरु कुनै नहुने भए पनि नेपालका प्रधानमन्त्रीहरु भने सार्वजनिक बिदा नै घोषणा गरेर स्वागत गरेको स्वाङ रच्ने गरेका छन् । नेपालजस्ताे गरीब देशले दिनरात नभनी विकास निर्माणको कामलाई अगाडि बढाएर मुलुकका जनतालाई व्यस्त बनाएर जनताको आयस्तर उठाउन ध्यान दिनुपर्ने अर्थविद्हरु बताउँछन् । दक्षिण एसियाको सबैभन्दा गरीब देशको उपमा पाएको देशले बिदाको सवालमा भने नेपाल विश्वकै सबैभन्दा धेरै बिदा पाउने देशहरुमध्येको सूचीमा रहन थालेको छ ।

वरिष्ठ पत्रकार तीर्थ कोइरालाले ‘सार्वजनिक बिदाको दिन स्वागत गर्न सडकमा जाउँ कि ट्राफिक जाम नहोस् भनेर घरमा बसौं’ भन्दै फेसबुकमा लेखेका छन्–‘उपत्यका बाहिरका बासिन्दा ससुराली माइत मावल जाउँ र कतारको रियाल आइपुगेका घरमा मिठो मसिनो बनाएर खाउँ ।’ सरकारले सुरक्षा सयंन्त्रको कारण सार्वजनिक बिदा दिएको हो भने पनि कतारी राजा साढे पाँच बजे मात्रै एयरपोर्ट ओर्लिने कार्यक्रम रहेको छ । राजाको सवारी रहेको स्थानमा मात्रै कडाई गरेर राजधानीका अन्यत्र ठाउँ र उपत्यका बाहिर निर्वाध रुपमा सरकारी कामकाज खुला गर्दा पनि खासै असर नपर्ने सरोकारवालाहरु बताउँछन् ।

शनिबारबाहेक ३० दिन सार्वजनिक बिदा

नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै गृह मन्त्रालयले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ ।

२०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै मन्त्रालयले सो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले वर्षभरि हुने ५३ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ । ५ दिन सार्वजनिक बिदा शनिबार परेको हुँदा यसवर्ष सार्वजनिक बिदा ३० दिन मात्रै हुन पुगेको छ ।

आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ ।

भदौ ३ गते रक्षाबन्धन,भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिन पनि बिदा दिइएको छ । असोज ३ गते संंविधान दिवस, असोज १७ गते घटस्थापना, असोज २४ देखि असोज २८ गतेसम्म पाँच दिन दशैँ बिदा दिइएको छ । कात्तिक महिनामा १५ गतेदेखि १९ गतेसम्म तिहारमा पाँच दिन बिदा दिइएको छ भने २२ गते छठपर्वमा पनि बिदा छ । मङ्सिर ३० गते उधौली पर्व, योमरी पुन्हिको अवसरमा बिदा दिइएको छ । पुस १५ गते तमु ल्होसार र पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिइएको छ ।

माघी पर्वको अवसरमा माघ १ गते, सोनाम ल्होसारको अवसरमा माघ १७ गते बिदा हुनेछ । फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्री, फागुन १६ गते शेर्पाको ग्याल्पो ल्होसार, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसमा पनि बिदा दिइएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) र बकर ईद (इद उल उजाह) का दिन पनि दुई दिन सार्वजनिक बिदा हुने राजपत्रमा उल्लेख छ ।

यस्तै, फागुपूर्णिमामा हिमाली र पहाडी ५६ जिल्लामा फागुन २९ गते र तराईका जिल्लामा चैत्त १ गते बिदा दिइएको छ ।

कुन देशमा कति दिन सार्वजनिक बिदा

विश्वमा सबैभन्दा धेरै विदा दिने देशमा नेपाल छ । नेपाल वार्षिक ३५ दिन विदा दिने गरेको छ । दोस्रोमा म्यानमार वार्षिक ३२ दिन विदा दिने गरेको छ । त्यस्तै, इरान २६, श्रीलंका २५, बंगलादेश, २२, इजिप्ट २२, कम्बोडिया २१, भारत २१, अर्जेन्टिना १९, लेबनान १९, कोलम्बिया १८, फिलिपिन्स १८, आइसल्याण्ड १६ दिन वार्षिक विदा दिने गरेका देशहरु हुन ।

त्यस्तै, इन्डोनेसिया १६,जापान १६, पाकिस्तान १६, काजाकिस्तान १६, थाइल्याण्ड १६, अस्ट्रिया १४, चिली १४, डेनमार्क १४, नर्वे १४, दक्षिण कोरिया १४, टर्की १४, भेनेजुएला १४, चेकिया १३, फिनल्याण्ड १३, पोल्याण्ड १३, स्पेन १३, इटाली १२,स्विडेन १२, युक्रेन १२, चीन ११, फ्रान्स ११, नेदरल्याण्ड्समा ११ दिन वार्षिक सरकारी विदा दिने गरेको तथ्यांक विश्व तथ्यांकले सार्वजनिक गरेको छ ।

त्यस्तै, रूस ११, दक्षिण अफ्रिका ११, संयुक्त राज्य अमेरिका ११, अष्ट्रेलिया १०-१३, जर्मनी १०-१३,क्यानाडा १०-१३, बेल्जियम १०, इस्टोनिया १०, आयरल्याण्ड १०, ब्राजिल ९-१२, ताइवान ९, मेक्सिको ८ दिन त्यहाको सरकारले वार्षिक विदा दिने गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।