सुनको मुल्य अस्थिर, मध्यपूर्व क्षेत्रमा द्वन्द्व चर्कन सक्ने प्रक्षेपण सँगै मुल्य पुनः उकालो यात्रामा

Apr 27, 2024 11:06 AM Merolagani

उच्चस्तरमा पुगेकाे सुनकाे भाउमा यो साता अस्थिरता देखिएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेकाे सुनकाे भाउमा हाल भने उतारचढाव देखिएकाे छ । 

साताका अधिकांश दिन घटेको सुनकाे मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार भने अघिल्ला दिनहरुको तुलनामा पुनः बढेको छ । मध्यपूर्वी देशहरुमा द्वन्द्व चर्कन सक्ने संभावना बढ्दै जाँदा सुनको मुल्यमा चाप परेकोले मुल्यले आगामी दिनमा पुनः रेकर्ड कायम गर्न सक्ने बिश्लेषण बिश्लेषकहरुले गरेका छन्।

सुनको मूल्य मार्च १ देखि अप्रिल १२ सम्ममा ४०० डलरले बढ्यो । मध्य पूर्वमा बढिरहेकाे तनावका कारण सुन हालसम्मकै उच्च विन्दुमा पुगेकाे छ । विश्लेषकहरूका अनुसार इजरायल र इरानबीचकाे युद्धले सुनकाे मूल्यमा अस्थिरता देखिइरहेकाे छ ।

यसैगरी, केन्द्रीय बैंकहरुद्वारा रेकर्ड खरिद, बढ्दाे मुद्रास्फीतिको चिन्ता, अमेरिकी सरकारद्वारा ऋण वृद्धि र लगातार फिएट कटाैतीका कारण सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएकाे विश्लेषण गरिएकाे छ ।

विश्व बजारमा शुक्रबार सुन प्रतिअउन्स २ हजार ३४३ डलरमा काराेबार भएकाे छ । चाँदी प्रतिअउन्स २७ डलरमा खरिदबिक्री हुँदैछ ।

साताभरमा सुन ताेलामा २ हजार बढिले घट्याे

विश्व बजारकै प्रभाव स्वरूप नेपाली बजारमा पनि यो साता सुनको मुल्य अस्थिर रह्यो । उच्च विन्दुमा पुगेकाे सुनकाे भाउ यस साता घटेकाे छ । साताकाे पहिलाे दिन, सर्वाधिक महंगाे रहेकाे सुन साताभरमा भने ताेलामै २ हजार १०० रूपैयाँले सस्तिएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतिताेला एक लाख ३९ हजार ३०० रूपैयाँकाे रेकर्डस्तरमा कायम रहेकाे थियाे । त्यसपछि, दोस्रो दिन साेमबार प्रतिताेला एक लाख ३८ हजार २०० रूपैयाँमा झरेकाे थियाे ।  मंगलबार ह्वात्तै घटेर सुन ताेलाकै एक लाख ३५ हजार ५०० रूपैयाँमा झरेकाे थियाे  । तर बुधबार भने सुनकाे भाउ सामान्य बढेर प्रतिताेला एक लाख ३६ हजार रूपैयाँ पुग्याे। त्यस्तै, बिहिबार केही घटेर एक लाख ३५ हजार ८०० रूपैयाँमा खरिदबिक्री भयाे ।

तर अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै साताको पछिल्लो दिन सुनकाे भाउ पुनः बढ्याे । शुक्रबार भने सुनकाे भाउ फेरी बढेर प्रतिताेला एक लाख ३७ हजार २०० रूपैयाँ पुग्याे । यसरी साताको पहिलो दिनको तुलनामा साताकाे दिनसम्म सुन ताेलामा २ हजार १०० रूपैयाँले घटेकाे हाे ।

गत साताकाे अन्तिम काराेबार दिन, सुनकाे भाउले ऐतिहासिक रेकर्ड कायम गरेकाे थियाे । अघिल्लाे शुक्रबार सुन ताेलाकै एक लाख ३९ हजार ३०० रूपैयाँकाे उचाइमा पुगेकाे थियाे ।

चाँदीकाे मूल्य पनि याे साता घट्याे

यो साता नेपाली बजारमा चाँदीको मुल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन आइतबार प्रतिताेला एक हजार ७४० रुपैयाँ ताेकिएकाे थियाे । त्यसपछि, चाँदीकाे मूल्य लगातार दुई दिन गिरावट भएकाे थियाे । तर बुधबार भने चाँदी प्रतिताेला एक हजार ६७० रूपैयाँमा काराेबार भएकाे थियाे । बिहीबार चाँदीकाे मूल्य सस्तिएर प्रतिताेला एक हजार ६५५ रूपैयाँमा खरिदबिक्री भएकाे थियाे । तर शुक्रबार भने फेरि चाँदीकाे मूल्य महंगिदा एक ताेलाकै एक हजार ६७५ रुपैयाँ कायम भयो ।

 
comments powered by Disqus