बजेटलाई टार्गेट गर्दै शेयर किन्न सुरु, घटेको मौका छोप्दै लगानीकर्ता

May 08, 2024 01:56 PM merolagani

सुवास निरौला

बजेटलाई टार्गेट गर्दै दोस्रो बजारमा शेयर किन्ने क्रम सुरु भएको छ। शेयर बजार घटेको मौका छोप्दै लगानीकर्ताले बजेटलाई टार्गेट गर्दै शेयर किन्न थालेका हुन्।

‘अहिले जति पनि लगानीकर्ताले शेयर किनिरहेका छन् उनीहरूले बजेटलाई टार्गेट गर्दै शेयर किनिरहेका छन्। अझै यति बेला शेयर बजार घटेको मौका बायरले छोपिहेरेका छन्’ एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।

ती ब्रोकर कम्पनीका सञ्चालकका अनुसार शेयर बजारमा सिजनल शेयर खरिद बिक्री गर्ने लगानीकर्ता हुने गर्छन्। जसले वर्षमा दुई पटक शेयर बजारमा खरिद आदेश बढाउने गर्छन्। सिजनल वायर बजेट पूर्व शेयर बजार प्रवेश गर्छन्। बजेट पूर्व प्रवेश गरेका लगानीकर्ता मौद्रिक नीति पछि बाहिरिने गर्छन्। मौद्रिक नीति पछि बाहिरिएका लगानीकर्ता फेरि दसैँ तिहार र छठ पर्व पछि शेयर बजार प्रवेश गर्छन्। छठ पर्व पछि बजार पसेका लगानीकर्ता फागुनको अन्तिमसम्म निस्किसक्छन्। वर्षमा यही दुई पटक शेयर बजारमा राम्रो पैसा खन्याउँछन्। अहिले बजेट आउन धेरै समय छैन। दुई साता पछि बजेट सार्वजनिक हुन्छ। किनकि नेपालको संविधानमा नै जेठ १५ गते बजेट ल्याउनु पर्ने मिति किटान गरिएको छ। जसको कारण सरकारले जेठ १५ गते नै बजेट सार्वजनिक गर्दै आएको छ।

बजेट अघि शेयर बजारमा लगानीकर्ता प्रवेश गरेसँगै शेयर सूचक पनि माथिल्लो बिन्दु तर्फ जाने गर्छ। गत वर्षहरूका तथ्याङ्कले पनि सो कुरा प्रमाणित गर्छन्। गत वर्ष पनि बजेट अघि लगानीकर्ता शेयर बजार प्रवेश गरेका थिए। जसका कारण शेयर बजार समेत बढेको थियो। गत वर्ष जेठ एक गतेदेखि शेयर बजार बढ्न सुरु गरेको थियो। वैशाखको अन्तिमसम्म १८१८.३१ बिन्दुमा रहेको सूचक जेठ लागे सँगै बढ्न सुरु गरेको थियो। त्यसपछि बजार एकै पटक मौद्रिक नीति आए पश्चात्  साउनपछि मात्रै घटेको थियो। गत वर्ष जेठदेखि बढेको बजार २२२७ अंकसम्म उक्लिएर घट्न सुरु गरेको थियो। यसरी जेठमा बढ्न सुरु गरेर साउन अन्तिम पछि घट्न सुरु हुने क्रम गत वर्ष मात्रै देखिएको होइन, त्यस भन्दा अघिल्ला वर्षहरूमा पनि बजारले त्यस्तै प्रदर्शन गरेको तथ्याङ्कमा देखिन्छ।

सोही कारण लगानीकर्ताले अहिले बजेटलाई टार्गेट गर्दै शेयर किन्न थालेका हुन्। अहिले किनेको शेयर मौद्रिक नीति सार्वजनिक हुनु भन्दा अघिसम्म वा केहीले मौद्रिक नीति पश्चात् बिक्री गर्ने गरेका छन्। किनकि लगानीकर्तामा बजेटमा शेयर बजारको विषयमा केही सम्बोधन हुन्छ भन्ने अपेक्षा गर्दै शेयर किन्ने क्रम बढ्ने गर्छ। बजेटले शेयर बजारको विषयमा सम्बोधन नगरे लगानीकर्ता पुन मौद्रिक नीति प्रति अपेक्षा राख्न सुरु गर्छन्। मौद्रिक नीतिमा शेयर बजार सम्बन्धमा राम्रो सम्बोधन भए शेयर बजारको बढ्दो लयले निरन्तरता पाउने गर्छ। बजेट अघि नै शेयर किनेका लगानीकर्ताले शेयर होल्ड नै गरी राख्छन्। तर नीतिले शेयर बजारलाई थप कसेमा लगानीकर्ताले शेयर बिक्री गर्न थाल्छन्। जसले गर्दा माग भन्दा बढी आपूर्ति हुन थालेपछि बिस्तारै सूचक तल झर्न सुरु गर्छ। जेठमा शेयर बजार पसेका लगानीकर्ता मौद्रिक नीति पछि बाहिरिन थाल्छन्।

यस पटकको बजेटमा लगानीकर्ताले निकै अपेक्षा गरेका छन्। किनकि अहिलेका अर्थमन्त्रीले आफू अर्थमन्त्री भए लगत्तै पूँजी बजार सुधारको लागि भन्दै सरोकारवाला निकायसँग सुझाव मागेका थिए। सात दिन भित्रै सुझाव दिन भने अनुसार नै नेपाल धितोपत्र बोर्ड(सेबोन),नेपाल स्टक एक्सचेन्ज(नेप्से) र केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)ले संयुक्त रुपमा सुझाव दिइसकेका छन्। ती सुझावलाई बजेटमा समावेश गरिने लगानीकर्ताले अपेक्षा गरिरहेका छन्। जसले गर्दा पनि यति बेला बजेटलाई टार्गेट गर्दै शेयर किन्ने क्रम देखिएको बताइएको छ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।