नेपाल बैंकले लगानीकर्तालाई लाभांश कहिले बाड्छ ?

Dec 14, 2014 Mero Lagani



नेपालको सबैभन्दा जेठो नेपाल बैंक(NBL)ले डेढ दशकपछि आईतबार बिशेष साधारणसभा आयोजना गर्यो ।

नेपाल राष्ट्र बैंकले पठाएको ब्यवस्थापन समितिले आयोजना गरेको विशेष साधारणसभामा बोल्ने उद्दवप्रसाद घिमिरेलगायतका धेरै लगानीकर्ताहरुले सोधे– हाम्रो बैंकले लाभांश चाँही कहिले बाड्छ ? 

साधारणसभामा बैंकको प्रतिबेदन प्रस्तुत गर्दै ब्यवस्थापन समितिका संयोजक प्रा. डा. देबराज अधिकारीले बैंकमा उल्लेखनीय सुधार भए पनि अझै जगेडा कोष २ अर्ब रुपैयाँले ऋणात्मक रहेकाले लाभांश वितरणको अबस्थामा पुग्न समय लाग्ने बताउनुभयो । खराब कर्जाले थलिएर झण्डै विघटनको डिलमा पुगेको बैंकलाई सुरुमा विश्व बैंक र त्यसपछि नेपाल राष्ट्र बैंकले पठाएको आफु नेतृत्वको ब्यवस्थापन समितिले सुधार गरी स्वस्थ बनाएको दाबी उहाँले गर्नुभयो । बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड पुगेको अधिकारीले जानकारी दिनुभयो ।

बैंकले गत आर्थिक बर्षमा २६ करोड खुद नाफा गरेको छ भने खराब कर्जाको अनुपातलाई ४.७८ प्रतिशतमा झारेको छ । बैंकको पूँजी कोष ११ प्रतिशत भन्दा माथि हुनुपर्नेमा त्यो ५.२८ मात्र छ ।


बैंक संचालक समितिमा सर्वसाधारणतर्फबाट प्रतिनिधित्व गर्ने दुई संचालकमा चर्चित लगानीकर्ता निर्मल प्रधानका छोरा निश्चल प्रधान र अर्का शेयरधनी सुरेन्द्रबहादुर सिंह निर्बिरोध हुनुभएको जनाईएको छ । नेपाल बैंकमा सर्वसाधारणको ३८ र सरकारको ६२ प्रतिशत स्वामित्व रहेकाले बहुसंख्य संचालकहरु भने सरकारले नै मनोनीत गर्नेछ ।


नयाँ संचालक समितिले बैंक सुधारको क्रम अझै तीब्र पारेमा कम्तिमा दुई बर्षपछि मात्र लगानीकर्ताले केही लाभांश पाउनसक्ने छन् । त्यो पनि सरकारले पठाउने संचालकहरुको कार्यकुशलता र नियतमा भरपर्नेछ । बैंकको जगेडा कोषलाई धनात्मक बनाउन बैंकले सम्पति २ अर्बको बिक्री र डिबेन्चर जारी गर्ने योजना बनाएको छ । बैंक भित्रको जटिलताले बिदेशी रणनीतिक साझेदार आउने वाताबरण भने तत्काल बन्ने देखिएको छैन ।


बैंकका हाल १ सय २० र २ हजार ६ सय १३ जना कर्मचारीहरु कार्यरत रहेका छन् । उनीहरु मध्ये आधाले आगामी २ बर्ष भित्रै अनिबार्य अबकाश पाउने हुँदा उनीहरुको निबृत्तिभरण र उपदानलगायतका सुविधामा पनि धेरै रकम बैंकले खर्च गर्नुपर्ने अबस्था रहेको छ । अर्कोतर्फ बैंकले आफुलाई आधुनिकीकरण गर्न कोर बैंकिङ सिष्टम(सीबीएस) प्रणाली लागु गर्ने सोच बनाएकाले त्यसका लागि नयाँ कर्मचारी भर्ना, तालिमसहितका ठूलो आर्थिक भार बोक्नुपर्नेछ ।

राष्ट्र बैंक भन्छः

राष्ट्र बैंकका प्रबक्ता मनमोहन कुमार श्रेष्ठले २०५८ सालदेखि पूर्ण रुपमा संचालक समितिमा रहेको आफ्नो हस्तक्षेप आईतबारबाटै समाप्त भएको जनाउनु भएको छ । उहाँले संचालक समितिमा सर्वसाधारणका तर्फबाट दुई संचालक चुनिए पछि अब राष्ट्र बैंकले पनि चार जना संचालक चाडै पठाउने बताउनुभयो । नयाँ प्रमुख कार्यकारी चयन नभएसम्म हालका मुख्य ब्यवस्थापक महेश्वरलाल श्रेष्ठ भने कायमै रहने पनि उहाँले  बताउनुभयो ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।