ब्यवस्थापन समितिका अनुसार हिमालयन क्यापिटल मार्केट एण्ड ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेडबाट ७ करोड ४५ लाख, नेपाल पावर
डेभ्लपमेन्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडबाट ३ करोड ५६ लाख, डीएनएस ईन्भेष्टमेन्टबाट १२ करोड १६ लाख, कुमारी बिल्डर्स एण्ड डेभ्लपमेन्ट कम्पनीबाट ५ करोड ४१ लाख र सांग्रिला हाउजिङ डेभ्लपमेन्टबाट ७ करोड १ लाख रुपैयाँ असुल उपर प्रक्रिया संचालन गरिएको छ । यस मध्ये डीएनएस ईन्भेष्टमेन्ट र कुमारी विल्डर्स एण्ड हाउजिङबाट मात्र रकम प्राप्त हुने क्रममा रहेको र अन्यबाट असुल उपर गरिसकिएको जनाईएको छ । यी कम्पनीहरुका संचालकहरुको नाम भने उल्लेख गरिएको छैन् तर पर्दा पछाडि बसेर अधिकांश ऋण उपभोग गर्नेहरु एनबी समूहकै श्रेष्ठ दाजुभाई रहेको बुझिएको छ ।
ब्यवस्थापन समितिका अनुसार ड्यु डिलिजेन्स रिपोर्ट ( डीडीए) मा उल्लेखित बिबरण अनुसार ऋण असुलीपछिको अबस्थामा एनसीसी बैंक स्वस्थ भई आम्दानी बढाउन सक्षम रहेको छ । बैंकको पूजी कोष ११.६२ प्रतिशत पुगेको छ भने निस्क्रिय कर्जा अनुपात २.७५ मा झरेको छ । त्यस्तै प्रति शेयर सम्पतिको मूल्य १५४ रुपैयाँ छ ।
गत आर्थिक बर्षमा ५४ करोड खुद नाफा गरेको बैंकले जगेडा कोषसमेत उपयोग गरी ३७ प्रतिशत बोनस शेयर प्रस्ताव गरेपछि चुक्ता पूँजी २ अर्ब २ करोड पुगेको छ भने निक्षेप २२ अर्ब २५ करोड र कर्जा प्रबाह १७ अर्ब २६ करोड छ । त्यसैगरी बैंकको तरलता पर्याप्त रहेको जनाईएको छ ।
राष्ट्र बैंकको नियन्त्रणमा रहेको यस बैंकको बार्षिक साधारणसभा कहिले हुने र सर्वसाधारण शेयरधनीलाई बैंक हस्तान्तरण गर्ने बारेमा भने केही बताईएको छैन ।