ब्रोकर नं ३३ दक्षिणकाली ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज मार्फत नेपाल बैंकको ठूलो कित्ताको शेयर खरिद बिक्री
भएको हो । यस बारेमा ३३ नम्बर ब्रोकर कम्पनीका संचालक दिनेशराज सापकोटासँग सम्पर्क गर्दा उनले बिक्रेता र खरिदकर्ताबारे जानकारी दिन नमिल्ने बताए । स्रोतका अनुसार व्यवसायी रबिभक्त श्रेष्ठले सो शेयर बेचेका हुन् भने धेरै जसो शेयर सोही ब्रोकरले म्याचिङ गरेर खरिद गरिएको छ ।
यस दिन ५ लाख ७२ हजार कित्ता नेपाल बैंकका शेयर खरिद बिक्री भएका छन् । नेपाल बैंकको ठूलो कित्ता शेयर कारोबार भएपछि यसको मूल्य पनि घटेर अन्त्यमा ३४५ रुपैयाँ कायम रह्यो । समग्र कारोबार ३६ करोड ५० लाखमा नेपाल बैंकको योगदान १९ करोड २२ लाख रुपैयाँ रह्यो । हालै विशेष साधारणसभा सकेको नेपाल बैंकको यति धेरै संख्यामा शेयर किनबेच हुनुलाई अर्थपूर्ण मानिएको छ ।
बुधवार सुरुमा कारोबार सुस्त भए पनि नेपाल बैंकको ठूलो कित्ताहरुको कारोबार हुन थालेपछि वीच समयपछि नेप्सेमा चहल पहल बढेको थियो । परिसुचक ५ अंकले घटेर नेप्से ९०२ मा झरे पनि कालिका माईक्रो फाईनान्स, सेती फाईनान्स, राष्ट्रिय बीमा संस्थानसहित केही लघुवित्तहरुको शेयर मूल्य झण्डै दश प्रतिशतले बढे । त्यस्तै यति बिकास बैंक र एभरेष्ट ईन्स्योरेन्सलगायतका कम्पनीहरुको शेयर मूल्य घटेको छ । नेपाल एसबीआई बैंकको साधारणसभाको पूर्व सन्ध्यामा शेयरधनी दर्ता किताव बन्द हुनुअघि ठूलो कारोबार भएको छ ।
शेयर बजारमा राजनीतिक अन्योलको प्रभाव कायमै रहेको देखिएको छ ।