बैंक र फाईनान्सहरु पछि बित्तीय सहकारीमा पनि त्यस्तै समस्या देखिएपछि अहिले शहरी क्षेत्रमा दर्ता प्रक्रिया नै बन्द छ । अब यो रोग लघुवित्त क्षेत्रमा सर्ने संभावना बढेको छ ।
नयाँ संचालनका लागि आबेदन
राष्ट्र बैंकले एकातिर आफुसँग स्वीकृति लिएर संचालनमा रहेका गैरसरकारी संस्थाहरुलाई २०७२ असारसम्ममा लघुवित्त बिकास बैंकमा परिवर्तन हुन अल्टिमेटम दिएको छ भने अर्कोतर्फ लघुवित्त बिकास बैंक खोल्न आबेदन दिनेको ओईरो लागेको छ । राष्ट्र बैंक स्रोतका अनुसार लघुवित्त बिकास बैंक स्थापनाका लागि हालसम्म ४३ वटा आबेदन परेको छ । यसमा २३ वटा गैरसरकारी संस्थाले लघुवित्त विकास बैंकमा रुपान्तरण हुन आवेदन दिएका हुन् भने २० वटाले नयाँ स्थापनाका लागि निवेदन दिएका हुन् । त्यसमध्ये ५ वटालाई लघुवित्त विकास बैंकको काम गर्न अनुमति दिने अन्तिम तयारीमा राष्ट्र बैंक पुगेको छ ।
राष्ट्र बैंकको स्वीकृतिमा हाल बित्तीय कारोबार सञ्चालन गरिरहेका २८ वटा एनजीओहरुमध्ये २६ वटा यसतर्फ ईच्छुक रहेको राष्ट्र बैंकका प्रबक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिए । थिङगो अबधारण अन्र्तगत सर्वसाधरणलाई सेयर दिने गरी गैरसरकारी संस्थाहरुलाई घ वर्गको विकास बैंकको रुपमा स्तरन्नोती गर्न लागिएको हो । घ वर्गमा स्तरन्नोती भपछि तीन वर्ष भित्रमा उनीहरुले सर्वसाधरणमा सेयर जारी गरिसक्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।
सर्वसाधरणका नाममा ४९ र संस्थागत ५१ प्रतिशत सेयर जारी गर्नुपर्ने छ । संस्थाका तर्फबाट भने एउटैले २५ प्रतिशत भन्दा बढी सेयर हाल्न पाईने छैन । थिङ्गो अवधारणालाई अटेर गर्ने लघुवित्त कम्पनीहरुले स्वत असार मसान्त पछि खारेज हुने व्यवस्था गरिएको छ ।
किन बढ्यो लघुबित्तको आकर्शण ?
राष्ट्र बैंकले लघुवित्त बैंक स्थापनाका लागि खासै पुर्वाधार नहेर्ने, १ करोड चुक्ता पूँजी भएपछि स्वीकृति दिने र ‘घ’ वर्गमा पर्ने लघुवित्त विकास बैंकले पनि अन्य वर्गजस्तै बैंकिङ कारोबार गर्न पाउने लगायतका कुराहरु यसका आकषर्ण हुन् । बचत लिने, ऋण दिने कारोबारसहित लघुवित्तले अन्य वर्गका वित्तीय संस्था र विदेशी संघ–संस्थाबाट ऋण लिन पाउँछन् । गरिबी निवारणको माध्यम मानिएका लघुवित्त बिकास बैंकहरुले न्यून आय भएकालाई बिनाधितो कर्जा उपलब्ध गराउने भनिए पनि चर्को ब्याज असुल्ने गरेकाले सर्वसाधारणबाट गुनासो समेत आउन थालिसकेको छ । तर, लघुवित्त बिकास बैंकहरुको कमाई राम्रो भई बोनस र हकप्रद शेयर जारी गर्ने क्रम तीब्र भईरहेकोले धितोपत्रको दोस्रो बजारमा यसप्रति आकर्षण बढिरहेको छ । थोरै शेयर पूँजी भएकाले दोस्रो बजारमा कम शेयर बिक्रीमा आउने र माग बढी हुने अबस्थामा लघुवित्तहरुको शेयर मूल्य आकाशिएको छ ।
सबैले स्वीकृति पाउन गाह्रो
राष्ट्रियस्तरको लघुवित्तका लागि १० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने प्रावधान छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार देशभर संचालनमा रहेका ३७ वटा लघुवित्त विकास बैंकका १५ लाख ४२ हजार सदस्य छन् । स्वावलम्बन, निर्धन उत्थान, साना किसान, आरएमडीसीलगायतका केहीले राष्ट्रियस्तरको कार्यक्षेत्र बनाएर लघुवित्तको कारोबार गरिरहेका छन् भने अन्य क्षेत्रीय र जिल्लास्तरमा केन्द्रित छन् ।
विकृति आउने संभावनालाई ख्याल गर्दै राष्ट्र बैंकमा आवेदन आईरहे पनि संचालन स्वीकृति दिने काममा भने कडाई हुन थालेको छ । विगतमा बैंक, फाईनान्स र सहकारी स्थापना हुने क्रम बढेर बिकृति आएको घटनाबाट पाठ सिकेर लघुवित्तमा त्यसको पुनराबृत्ति नहोस् भन्नेतर्फ आफुहरु सचेत रहेको प्रबक्ता श्रेष्ठको भनाई छ । उनी भन्छन– आबेदन आईरहेका छन्, कतिपयले प्रक्रिया पूरा गरे पनि तत्कालै लाईसेन्स पाइहाल्ने अवस्था छैन ।