साताको अन्तिम दिन धेरै प्रतिशतले शेयर मूल्य बढ्ने कम्पनीहरुमा हिमालयन डिष्टीलरी, टुरिजम बिकास बैंक, नागबेली लगायतका लघुवित्त कम्पनीहरु नै रहे । कारोबार रकममा भने अघिल्लो दिन जस्तै प्रभु बैंकले नै अग्रता हासिल गर्यो । प्रभुको ४ करोड रुपैयाँ बराबरको प्रोमोटर शेयर र एक करोड ४३ लाख रुपैयाँ बराबरको साधारण शेयर खरिद बिक्री भयो । त्यसैगरी युनिक फाईनान्स र सिटी बिकास बैंकका शेयर मूल्य धेरै प्रतिशतले घटे । बिहीबार होटल र बीमा समूहले नेप्सेलाई ठूलो टेवा दिएको देखिएको छ ।
राजनीतिक वातावरणमा आधारभुत परिवर्तन नभएको र आर्थिक स्थिति यथावत रहेको अबस्थामा शेयर बजार उकालो लाग्नुलाई चासोका साथ हेरिएको छ । नयाँ संविधान लेखनमा दलहरुबीच सहमति हुने अपेक्षा गर्दै लगानीकर्ताहरुले बुधबार र बिहीबार शेयर उठाएको बुझ्न सकिन्छ । बुधबार नेप्से ७ अंकले बढ्नुका साथै साढे २५ करोडको शेयर किनबेच भएको थियो ।
बिहीबार दिउँसो दलहरुबीचको कुराकानी नमिलेको र फेरि संबिधानसभाको सम्बाद समितिमा बिबादित विषयहरुलाई पठाउने निर्णय भएको खवर आएपछि लगानीकर्ताहरु पछि हटेका थिए । सहमतिको आशामा ९३५ नाघेको नेप्से बिबादको गुजुल्टो फेरि सम्बाद समितिमै फर्किएको खबरको प्रभावले ९३०.९७ मा फर्किएर बन्द भयो ।यसलाई पूँजी बजारमा राजनीतिक अबस्थाको असरको रुपमा बुझ्न सकिन्छ । तर यसले शेयर बजारका लगानीकर्ताहरु राजनीतिक सहमतिको खबर पर्खेर बसेका छन् भन्ने कुरा प्रष्ट गरेको छ । पछिल्ला दिनहरुमा कारोबार रकम र नेप्सेमा भएको बृद्दिले सहमतिको संदेशले पूँजी बजारमा उछाल आउनसक्ने संभावनालाई पनि जगाईदिएको छ ।