
सीडीएससीले गत कार्तिक २ गतेदेखि अभौतिक शेयरको मात्र कारोबार हुने भन्दै असोज २० गतेसम्म बाणिज्य बैंकहरुलाई शेयर डिम्याटका लागि सम्झौता गर्न उर्दी जारी गरेकोमा पछि तयारी नपुगेको र लगानीकर्तालाई प्रतिकुल असर पर्ने भन्दै आफैले त्यसलाई निप्रभावी बनाएको थियो । त्यसपछि माघ २ को म्याद तोक्दै सीडीएससीले अभौतिक शेयर कारोबार र राफसाफ गर्ने चरणबद्द कार्यतालिका सार्वजनिक गरेको थियो ।
सीडीएससीले जारी गरेको सूचनामा डिम्याट शेयर कारोबारमा प्रयोग भएको सफ्टवेयरको क्षमता परीक्षण र कारोबार प्रणालीको सुनिश्चितता हुन बांकी रहेको अबस्थामा माघ २ गतेदेखि पूर्ण डिम्याट कारोबार नहुने स्पष्ट गरिएको छ । साथै, सीडएिससीले नेपाल धितोपत्र बोर्डबाट सीडीएसको ब्यवहारिक कार्ययोजना र कम्प्युटरकृत प्रणालीको आबश्यक परीक्षण पश्चातको सुनिश्चितता गरी यथाशक्य चाँडो धितोपत्र कारोबारको राफासाफ र फछ्यौट गर्ने ब्यवस्थाका लागि लेखि आएको समेत जनाएको छ ।
सीडीएससीको प्रणालीले ५ हजार भन्दा बढी कारोबारको राफसाफ गर्न सक्ने क्षमता नरहेको भनी धितोपत्र बोर्डले शंका गर्दै परीक्षणका लागि सीडीएससीलाई निर्देशन दिएको थियो । सीडीएससीले आफ्नो प्रणालीमा रहेको अस्पष्टता हटाउन सफ्टवेयर प्रदायक कम्पनी सीएमसी ईण्डिया लिमिटेडलाई आग्रह गर्दै पत्र पठाए पनि त्यसको जवाफ आउन सकेको छैन । यसै सन्दर्भमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएससीका प्रतिनिधिहरु रहेको पूँजीबजार समन्वय समिति ( सीएमसी) गठन भई सीडीएस पूर्ण रुपमा लागु गराउने गरी काम भईरहेको जनाईएको छ ।
सीडीएससीले धितोपत्र बोर्डको निर्देशन अनुसार चाडै राफसाफ पद्दतीको सुनिश्चितता गरी पूर्ण डिम्याट शेयर कारोबार संचालन गरिने प्रतिबद्दता दोहोर्याएको छ । पूर्ण डिम्याट कारोबार सुरु नहुँदा हालको कागजी शेयर प्रमाण पत्र कागजी रुपमा नै बेच्न सकिने, खरिद गर्नेले नामसारीमा पठाउँदा अनिवार्य डिम्याट खाता खोली अभौतिक शेयर मात्र प्राप्त गर्न सक्ने र अभौतिकीकरण गराईएको शेयर भए अभौतिकीकरण कार्यविधि अनुसार नै राफसाफ हुने भएको छ ।
सीडीएससी पूर्ण रुपमा कार्यान्वयनमा आउने भन्दै हल्ला गरिएपछि केही समयदेखि एकातर्फ बैंकहरुले खाली हस्तान्तरण( बीटी) मा रहेका शेयरमा ऋण प्रबाह बन्द गरेका छन् भने अर्कोतर्फ डिम्याट शेयरमा ऋण प्रबाहको सुनिश्चितता गरिएको छैन । यसबाट शेयर बजारमा दोहोरो असर पर्दै आएको छ ।
सीडीएससीले डिम्याट शेयरमा ऋण प्रबाह सम्बन्धी कार्यविधिलाई चाडै नै लागु गर्ने पनि जनाएको छ । सीडीएससीमा हाल दैनिक कारोबारमा एक सय कारोबार संख्याको हाराहारीमा डिम्याट शेयर खरिद बिक्री हुँदै गएको छ । हालसम्म सीडीएससीमा झण्डै ८० लाख कित्ता बाणिज्य बैंकको शेयर डिम्याट भईसकेको छ ।