सहारा बिकास बैंक सबैभन्दा कम पूँजी भएको ख बर्गको बिकास बैंक हो भन्ने थाहा नपाउनेहरुलाई त्यसको प्रमुख कार्यकारीको हैसियतले के भन्नुहुन्छ ?
हामी पाँच बर्ष अघि स्थापना भएर काम सुरु गरेका हौ । गत असारदेखि हामी पब्लिकमा पनि शेयर जारी गरेर गयौं । पूँजी थोरै नै छ दुई करोड । सदरमुकाम मलंगवामा हाम्रो मुख्य कार्यालय छ भने शाखा कार्यालयहरु जिल्लाभित्र तीन स्थानमा छन् । सर्लाही भित्रै हामी तत्काल गोडैतामा पनि एक्सटेन्सन कार्यालय खोल्ने तयारीमा छौ । जिल्लाभित्र मात्रै बिस्तार गरेर भएन । अरु जिल्लामा पनि जानैपर्छ । सर्वसाधारणमा शेयर जारी गरेपछि हामी अझै सबल भएका छौ र अब हामी तीब्र बिस्तारको क्रममा छौ ।
बैंकलाई कसरी बिस्तार गर्दै हुनुहुन्छ ?
हामी पहिले त पूँजी बृद्दि गर्छौ । त्यसपछि तीन जिल्लाको कार्य क्षेत्र बनाएर काम गर्छौ । धनुषा र महोत्तरी वा महोत्तरी र रौतहट मध्ये कुनमा जाने भन्ने तय भएको छैन ।

कति पूँजी बृद्दि गर्ने ?
हामीले पूँजी बृद्दि गर्ने भनेको तीन जिल्ला कार्य क्षेत्र बनाउनका लागि हो । पाँच करोड मात्रै बनाउने हो भने जिल्ला भित्रै कारोबार बढाउने भन्ने हो । तीन जिल्लाको कार्य क्षेत्र बनाउने हो भने राष्ट्र बैंकको नियम अनुसार पनि हामी ख बर्गको न्युनतम दश करोड त हुनैपर्छ । यसैका लागि हामी साधारणसभा पनि चाडै गर्ने तयारीमा लाग्दै राष्ट्र बैंकमा बित्तीय बिबरण पठाईरहेका छौ । अब हेरौ राष्ट्र बैंकबाट कस्तो निर्देशन आउँछ ।
जगेडा कोषमा झण्डै चुक्ता पूँजी जत्ति नै रकम रहेछ, बोनस त टन्नै दिने होला नि ?
यसमा अहिले केही भन्न मिल्दैन । पूँजी बढाउने क्रममा कति बोनस शेयर दिने भन्ने कुरा संचालक समितिले निर्णय गर्ने कुरा हो । यसबारेमा निर्णय भएपछि तपाईहरुले थाहा पाईहाल्नुहुन्छ । तर, म यति पक्का भन्नसक्छु हामी लगानीकर्तालाई निराश चाँही बनाउँदैनौ ।
बोनस शेयर मात्रैले त तपाईहरुको पूँजी बृद्दि संभव छैन, हकप्रद पनि जारी गर्ने होला नि ? दश करोडका लागि त धेरै प्रतिशत हकप्रद दिनुपर्ला, हैन ?
हो, हकप्रद पनि दिनुपर्छ । अनिवार्य रुपमा पूँजी बढाउनुपर्ने अबस्थामा छौ । अब कति बोनस र कति हकप्रद भन्ने कुरा त संचालक समितिले निर्णय गर्ने कुरा हो । अहिले मैले भन्न मिल्दैन ।
बजारमा त तपाईको कम्पनीको शेयरको भाऊ आकाशिएको छ नि ?
यो त हाम्रो कम्पनीको अबस्था हेरेर हुनसक्छ । सबैले राम्रो कम्पनी नै खाजेका होलान् । हामीले राम्रो प्रगति गर्दै गएको परिणाम पनि होला । अर्कोतर्फ हामी दुई करोडको कम्पनी, सर्वसाधारणमा ६० हजार कित्ता मात्रै छ । सबैले रामै्र र हाम्रै शेयर खोज्दा लगानीकर्ताको रोजाईमै भएको होला ।
मर्जमा पनि जाने सोचमा हुनुहुन्छ कि ?
पहिले त कुरा चलेको हो तर हामी यस क्षेत्रमा राम्रो काम गरिरहेकाले मर्जमा नजाने, आफै अरु बिस्तार भएर अगाडि बढ्ने कुरा भएको छ । हामी यसैका लागि चाडै साधारणसभा पनि गर्दैछौ । राष्ट्र बैंकले स्वीकृति दिएमा यही फागुन भित्रैमा साधारणसभा राख्ने भन्ने सोचमा छौ ।
अर्को कुरा हाम्रा प्रोमोटरहरु यही क्षेत्रका हुनु भएकाले हामीलाई काम गर्न पनि सजिलो छ । यस क्षेत्रका धेरै मान्छे बैदेशिक रोजगारीमा गएकाले पहिले हुण्डीमार्फत आउने रकम अब बैंकिङ प्रणालीमा आउँन थालेको छ । यसकारण पनि हामी अलि सहज अबस्थामा छौ । राष्ट्रिय रुपमा बचत संकलन गर्न र भुक्तानी दिन पनि हामीलाई समस्या छैन् । एनआईसी एशिया बैंकसँग हाम्रो समझदारी भएकाले हाम्रो बचत उस्को जुनसुकै शाखाले पनि लिन्छ भने हामी पनि उसको बचत स्विकार गर्छौ । हाम्रो बलियो पक्ष भनेको यो पनि हो । त्यसैले हामीलाई कारोबार बिस्तार गर्न र टिकिरहन मर्जमै जानुपर्छ भन्ने बाध्यता छैन ।
तराई जस्तो ठाउँमा पनि बैकिङ कारोबार बिस्तार गर्न सजिलो छैन भनिदैछ । कसरी काम गर्दै हुनुहुन्छ त ?
हो, ठूला बैंकहरु शहरी क्षेत्र र राजमार्गहरु भएको ठाउँमा केन्द्रित छन् । पढेलेखेका मान्छेहरु उनीहरुको ग्राहक बढी छन् । तर हामी त गाउँ गाउँमा गएका छौं । कम पढेका, बैंकिङ कारोबार जान्दै नजानेका गाउँलेहरुलाई सिकाईरहेका छौ । हाम्रा शाखाहरु ईश्वरपुर, बरहथवा र लालबन्दीमा छन् । त्यहाँबाट हामी आसपासका गाउंहरुमा कारोबार बिस्तार गरिरहेका छौ ।
उसो भए लघुवित्तको कारोबार पनि गरिरहनु भएको होला नि ?
छैन । हामीले अहिले साधारण बैंकिङ कारोबार मात्रै गर्दै आएको हौं । अब चाही हामी लघुवित्तमा पनि जान्छौं । हाम्रो पूँजी बढेपछि हामी लघुवित्तको हिसावले पनि ग्रामिणस्तरमा काम गर्छौ । हामीले हालै केही कर्मचारी माग गर्दै बिज्ञापन पनि निकालेका छौ । अबको हाम्रो यात्रा तपाईले भने जस्तै लघुवित्ततिरको पनि हो ।
सर्लाहीकै बैंक भएकाले सहारा लोन कोअपरेटिभसँग पनि सम्बद्दता छ कि ?
छैन । त्यस्तो संलग्नता छैन । एक दुई जना हाम्रा प्रोमोटरहरुमा ब्यक्तिगत रुपमा त्यस सहकारीसँग पनि आबद्द हुनुहोला , नत्र भने हाम्रो संस्थागत सम्बन्ध छै्रन ।
ऋण प्रबाहमा जोखिम ब्यवस्थापनको काम चाँही कसरी गर्दै हुनुहुन्छ त ?
हामीले प्रबाह गर्ने कर्जा जोखिममा नपरोस भनेर धेरै गंभीर ढंगले विचार पुर्याएका छौ । धितो राखेर कर्जा प्रबाह गर्ने र असुलीका लागि पनि उत्तिकै सक्रियता देखाउने काम गर्दैछौ । हाम्रो धेरै कर्जा जोखिममा परेको छैन् । हाम्रो कर्जाकै अनुपात हेर्नुभयो भने पनि थाहा हुन्छ कि हाम्रो निस्क्रिय कर्जा अनुपात ०.६५ मात्रै छ । यो अघिल्लो आर्थिक बर्ष र अघिल्लो त्रैमास भन्दा पनि घटेको छ । कर्जा लान खोज्नेले तिर्न सक्छ कि सक्दैन, जुन काममा कर्जा लगेको हो सोही काममा लगाएको छ कि छैन, नियमित कर्जाको साँवा र ब्याज आएको छ कि छैन, यी सबै कुरा हेर्छौ । अर्कोतर्फ हाम्रा धेरै प्रोमोटरहरु यही क्षेत्रको भएकाले त्यस्तो आत्तिनुपर्ने अवस्था पनि छैन् ।