लौ हेर्नुस, म्युचुअल फण्डहरुले कुन कम्पनीको शेयर बढी किन्दैछन् ?

Feb 27, 2015 Mero Lagani



 

नेपालमा सामुहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरु आउने क्रम बढेपछि शेयर बजारमा एक प्रकारको स्थायित्वको आभाष हुन थालेको छ । केही ठूला खेलाडी र उनीहरुकै हल्लाका पछाडि लाग्ने साना लगानीकर्ताहरु पनि सामुहिक लगानी कोषको आगमनपछि अलि सम्हालिएका छन् ।

आखिर सामुहिक लगानी कोषहरुले शेयर बजारबाट कुन – कुन कम्पनीका शेयर बढी उठाईरहेका छन् त हेरौंः

हाल पाँच वटा कम्पनीका छ वटा ईकाईहरु शेयर बजारमा सक्रिय छन् । सिद्दार्थ क्यापिटलको दुईवटा र नबिल ईन्भेष्टमेन्ट, एनआईबीएल क्यापिटल, एनएमबी क्यापिटल र लक्ष्मी क्यापिटलले एक–एक वटा कोषको सार्वजनिक रुपमा निश्काशन गरी शेयर बजारमा शेयर खरिद बिक्री गरिरहेका छन् ।

कस्ता कम्पनीका शेयर उठाउँदैछन् ?

सिद्दार्थ म्युचुअल फण्डले लगानी बृद्दि योजना १ अन्तर्गत ८२ करोड ५७ लाख रुपैयाँ लगानी गरी विभिन्न कम्पनीको १२ लाख २१ हजार कित्ता शेयर उठाएको छ । सो कोषले सेन्चुरी कमर्शियल बैंकको सबैभन्दा धेरै ७५ हजार कित्ता शेयर उठाएको छ भने दोस्रोमा ग्लोबल आईएमई बैंकको ५० हजार, मेगा बैंकको ५० हजार, एनआईसी एशियाको ४९ हजार, बैंक अफ काठमाडौको ४९ हजार, नेपाल इृन्भेष्टमेन्ट बैंकको ४५ हजार, नेपाल एसबीआई बैंक ४४ हजार, सिभिल बैंक ४१ हजार, नेपाल टेलिकम ४० हजार, हिमालयन बैंक ४० हजार, कित्ता शेयर उठाएको छ । सो कोषले अधिकांश बाणिज्य बैंकहरुकै शेयर खरिद गरेर राखेको छ ।

सिद्दार्थ म्युचुअल फण्डको दोस्रो ईकाई सिद्दार्थ ईक्विटी ओरिन्टेड स्किमले ५७ करोड ५३ लाख रुपैयाँ लगानी गरी विभिन्न कम्पनीका आठ लाख ५१ ह्जार कित्ता शेयरहरु खरिद गरेको छ । यस कोषले नेपाल ईन्भेष्टमेन्ट बैंकको् संस्थापक शेयर ५४ हजार, एनआईसी एशियाको ४९ हजार, ग्लोबल आईएमईको ४८ हजार, कृषि बिकास बैंकको ३५ हजार, सानिमा बैंकको ३५ हजार , साईन रेसुङगा बिकास बैंकको २९ हजार, अरुण भ्याली हाईड्रोपावर २६ हजार, नेपाल बंगलादेश बैंकको २८ हजार, मेगा बैंकको २३ हजार कित्ता शेयर खरिद गरेको छ ।

त्यसैगरी एनएमबी क्यापिटलले एनएमबी सुलभ फण्ड अन्तर्गत ४७ करोड ३२ लाख रुपैयाँ परिचालन गरी पाँच लाख ७१ हजार कित्ता शेयर खरिद गरेको छ । उसले सबैभन्दा धेरै नेपाल टेलिकमको २८ हजार, सानिमा बैंकको २२ हजार, माछापुच्छ्रे बैंकको २२ हजार, एभरेष्ट बैंकको २० हजार, कुमारी बैंकको २० हजार, लुम्बिनी बैंकको २० हजार, सिद्दार्थ बैंकको २० हजार, हिमालयन बैंकको १९ हजार, सिटिजन्स बैंकको १८ र सनराईज बैंकको १८ हजार कित्ता शेयर किनेको हालै प्रकाशित बित्तीय विवरणमा उल्लेख छ ।

नबिल ईन्भेष्टमेन्टको नबिल ब्यालेन्स फण्डले ७५ करोड ४१ लाख रुपैयाँ परिचालन गरी ५७ कम्पनीका शेयरहरु खरिद गरेको छ । उस्ले सेन्चुरी बैंकको ४० हजार, सानिमा बैंक ३४ हजार, नेपाल टेलिकम ३३ हजार, चिलिमे जलविद्युत ३१ हजार, सिद्दार्थ बैंक ३० हजार, एनआईसी एशिया २९ हजार, मेगा बैंक २८ हजार, माछापुच्छ्रे बैंक २७ हजार, इृन्भेष्टमेन्ट बैंक संस्थापक २७ हजार, ग्लोबल आईएमई २५ हजार, स्टान्डर्ड चार्टर्ड २५ हजार, प्रभु बैंक २३ हजार कित्ता खरिद गरेको छ ।

हालसालै शेयर खरिद गर्न थालेको एनआईबीएल क्यापिटलको सम्मृद्दि फण्ड १ ले सात करोड ३२ लाख रुपैयाँ परिचालन गरी एक लाख ३८ हजार कित्ता मात्र शेयर बजारबाट उठाएको छ । सो कोषले ग्लोबल आइृएमई बैंकको ३६ हजार, सिद्दार्थ बैंकको १५ हजार, नेपाल बैंकको १५ हजार , प्राईम बैंकको १२ हजार र कृषि बिकास बैंकको ११ हजार कित्ता शेयर बजारबाट उठाएको बित्तीय विवरणमा उल्लेख छ ।

हालै ईकाईको सार्वजनिक निश्काशन गरेको लक्ष्मी क्यापिटलले भने बजारबाट शेयर उठाउँनै थालेको छैन् । ईकाई बांडफांड सकेपछि मात्र सो कोषले बजारबाट शेयर उठाउँन थाल्ने बुझिएको छ ।

बाणिज्य बैंकमै जोड किन ?

सामुहिक लगानी कोषहरुले बाणिज्य बैंकहरुकै शेयर बढी खरिद गर्नुको पछाडि ती कम्पनीहरुमा लगानी गर्नु सुरक्षित रहेको, कम्पनीको बृद्दि आशलाग्दो देखिएको, लाभांश राम्रो पाउने संभावना रहेको, शेयर मूल्य तुलनात्मक रुपमा कम रहेको लगायतका विविध पक्षको विश्लेषण गरेको मान्न सकिन्छ । हाल बजारमा चल्तीमा रहेका नबिल बैंक, नेपाल लाईफ, नेशनल लाईफ, नागरिक लगानी कोष जस्ता कम्पनीका महंगा शेयर अधिक मात्रामा सामुहिक लगानी कोषहरुले नउठाउनु बिश्लेषणयोग्य छ । शेयर मूल्य मध्यमस्तरमा रहेका बाणिज्य बैंकहरु सामुहिक लगानी कोषको बढी छनौटमा परेका छन् ।

अन्य कम्पनीबारे के छ ?

हाल नेपालको धितोपत्र बजारमा दैनिक रुपमा एक सय ३५ देखि ४० वटा कम्पनीहरुको शेयर कारोबार हुने गरेको छ तर सामुहिक लगानी कोषहरुले बढीमा ५९ वटा कम्पनीहरुको मात्र शेयर उठाएका छन् । यसमा पनि कतिपय कम्पनीहरुको प्रोमोटर शेयर संख्या जोड्दाको यो स्थिति हो । बाणिज्य बैंकहरु बाहेक, चिलिमे जस्ता राम्रा जलविद्युत, स्वावलम्बन, साना किसान, आरएमडीसी, मुक्तिनाथ जस्ता लघुवित्त कारोबार गर्ने बैंकहरु र राम्रा संभावना भएका बिकास बैंकहरुमा पनि सामुहिक लगानी कोषहरुको आँखा परेको देखिन्छ ।

किन्नै बांकी छ कम्पनीहरुले

एनआईबीएल क्यापिटलले अझै धेरै ठूलो मात्रामा शेयर किन्नै बांकी रहेको देखिएको छ भने लक्ष्मी क्यापिटलले शेयर उठाएकै छैन । एनआईबीएल क्यापिटलले बजारबाट कम्तिमा ८० करोडको शेयर उठाउने संभावना छ भने लक्ष्मी क्यापिटलले कम्तिमा ५० करोड रुपैयाँ शेयर बजारमा लगानी गर्ने निश्चित छ । त्यसैगरी पहिले देखि संचालनमा आएका सामुहिक लगानी कोषहरुले अहिले पनि बजारबाट राम्रा कम्पनीको शेयर उठाई नै रहेका छन् । सबै सामुहिक लगानी कोषहरुको अवधि पाँच बर्षे भएकाले उनीहरुले तत्कालै सबै शेयर बेच्दैनन् । बरु मौका मिले नराम्रा कम्पनीको शेयर बेचेर राम्रा कम्पनीको शेयर किन्ने गरी पोर्टफोलियो परिवर्तन गर्न भने सक्छन् ।

 

उनीहरुले शेयर बजारमा मूल्य आकाशिन नदिई शेयर किन्ने रणनीति बनाएकाले नेपाल स्टक एक्सचेन्जमा हालैका दिनहरुमा राम्रा कम्पनीको शेयर मूल्य धेरै माथि जान सकेको छैन भने धेरै तल झार्न सक्ने तागत पनि कसैसँग छैन । शेयर बजारमा औसत रुपमा दैनिक बीस करोड रुपैयाँ भन्दा माथिको शेयर कारोबार हुनुमा पनि यिनै सामुहिक लगानी कोषहरुको प्रभाव भएको विश्लेषण गर्न सकिन्छ । शेयर मूल्य तलमाथि हुँदा क्षणिक समयको लागि सामुहिक लगानी कोषहरुको घाटा नाफा बढेपनि उनीहरुको लगानीले शेयर बजारलाई आधार प्रदान गर्नुका साथै साना लगानीकर्ताहरुलाई दरिलो भरोसा दिएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।