मन खोलेर शेयरमा लगानी गर्ने अबसर, दुई महिना भित्रै आउँदैछ जलविद्युत बिकास कम्पनीको दुई अर्बको शेयर

Mar 09, 2015 Merolagani

 

जलविद्युत कम्पनीको शेयरमा मन खोलेर लगानी गर्ने मौका पर्खेर बस्नुभएको छ भने तपाईका लागि खुशीको खबर छ । देशमा जलविद्युत उत्पादन बढाउँन सरकारले स्थापना गरेको जलविद्युत लगानी तथा बिकास कम्पनी लिमिटेड HIDCL ले आगामी दुई महिना भित्रै दुई अर्ब रुपैयाँ बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।

जलविद्युतका क्षेत्रमा यति धेरै परिमाणमा देशभरिका जनताका लागि एकैचोटी साधारण शेयर निश्काशन हुन लागेको यो पहिलो अबसर हो ।

 

 

 

माथिल्लो तामाकोशीले अहिले दोलखा जिल्लाबासी र ऋण लगानी गर्ने कम्पनीका कर्मचारी र संचयकोषका बचतकर्ताहरुको लागि मात्रै शेयर निश्काशन गरेकाले सर्वसाधारणमा ठुलो परिमाणको शेयर निश्काशन गर्ने पहिलो ठूलो कम्पनी जलविद्युत बिकास कम्पनी हुन लागेको हो ।

जलविद्युत लगानी तथा बिकास कम्पनी लिमिटेडका सूचना अधिकारी सागर शिवाकोटीले दुई अर्ब रुपैयाँ बराबरको साधारण शेयर निश्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति लिने काम अन्तिम चरणमा पुगेको र शेयर निश्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरिसकिएको बताउनुभयो । शिवाकोटीले भन्नुभयो– धितोपत्र बोर्डबाट हाम्रो फाईलमा औल्याईएका सामान्य कुराहरुको जवाफ लेखिसकेका छौ, त्यहाँबाट स्वीकृति आएपछि बढीमा दुई महिना जतिमा हामी शेयर निश्काशन गर्नसक्छौ ।

धितोपत्र बोर्डले पनि जलविद्युत बिकास कम्पनीको फाईल स्वीकृति अन्तिम चरणमा रहेको जनाएको छ । जलविद्युत कम्पनीको शेयर निश्काशनको स्वीकृति दिने क्रममा केही नीतिगत निर्णय गर्नु आबश्यक भएकाले समय लागेको बोर्डका कर्मचारीहरुले बताएका छन् ।


नागरिक लगानी कोष हाल माथिल्लो तामाकोशीको शेयर निश्काशनमा ब्यस्त रहेकामा यसलगत्तै जलविद्युत बिकास कम्पनीको साधारण निश्काशनमा ब्यस्त बन्नुपर्ने अबस्था छ । माथिल्लो तामाकोशीको प्रभावित जिल्लाबासी र कर्मचारीहरुको लागि निश्काशन गरिएको शेयर आबेदनमा भएको दौडधुप जलविद्युत बिकास कम्पनीको शेयर आबेदनका बेला पनि दोहोरिने निश्चित छ । त्यतिखेर जलविद्युत बिकास कम्पनीको साधारण शेयर आबेदन पहिले कि माथिल्लो तामाकोशीको पहिले गर्ने भन्ने बिबाद भने आउँनसक्छ । दुबै शेयरमा देशविदेशमा रहेका नेपालीले ठूलो रकम लगानी गर्ने तयारी गरेर बसेकाले दुबै एकसाथ निश्काशन गर्न संभव हुने छैन् । जलविद्युत बिकास कम्पनीको साधारण शेयर असार अगाडि नै आउने हो भने माथिल्लो तामाकोशीको साधारण शेयर निश्काशन अर्को आर्थिक बर्षमा मात्र संभव हुने बताईन्छ ।

जलविद्युत विकास कम्पनीको दुई अर्ब र तामाकोशीको साधारण शेयर एक अर्ब ५८ करोडको एकै पटक आउँने हो भने अहिलेको बजारले माग धान्न नसकी रकमको अभाव चर्किने त्यतिकै धेरै संभावना छ । त्यसले कम्तिमा तीन महिनाको फरकमा यी ठूला शेयरहरु सर्वसाधारणका लागि जारी गरिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।


बरुण हाईड्रो र जनउत्थान लघुवित्त जस्ता कम्पनीहरुको शेयरमा समेत सय गुणा र तीन सय ५५ गुणा आबेदन परेको छ भने जलविदूत विकास कम्पनी जस्तो आकर्षक शेयरमा कम्तिमा १५ अर्बको आबेदन पर्ने कुरालाई कम आँक्न मिल्दैन ।


अहिले दोलखाबासी र कर्मचारीका तथा संचयकर्ताहरुका लागि जारी भएका शेयरको बांडफाँड भएर बाँकी रकम फेरि लगानीकर्ताको हातमा पुग्न पनि  दुई महिना भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । त्यसमाथि नागरिक लगानी कोष जस्तो सरकारी कम्पनीको ढिलासुस्तीले पनि समय लम्ब्याउने पक्का छ ।


जलविद्युत लगानी तथा बिकास कम्पनीले आफ्नो शेयर पूँजी १० अर्ब पुर्याउँन  दुई अर्ब रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणका लागि निश्काशन गर्न लागेको हो । नेपालमा जलविद्युत उत्पादन बढाउँन तत्कालीन उर्जामन्त्री गोकर्ण बिष्टको अवधारणा अनुसार स्थापना भएको जलविद्युत कम्पनीले आफ्नै नेतृत्व भने अहिलेसम्म एउटा पनि आयोजना निर्माण थालेको छैन । कम्पनीले बिभिन्न सात वटा आयोजनामा सहकार्य गरी तीन अर्ब रुपैयाँ लगानी गरेको छ । कम्पनीसँग अझै आठ अर्ब भन्दा बढी लगानी गर्ने रकम रहे पनि त्यसलाई बैंकमा राखेर ब्याज मात्रै आम्दानी गरिरहेको छ ।

यो पनि पढ्नुहोस

विदेशमा बस्ने नेपालीका लागि आउने भयो रेमिट हाईड्रो, लगानी गर्ने हैन त ?

 

comments powered by Disqus