कार्यालयको उद्घाटनमा रिबन काट्न बैंकले अर्थमन्त्री रामशरण महतको जोडीलाई बिजनेश क्लासको टिकट सहित पाँच तारे होटलको सुविधामा त्यता लगेको थियो ।
स्रोतका अनुसार जेनतेन खर्च धानिरहेको बैंकको समग्र वित्तीय अवस्थासमेत त्यत्ति धेरै सन्तोषजनक देखिँदैन । महँगो ठाउँमा बैंकको कार्यालय खोल्नुको कुनै तुक नै देखिँदैन । रेमिट्यान्सको लागि
हो भनेपनि अष्ट्रेलिया र विकसित देशबाट नेपाल भित्रिने रकम मलेशिया, मध्यपूर्व र दक्षिण कोरियाको तुलनामा ज्यादै न्यून छ । फेरि रेमिट्यान्सको कारोबार ग्लोबल बैंकले नभइ आइएमई मनि ट्रान्सफरले गर्ने गर्दछ । स्रोतका अनुसार सिड्नीमा नियमित रूपमा कार्यालय सञ्चालनको लागि मात्रै बैंकले वार्षिक १ करोड भन्दा बढी रूपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । अहिलेको अवस्थालाई हेर्दा अष्ट्रेलियाको कार्यालयबाट बैंकले न्यूनतम खर्च धान्ने रकम पनि उठाउन सक्दैन । यस्तो अवस्थामा सिड्नीमा कार्यालय खोल्न बैंकका उच्च अधिकारीहरूकिन उद्दत देखिए ? त्यसैगरी यो वर्षको कूल नाफाबाट ५ करोड घट्ने गरी कार्यालयको स्थापना, सजावट र उद्घाटन सम्पन्न गरेर अर्थमन्त्री र उनकी पत्निलाई खुशी पार्नुको रहस्य पनि बैंकका सर्वसाधारण लगानीकर्ता र कर्मचारीले बुझ्न सकेका छैनन् ।
उद्घाटनपछि सोही रात झण्डै १ करोड रूपैयाँ खर्चेर भव्य कक्टेल पार्टीको आयोजना गरिएको थियो । सिड्नीमा महँगो मदिरापान गर्न काठमाडौंदेखि बैंकको खर्चमा पत्निसहित अर्थमन्त्री, बैंकका अध्यक्ष, एकजना सञ्चालक,डीजीएमलगायतका अधिकारीहरू दुई दिन अगावै त्यहाँ पुगेका थिए । ककटेल पार्टीमा उपस्थित प्रमुख अतिथि र अतिथिहरू सहभागीहरूसँग हातले गिलास समाउँदै लरबरिएको अवस्थामा विभिन्न पोजमा फोटो खिच्न मस्त देखिन्थे । यसबाट बैंकका सर्वसाधारण लगानीकर्ताले चाँही के पाए ?
बैंकहरूलाई फजुल खर्च नगर्न मार्गनिर्देशन दिने नेपाल राष्ट्र बैंकका सम्बन्धित अधिकारीहरू पनि यतिखेर तैँ चुप मै चुपको स्थितिमा छन् । केही समयअघि प्रभु बैंकले किस्ट बैंकसँग मर्ज भएपछि आयोजन गर्न खोजेको रात्री भोजलाई फजुल खर्चको दोष लगाउँदै रोक्ने केन्द्रीय बैंकले यतिखेर चाहिँ किन आँखा चिम्लिएको होला ? नेपाल राष्ट्र बैंकका सेवानिवृत्त एकजना कार्यकारी निर्देशक प्रश्न गर्छन् । उनको बिचारमा ग्लोबल बैंकका अध्यक्षको ससुरा रामहरि अर्याल राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका कारण राष्ट्र बैंकका अधिकारीहरू उक्त बैंकप्रति नतमस्तक देखिएका हुनसक्छन् ।
पछिल्लो केही समयदेखि उद्योगी तथा लगानीकर्ताले मुलुकबाट ठूलो रकम बाहिर लगेको आशंका गर्न थालिएको छ । एकथरीले ग्लोबल बैंकको उक्त सम्पर्क कार्यालयलाई पनि त्यहि प्रयोजनको लागि खोलिएको हुनसक्ने अड्कल गरेका छन् । सरकारले पनि अर्थमन्त्रीको सिड्नी भ्रमणलाई ग्लोबल बैंकले खर्च व्यहोर्ने गरी स्वीकृत गरेका कारण अनेकौं समस्या देखापरेको छ । आज एउटा बैंकको खर्चमा एकजना मन्त्रीलाई चाकडीको निम्ति विदेश भ्रमणमा जान स्वीकृती दिने हो भने भोली निजी क्षेत्रको प्रायोजनमा सर्वोच्चका न्यायाधिश, सांसद, प्रहरी प्रमुख, सेना प्रमुखलाई त्यस्तै प्रकृतिको कार्यक्रममा सहभागी हुन दिने कि नदिने ? निजी क्षेत्र सम्पूर्ण खर्च व्यहोरेर त्यस्ता उच्च पदाधिकारीलाई सपत्नि सयर गराएर आफ्नो काम फत्ते गर्न आतुर देखिन्छन् ।
उता सम्पर्क शाखा कार्यालयको प्रमुख बनाइएका सुभाव ज्ञवाली पनि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीका छोरा हुन् । लामोसमयसम्म केन्द्रीय बैंकमा प्रवक्ता रहेका नियमन विभागका प्रमुख भाष्कर निवर्तमान गभर्नर युवराज खतिवडाका थोरै विश्वासपात्र मध्येका एक थिए । त्यहि विश्वासलाई क्यास गर्दै ग्लोबल बैंकका हर्ताकर्ता सिड्नीमा सम्पर्क कार्यालय खोल्ने लगायतका आफू अनुकूलको निर्णय नेपाल राष्ट्र बैंकबाट गराउन सफल भएका थिए । यी सबै कार्य गर्न ज्ञवालीले बैंकका अध्यक्ष ढकालसँग सिड्नीमा खोलिने कार्यालयको प्रमुखमा आफ्नो छोरालाई राख्नुपर्ने शर्त तेर्साएका स्वयम् ग्लोबल बैंकका कर्मचारीहरुबीच चर्चा चलिरहेको छ ।
सिड्नी कार्यालयको प्रमुख बनाउनैको लागि भाष्करमणि ज्ञवालीले आफू नेपाल राष्ट्र बैंकमा छँदै छोरालाई मश्रिक बैंकबाट ग्लोबल बैंकमा लैजाने ब्यवस्था मिलाएका थिए ।
मश्रिक बैंकमा चाँही उनले आफू विदेशी विनिमय विभागको प्रमुख हुँदा छोरोलाई जागीर खुवाएका थिए । सिड्नी जाने पक्कापक्की भएपछि हतार हतारमा उनले केही समयअघि मात्रै छोराको लगनगाँठो पनि कसिदिएका थिए ।