नाफा सुरक्षित गरेका ठूला र संस्थागत लगानीकर्ताले बजारबाट अब कुन शेयर उठाउँलान ?

Jun 11, 2015 Merolagani



राजनीतिक सहमतिले शेयर बजारमा उत्साह थपेको बेला नेपाल स्टक एक्सचेन्जमा मंगलबार संस्थागत र ठूला लगानीकर्ताले धेरै शेयर बेच्दा कारोबार रकम ५३ करोड नाघ्यो । शेयर मूल्य बढेको मौकामा आफुलाई नाफा हुने शेयरहरु ठूला लगानीकर्ताले बचेर नाफा कमाए र माग भन्दा आपुर्ति बढी हुँदा बुधबारको बजार १० अंकले तल गयो । तर संस्थागत र ठूला लगानीकर्ताको यसरी बिक्री भएको शेयर वापतको रकम शेयरबजारबाट बाहिरिएको नभई उनीहरुले फोर्टफोलियो मात्र परिवर्तन गरेका जानकार स्रोतको भनाई छ । 

 

 महंगोमा शेयर बेचेर अर्को मौकाको प्रतीक्षामा रहेका संस्थागत र ठूला लगानीकर्ताले अब कुन शेयर उठाउँलान् त ? शेयर बजारमा चासोको बिषय बनेको छ । 

संस्थागत र ठूला लगानीकर्ताले बढेको बजारमा बेचेका शेयरहरु तत्काल लाभांश नपाउने र मूल्य पनि धेरै माथि नजाने नेपाल बैंक जस्ता कम्पनीका धेरै थिए । घट्दो बजारमा संस्तोमा किनिएका राम्रा बाणिज्य बैंकको शेयर पनि सोमबार र मंगलबार धेरै संख्यामा बिक्री भए । संस्थागत र ठूला लगानीकर्ताले बजार तल गएको बेला सस्तोमा धेरै शेयर उठाउने र थोरै मूल्य बढ्दा पनि धेरै रकम कमाउनसक्ने भएकाले लक्षित नाफा भएपछि उनीहरुले शेयर बेच्ने गरेका छन् । तर साना लगानीकर्ताहरुले बजार बढ्न थाल्दा हौसिएर महंगोमा शेयर किन्ने, उनीहरुको थोरै शेयर हुने र धेरै नाफा भएपछि मात्र बेच्ने प्रबृति रहने हुँदा सही समयमा जोखिम र नाफा आँकलन गरी निर्णय गर्न नसक्दा अपेक्षित नाफा सुरक्षित गर्न सक्दैनन् । अर्को तर्फ पोर्टफोलियो छनौट र ब्यवस्थापनमा पनि साना भन्दा संस्थागत र ठूला लगानीकर्ताहरु नै बढी अनुभवी र चुस्त हुने गर्छन । ऋण गरेर शेयर बजारमा लगानी गर्नेहरुले शेयर बजारबाट छोटो समयमा धेरै नाफा कमाउने मनसाय राख्ने हुँदा नाफा सुरक्षित गर्न ठूलो परिमाणमा शेयर बेच्ने गर्छन । स्वभाविक रुपमा यसले शेयर बजारलाई तल लैजाने गर्छ ।

 

यही साता सोमबार मात्रै स्टक मार्केटमा प्रबेश गरी नेशनल हाईड्रोपावरको एक हजार तीनसय कित्ता शेयर किनेका शिवराज कार्कीले मेरोलगानीसँग गुनासो गर्दै भने –सबैले अब शेयर बढ्छ भने । सस्तो शेयर भनेर किनिहालियो, हेर्दाहेर्दै आजसम्ममा २० हजार रुपैयाँ घाटा परिसक्यो ।

लगानीकर्ता सुधिरकुमार केसी शेयर मूल्य बढ्दा सस्तोमा शेयर उठाएकाहरुले बेचेको हुँदा माग र आपुर्तिको सन्तुलन नमिल्दा बजार घटेको तर्क गर्छन् । उनी भन्छन् – बजार धेरै बढेपछि घट्नु त स्वभाविक हो , यो साता शेयर बेचेर नाफा सुरक्षित गरेकाहरुले पनि फेरि शेयर किन्छन् । नेप्से धेरै घट्दैन, बजार बढ्ने संभावना नै बढी छ ।

ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान नेपालको शेयर बजारमा दुई खाले लगानीकर्ता रहेको बताउँछन् । यसमा बजार माथि गएको बेला उत्साहित हुँदै प्रबेश गर्ने साना ब्यक्तिगत लगानीकर्ता र बर्षौदेखि यसैमा लागेर अनुभवी संगालेका सदावहार लगानीकर्ता छन् । पहिले ठूला लगानीकर्ताले समग्र बजारलाई प्रभावित पार्नसक्ने हैसियतमा रहे पनि अहिले कसैले पनि नेपालको शेयर बजारलाई प्रभावित र तलमाथि गर्नसक्ने अबस्थामा नभएको प्रधानको तर्क छ । उनी भन्छन्– ब्यक्तिगत लगानीकर्ताको बढ्दो प्रबेश भईरहेको यस्तो बेलामा ठूला लगानीकर्ताले गर्दा बजारमा यस्तो भयो भन्नु बेकार छ ।

दुई साता अघि बैंक अफ काठमाडौं जस्ता मूल्य तल गएका कम्पनीहरुको शेयर किनेकाहरुले बुधबारसम्म प्रति कित्ता दुईसय रुपैयाँ भन्दा बढी नाफा कमाएको हुँदा उनीहरुले शेयर बेच्नु स्वभाविक थियो । त्यस्तै अरु कम मूल्य भएका बाणिज्य बैंकको शेयरमा पनि यही अबस्था थियो । तर ठूला लगानीकर्ता प्रधान राम्रा कम्पनीहरुको शेयर बेच्नैपर्छ भन्ने बाध्यता लगानीकर्तालाई नभएको दावी गर्दै भन्छन्– बैंक अफ काठमाडौ र चिलिमे जस्ता शेयरहरु म त सकेसम्म उठाउँने सोचमा हुन्छु किनभने यी कम्पनीहरुको शेयर मूल्य अहिले तल गए पनि भबिष्यमा राम्रो प्रतिफल दिने हैसियत यिनीहरुले राख्छन् ।

बैंकहरुमा तरलता बढिरहेको, घरजग्गा ब्यवसाय खुम्चिदै गएको, सुन आयात र किनबेच ठप्प रहेको, ठूला
उद्योग धन्दा स्थापना र संचालनमा तीब्रता आईहाल्ने अबस्था नभएको र राजधानीलगायतका शहरी क्षेत्रमा अन्य खुद्रा ब्यापार पनि फैलावटमा आउने अबस्था नभएकाले लगानीयोग्य पूँजी परिचालनको गतिलो माध्यम शेयर बजार नै हुनसक्ने अबस्था छ । यस्तो अबस्थामा बर्षौदेखि लगानी गरिरहेका ठूला लगानीकर्ता र केही बर्षदेखि आफ्नो उपस्थिति बाक्ल्याँउदै लगेका म्युचुअल फण्डलगायतका संस्थागत लगानीकर्ताले अहिले शेयर बजारबाट लगानी झिक्ने नभई झन् एकत्रित गरिरहेका छन् ।

प्रधानले अहिले कुनै पनि अनुभवी शेयर लगानीकर्ताले शेयर बजारबाट बाहिरिने बारेमा सोच्न पनि नसक्ने बरु अरु सुढृढ भएर लगानी गर्ने अबस्था रहेको जिकिर गर्छन । उनले भने–शेयर बजार देशको अर्थतन्त्रको ऐना हो, अर्थतन्त्रमा केही फरक पर्दा पूँजी बजार पनि प्रभावित हुन्छ, देशमा भएको राजनीतिक सहमतिले यसमा तत्काल प्रभाव पार्छ तर भुकम्पले नेपालको अर्थतन्त्रलाई झन् कमजोर हैन, भबिष्यमा बलियो बनाउँछ भन्ने मेरो बिश्लेषण छ ।


यसबाट पनि शेयर बजारमा लगानी गरिरहेका साना लगानीकर्ता आत्तिनुपर्ने कुनै कारण छैन् तर साना लगानीकर्ताले बजार घटेको बेला किन्ने र बढेको बेला बेच्ने प्रबृत्ति अंगाल्न, बजार बढेर बिक्रीमा राखिएका शेयरहरुको चर्को अभाव भएको बेला पाईयो भन्दैमा कमशल कम्पनीका शेयर उठाउने प्रृबत्ति त्याग्न र कम मूल्य भएका गतिला कम्पनीका शेयर उठाउँने काममा ध्यान दिनुपर्ने हुन्छ । कम्पनीको वास्तबिक अबस्था अध्ययन नगरी बजार बढेको बेला प्रबेश गरेर हल्लाका भरमा शेयर उठाउने लगानीकर्ताले पनि पछुताउनुपर्ने अबस्था आउँछ । ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान भन्छन्– लगानीकर्ता बजारमा प्रबेश गर्ने नै बजार सबैभन्दा तल गएको बेला हो, बजार माथि गएको बेला प्रबेश गर्नेहरुले धेरै बिचार गरेर लगानी गर्नुपर्छ, नत्र डुब्न पनि सकिन्छ ।

प्रधानका अनुसार संस्थागत र ठूला लगानीकर्ता बजारबाट राम्रा तर प्रतिफलको ग्यारेन्टी गर्ने कम्पनीका शेयरहरु उठाउन मौका हेर्दैछन् । बजार तल गएको बेला राम्रा, सस्ता र यही बर्षको लाभांशबाट प्रतिफल दिने ग्यारेन्टी भएका शेयरहरुमा ठूला र संस्थागत लगानीकर्ताहरुको आँखा पर्नसक्छ । बाणिज्य बैंकहरु लगानीको राम्रो अबसर हुनसने तर्क गर्ने प्रधानले बिमा समितिको निर्णय कस्तो आउने भन्ने कुराले बिमा कम्पनीहरुको शेयरमा लगानी भरपर्ने बताउँछन् । निर्जिबन बिमा कम्पनीहरुको शेयरमा केही जोखिम भए पनि जीवन बिमा कम्पनीहरुको शेयरमा लगानी अझ सुरक्षित रहेको उनको भनाई छ । त्यस्तै जलबिद्युत क्षेत्रमा पनि भुकम्पले खासै असर नपारेकोले ती क्षेत्रका कम्पनीहरुको प्रतिफल पनि सन्तोषजनक आउने अपेक्षा उनको छ ।

शेयर बजार एकोहोरो बढेको बढ्यै गर्छ भनेर सोच्नुको सट्टा आफुलाई फाईदा भएको अबस्थामा सही निर्णय लिईहाल्नु नै बुद्दिमानी हुने गर्छ । दीर्घकालीन हिसाबले लगानी गरिएका शेयरहरुको मूल्य तल गए पनि आत्तिनु हुँदैन तर छोटो समयका लागि गरिएको लगानीमा नाफा घाटाको अबस्था मूल्याङकन गरी सही समयमा सही निर्णय गरेर तत्काल कार्यान्वयन गर्नु नै उपयुक्त हुने जानकारहरु बताउँछन् । प्रधान भन्छन्– लगानी गर्न नजान्दा नयाँ लगानीकर्ताले धेरै गुमाउनुपर्ने अबस्था आउँनसक्छ, सही ढंगले दीर्घकालीन लगानी गरिए कमाउने अवसर पनि धेरै छ । किनभने आज ९५० को हाराहारीमा रहेको नेप्से भोलिका दिनहरुमा १५०० भन्दा माथि चढेर जानसक्ने संभावनाहरु मैले देखेको छु ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।