
नेपाल स्टक एक्सचेञजमा सूचीकृत कम्पनीहरुमा पनि नेपाल लाइफ इन्स्यारेन्स कम्पनी NLIC र लाइफ इन्स्यारेन्स कर्पोरेन नेपाल LICN बीच अझ बढी प्रतिस्पर्धा देखिएको छ । यि कम्पनीहरुलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड NLICL लगायतका अन्य कम्पनीहरुले पछ्याएका छन ।
पुँजी विस्तारकै लागि लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपाल LICN ले ठुलो मात्रामा भारतीय लगानी भित्र्याउँदैछ भन्ने हल्ला चौतर्फी चासोको विषय बन्दै गएको छ । जसका कारण पुँजी बजारमा LICN को भाउ बढ्दो अवस्थामा छ भने नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स लगायत कम्पनीको शेयर मुल्य घट्दो अवस्थामा छ ।
शेयर मुल्यमा कस्तो प्रभाव प¥यो ?
गत अप्रिल मिहनाको मध्यमा मात्र नेपाल लाइफको प्रतिकित्ता शेयर मुल्य ४ हजार ३ सय ७४ रुपैंया, लाइफ इन्स्योरेन्स कर्पोरेशनको २ हजार ३ सय ९० रुपैंया र नेशनल लाइफको २ हजार २ सय ९ रुपैंया रहेको थियो । त्यसको साढे २ महिना पछि अर्थात जुलाई १ मा अप्रत्याशित रुपमा शेयर मुल्यमा परिवर्तन आएको छ ।
जस अनुसार नेपाल लाइफको प्रतिकित्ता शेयर मुल्य २ हजार ९ सय ९ रुपैंया, लाइफ इन्स्योरेन्सको २ हजार ८ सय ५० रुपैंया तथा नेशनल लाइफको १ हजार ८ सय ८५ रुपैंया कायम भएको छ । यो तथ्यांक अनुसार साढे दुई महिनामा नेपाल लाइफ र लाइफ इन्स्योरेन्सको शेयर मुल्यमा आएको २ हजार रुपैंयाको अन्तरले लगानीकर्ता समेत अल्मलिएका छन् ।

छोटो समयमा बीमा कम्पनीको शेयर मुल्यमा देखिएको उतारचढाव यस्तो छ ।

सेयर मुल्यका आधारमा तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड पनि शेयरबजारमा आएको उतारचढावले आन्तरिक छलफलमा जुटेको छ ।

नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हल्लाका भरमा पूँजी बजारमा आएको उतार चढावका सम्बन्धमा कुनै प्रतिकृया दिन चाहेनन् । तर उनले भने ‘निश्चित रुपमा बजारमा उतार चढाव आएको छ र हामी कसरी सबल भएर अघि बढ्ने भन्ने सम्बन्धमा आन्तरिक छलफलमा अघि बढेका छौं ।’
लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इण्डियाको ५५ प्रतिशत साझेदारी रहेको LICN को चुक्ता पूजी ८५ करोड ५५ लाख ६२ हजार ५ सय रुपैंया रहेको छ । जबकी नेपाल लाइफको पूजी १ अर्व ८ करोड ३७ लाख ५० हजार रुपैंया रहेको छ (१५ औं वार्षिक साधारण साभाबाट ६० प्रतिशत बोनस शेयर बितरण गरे पछि नेपाल लाइफको चुक्ता पूँजी १ अर्व ७३ करोड पुगेको छ) ।

तत्काल पुँजी बढाउने अवस्था छ त ?
शेयर विष्लेशक रविन्द्र भट्टराई भन्छन् ‘भारतबाट LICN ले अर्वौँ रुपैंया भित्र्याउन लागेको हल्लाले बीमा कम्पनीहरुको शेयर मुल्यमा हेरफेर देखिएको हो ।

तर वास्तविकता त्यो हैन, सबै कुराको निश्चित प्रकृया हुन्छ । र अहिले बीमा समितीले जीवन बीमा कम्पनीको पूँजी ५ अर्व पु¥याउने जुन तयारी गर्दै छ, यो कुनै पनि हालतमा तत्काल संभव छैन । यसले गर्दा बजारमा अनेक किसिमका हल्ला फैलिएका कारण बजारको ट्रेन नै अर्को बाटोतर्फ लागेको हो ।’
LICN ले आफुहरुले त्यस्तो लगानी भित्र्याउने सम्बन्धमा गृहकार्य नगरेको प्रष्ट पारेको छ ।

LICN का प्रमुख कार्यकारी अधिकृत पी आर मिश्र भन्छन् ‘भारतीय कम्पनीको साझेदारी भएका कारण केही मात्रामा पूँजी बिस्तारमा LICI को सहयोग हुन सक्ने भए पनि त्यस सम्बन्धमा गृहकार्य सुरु भएको छैन । हामीले नसोचेको विषयमा बजारमा किन यस्तो हल्ला फैलिएको छ भन्ने विषयमा हामी पनि अनभिज्ञ छौं । सर्वसाधारण पनि त्यहि हल्लाको पछि दौडिएका कारण बजारमा अनपेक्षित असर देखा परेको छ ।’
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाका अनुसार बजारमा नेपाल लाइफ इन्स्यारेन्सले पूँजी बढाउँदैन भन्ने हल्ला फैलाइएका कारण NLIC को शेयर मुल्य प्रभावित बनेको हो ।

उनी भन्छन् ‘नेपाल लाइफको पूँजी पौने दुई अर्वको हाराहारीमा भएकाले पूँजी वृद्धि गर्दैनौं भन्ने हल्ला बजारमा फैलाइएको छ, यो कस्ले किन ग¥यो हामीलाई थाहा छैन । यसले हामीलाई केही हदसम्म प्रभावित पारे पनि हामी पूँजी जसरी पनि बढाउने पक्षमा छौं । पूँजी, नाफा लगायतका सुचकांकलाई हेर्दा पनि हामी अग्रस्थानमा रहेको पुष्टि हुन्छ । नाफाका हिसावले मात्र अन्य कम्पनीको तुलनामा हाम्रो नाफा देब्बर छ ।’
कसको नाफा कति ?
आर्थिक वर्ष २०७०/७१ को वार्षिक प्रतिवेदन अनुसार नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्सको खुद नाफा क्रमशः ६१ करोड ४१ लाख ११ हजार ८ सय ८५ रुपैंया, २५ करोड २५ लाख १४ हजार ७ सय ७६ रुपैंया र १९ करोड ४८ लाख २९ हजार ७ सय रुपैंया रहेको छ ।

पूँजी बजारको नियमक निकाय धितोपत्र बोर्डका अनुसार पूँजी बजारमा साना लगानीकर्ताको संख्या धेरै भएका कारण हल्लाका भरमा लगानी गर्ने परिपाटी बढेको हो ।
बोर्डका प्रवक्ता निरज गिरि भन्छन् ‘बोनश शेयर, हकप्रद शेयर लगायतले शेयर मुल्यलाई असर पार्ने भए पनि त्यो अवस्था नहँुदा आउने असामान्य उतारचढाव अस्वभाविक हो, यसरी हल्लाका भरमा कुनै पनि कम्पनीमा लगानी नगर्न लगानीकर्तालाई बोर्ड आग्रह गर्दछ ।’
बीमा समिती अध्यक्ष फत्तबहादुर केसी यस
समबन्धमा भन्छन् ’पूँजी बजार नै हल्लाका भरमा चल्ने अवस्थाका बेला समितीले पूँजी बढाउने तयारी गर्दा अनावश्यक हल्ला बजारमा फैलिएको हुन सक्छ । यस विषयमा औपचारीक वा अनौपचारीक रुपमा हामीलाई कुनै जानकारी छैन ।’
LICN नेपालको हकप्रद शेयर आउने कुरो हल्ला मात्रै
पूँजी बिस्तारका लागि LICN ले हकप्रद शेयर जारी गर्ने चर्चा पनि चुलिएको छ । जसका कारण लगानीकर्ता हल्लाको भरमा LICN मा लगानी बढाउन थालेका छन् । र LICN को शेयर मुल्य बढ्दो अवस्थामा छ । यस सम्बन्धमा LICN का प्रमुख कार्यकारी अधिकृत मिश्रले भने ‘ हकप्रद शेयर बितरण पूजी बिस्तारको सहज मार्ग भए पनि त्यस सम्बन्धमा कम्पनीले कुनै कदम चालेको छैन । साधारण सभामा छलफल नै नभएको विषय बजारमा कसरी चर्चाको विषय बन्यो त्यो हामीलाई थाहा छैन । सर्वसाधारणमा एक किसिमका हल्ला मात्र फैलिएको हो ।’
बीमा समितिले पनि हकप्रद शेयरका सम्बन्धमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका तर्फबाट कुनै प्रकृयाका समबन्धमा जानकारी नभएको जनाएको छ ।
यसरी फैलिएको हल्लाका कारण शेयर बजारमा दवदवा कायम राख्दै आएको NLIC लाई LICN ले चुनौती दिने अवस्था श्रृजना हुनु अस्वभाविक देखिएको छ । पूँजीका हिसावले क्रमशः नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाइफ इन्स्योरेन्सको बाहुल्यता छ ।
कुन कुन बीमा कम्पनीको आर्थिक सुचकांक कति छ ?
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार नेपाल लाईफको चुक्ता पूँजी १ अर्व ८ करोड ३७ लाख ५० हजार, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८५ करोड ५५ लाख ६२ हजार ५ सय तथा नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ७८ करोड ३९ लाख ४३ हजार रुपैंया रहेको छ । (नेपाल लाइफ इन्स्योरेन्सले १५ औं वार्षिक साधारण सभामा ६० प्रतिशत बोनस शेयर बितरण गरे पछि चुक्ता पूँजी १ अर्व ७३ करोड रुपैंया पुगेको छ । त्यसै गरि नेशनल लाइफ इन्स्योरेन्सले २७ औं साधारण सभामा ३० प्रतिशत बोनस शेयर बितरण गरे पछि चुक्ता पूँजी १ अर्व १ करोड ९१ लाख रुपैंया पुगेको छ) । जगेडा कोषमा क्रमशः नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्यारेन्सको मजवुती छ । त्यसै गरि जीवन बीमा कोषमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाइफ इन्स्योरेन्सको अग्रता छ ।

पूँजी, जगेडा कोष, जीवन बीमा कोषमा नेपाल लाइफको अवस्था बलियो देखिंदै गर्दा LICN का समबन्धमा बजारमा चलेको हल्लाले प्रतिशेयर मुल्यमा आएको परिवर्तन अस्वभाविक देखिन्छ । कुनै पनि सुचकमा नेपाल लाइफ इन्स्योरेन्सको बराबरीमा समेत लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल आउन नसक्नुले यस्तो हल्लालाई निरर्थक सावित गरिदिएको छ ।