–तपाईहरुले शेयर दलाललाई मार्जिन ट्रेडिङ र मार्जिन ल्याण्डिङ दिनुपर्ने माग राख्नुको कारण के हो ?
धितोपत्र डिलरशीप, मार्जिन ट्रेडिङ र मार्जिन ल्याडिङ हामीले मागेको पूँजीबजार बिस्तार र लगानीकर्ताको सहजताको लागि हो । हामी ब्रोकरहरुले बैंक तथा बित्तीय संस्थाहरुसँग सम्झौता गर्ने र हामीलाई बैंकले रकम दिने अनि हामीले लगानीकर्तालाई शेयर कर्जा दिने हो । लगानीकर्ताले बैंक तथा बित्तीय संस्थाहरुमा धाउने क्रम बन्द हुन्छ र उनीहरुले हामी मार्फत नै कर्जा पाउने छन् ।

–अहिले ब्रोकरहरुले नै ट्रेडिङ गरिरहेका छन्, त्यस्तो सुबिधा दिए दुरुपयोग हुन्छ भन्ने आशंकालाई कसरी हटाउनुहुन्छ ?
मार्जिन ल्याण्डिङ मार्फत लगानीकर्ताले सुबिधा पाउने हो । हामीले हैन । अहिले ब्रोकरहरुले ट्रेडिङ गरिरहेका छन् भन्ने आरोप कस्ले लगायो ? कसैले गरेका छैनन् हल्ला गरेर हुँदैन । यदि कसैले प्रमाण दिन्छ भने नियमनकारी निकायहरुले कारबाही गरेहुन्छ । म स्टक स्टक ब्रोकर एशोसियशनको तर्फबाट ग्यारेन्टी गरेर भन्छु, हामीलाई त्यस्तो सुबिधा धितोपत्र बोर्ड र अरु निकायले दिए भने कुनै हालतमा दुरुपयोग हुँदैन ।
–तपाइँहरुले मागेको कुरा भयो भने पूँजी बजारले कस्तो आकार लिन्छ होला ?
सबैभन्दा पहिले त पूँजीबजारको पुर्वाधार राम्रो हुनुपर्यो । स्टक एक्सचेन्जले राम्रो प्रबिधि ल्याउनु पर्यो । नियमनकारी निकायहरु सक्षम हुनुपर्यो । राम्रा नियम कानुन ल्याउनु पर्यो । ब्रोकरहरुलाई पनि कारोबार बिस्तार गर्नसक्ने वातावरण बनाई दिनुपर्यो । त्यसपछि पूँजी बजारले निश्चित रुपमा गति लिन्छ । यो माथि जान्छ, छलाङ मार्छ ।
–अब चाँडै नै ६५ वटा कम्पनीहरुको अनिवार्य डिम्याट शेयर कारोबार हुँदैछ, त्यसले कारोबारमा कस्तो असर पार्ला ?
अभौतिक कारोबार हुनु भनेको धेरै राम्रो हो । यसले कारोबारलाई सहज पार्छ तर केही डिम्याट कारोबार हुने, केही कागजी कारोबार भईरहने वा मिश्रित कारोबार भईरहने हो भने त्यसले अफ्ठेरो पार्छ । नेपालको अर्थतन्त्रको करिब करिब ५० प्रतिशत पूँजीकरण शेयर बजारमा भएको अबस्थामा आईपर्ने भबितब्य र दुर्घटनाहरुमा डाटा सुरक्षामा ध्यान दिनुपर्यो । अब हामी टेक्नोलोजीमा गयौं, यसबाट पछाडि फर्कन सकिदैन, चुस्त, दुरुस्त भएर जानुपर्छ ।
अभौतिक कारोबारले लगानीकर्ताले किनेको चार दिनमा नै बेच्न पाउँछन् । कारोबारको आकार बढ्छ । लगानीकर्ताहरुले सुबिधा पाउने छन् ।
–तपाइँहरुले कारोबार फैलाउने माग पनि अर्थमन्त्रीसँग राख्नुभयो तर तपाईहरु पोखरा, चितवन, बीरगंज, बिराटनगर, धरान जस्ता शहरहरुमा गएर पनि काम गर्नसक्नु भएको छैन नि ?
हामी मात्रै गएर भएन नि , हामी ब्रोकरसँगै शेयर रजिष्ट्रार र राफसाफ गर्ने कम्पनी पनि जानु पर्यो नि । हामीले माग गरेको कुरा त्यो हो । डीपी त हामीले पनि लिएका छौ तर शेयर रजिष्ट्रार र राफसाफ गर्ने बैंक गएन, सीडीएससीको कार्यालय भएन भने काम हुनसक्दैन । कारोबार गरेको तीन दिनमा कागज बुझाउनुपर्छ, कुनै पनि आरटीएसको शाखा काठमाडौ बाहिर छैन, तीन दिनमा काठमाडौ आएर कसरी गर्ने ? जा मात्र भनेर हुँदैन । हामी नै माग गर्दछौ कि यी पूर्वाधार तयार गरेर हामीलाई तुरुन्त पठाईयोस, हामी जिल्ला जिल्लामा जान आतुर छौ । धेरै ब्यक्तिहरु यसमा जोडिने छन्, यसो भयो भने पनि पूँजी बजार बढ्छ, ।
–स्टक एक्सचेन्जमा सुचिकृत नभएका कम्पनीहरुलाई पनि सुचिकृत गराउन प्रोत्साहित गर्नुपर्ने माग गर्नुभएको छ । कसरी गर्ने त ?
यसलाई नकारात्मक हिसावले हेर्नु हुँदैन, उद्योगी, ब्यवसायीहरुलाई पब्लिक लिमिटेडमा गएर स्टक एक्सचेन्जमा जोडिन सरकारले प्रोत्साहित गर्नुपर्छ । कसैले दुख गरेको छ, श्रम पसिना बगाएको छ भने त्यसको कदर गर्नुपर्छ । आईपीओ जारी गर्न सकिन्न भने एफपीओ, बुक बिल्डिङ प्रोसेस, प्रोत्साहन हुने काम गर्ने अनि त्यसो गर्दा पनि भएन भने कानुन बनाएर त्यस्ता कम्पनीहरुलाई स्टक एक्सचेन्जमा सुचिकृत गराउने उपाय खोज्नुपर्छ ।
–पूँजी बजार बिस्तारमा के समस्या देख्नुहुन्छ ?
नियमनकारी निकायहरु सक्षम बन्नु पर्यो । बिशेष गरी धितोपत्र बोर्डमा पर्याप्त दक्ष जनशक्ति ब्यवस्था हुनुपर्यो । त्यसो भयो भने छिटो छरितो काम हुन्छ । सरकारले नागरिक लगानी कोषलाई मार्केट मेकरको काम गर्न लगाउने भनेको छ । बिस्तारै यसका लागि कामहरु होलान् । निरास नै हुनुपर्ने अबस्था हैन् ढिलो चाँही भएको छ ।
–बैंकहरुको पूँजी बढाउने मौद्रिक नीतिको नयाँ ब्यवस्थाले कस्तो प्रभाव पार्ला ?
दश बर्षअघि पब्लिकले शेयरमा गरेको लगानी नै कहाँ छ भनेर थाहा हुनसक्दैनथ्यो । शेयर प्रमाणपत्र लिएर लगानीकर्ता कम्पनी खोज्दै हिड्नुपर्ने अबस्था थियो, कति कम्पनी धरासायी भएर गए । तर अहिले त्यस्तो अबस्था छैन्, बिस्वसनीय कम्पनीहरु छन् र धेरै पूँजी भएका र बलिया कम्पनीहरु छन् । बैंकिङ क्षेत्रमा सुशासन कायम गर्न, जोखिम बहन क्षमता बढाउन, लगानीकर्ताको दीर्घकालीन हितमा बैंक तथा बित्तीय संस्थाहरुको पूँजी बढाउनुपर्ने नीति आएको छ र यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ । सबैले साथ दिनुपर्छ । कसैले शेयर भाऊ बढाउन पूँजी बढाउने नीति आयो भन्ने आलोचना गरेको भन्ने बारेमा भन्दा त्यो अर्थहिन टिप्पणी हो । दश प्रतिशत पनि पूँजी बजार बढ्यो त ? बास्तवमा आलोचना गरे जस्तो पूँजी बजार बढेन । बजार कसैको नियन्त्रणमा छैन्, बिस्तारै स्वचालित हुँदैछ ।
–ब्रोकरहरु पर्याप्त छैनन् थप्नुपर्छ भन्नेहरुलाई के भन्नुहुन्छ ?
हेर्नुस , अहिले नै ५० वटा ब्रोकर मध्ये कतिपय दैनिक खर्च पनि धान्न नसक्ने अबस्थामा छन् । अहिले भईरहेका ब्रोकरहरुले नै काम पाईरहेका छैनन् भने नयाँ थप्ने कुरा सान्दर्भिक हुनै सक्दैनन् । भएकालाई नै सक्षम बनाउनु पर्यो, स्रोत, साधन र प्रबिधियुक्त बनाउनुपर्यो । सरकारले के गर्छ त्यो हामीले भन्ने कुरा भएन ।
अनि लगानीकर्ताले शेयर बेचेको रकम १५ दिनसम्म पनि पाउँदैनन् भन्ने गुनासोबारे के भन्नुहुन्छ ?
हैन, त्यस्तो छैन । कुनै पनि लगानीकर्ताले हाम्रा ब्रोकर साथीहरुबाट शेयर बेचेको पैसा समयमा पाईन भन्ने गुनासो आएको छैन । त्यस्तो गुनासो कसैले गर्छ भने हामी आफै पनि सम्बन्धित साथीलाई सचेत गराउँछौ । किनेको शेयरको प्रमाण पत्र पाउन भने लगानीकर्ताहरुले समस्या भोगिरहेका छन् । कतिपय कम्पनीहरुहरुले ब्रोकरलाई ६ महिनासम्म पनि प्रमाण पत्र उपलब्ध गराउँदैनन्, ब्रोकर मार्फत लगानीकर्ताले पाउने हो । त्यसमा ब्रोकरको हैन, सम्बन्धित कम्पनी र उसको आरटीएसको दोष हो । डिम्याट कारोबार भएपछि यी समस्याहरु पनि हट्दै जालान् ।
–लगानीकर्ताहरुलाई सुरक्षित लगानीका लागि के सुझाव दिनुहुन्छ ?
तपाइँ आजको भोलि शेयर बजारबाट नाफा कमाउँछु भन्ने सोचेर शेयर बजारमा लगानी नगर्नुस । हल्लाका भरमा लगानी गर्न भएन । कम्पनीको अबस्था बुझेर राम्रो कम्पनीमा लगानी गर्नुपर्यो । ठूला र संस्थागत लगानीकर्ताले बस्तुस्थिति बुझेका हुन्छन्, सूचनामा उनीहरुको पहुँच हुन्छ । साना लगानीकर्ताहरु बुझेर दीर्घकालीन लाभ सोचेर आए भने राम्रै हुन्छ । पूँजी बजारमा ब्याक गियर लाग्नेवाला छैन् ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।