ईन्भेष्टमेन्ट बैंकले पूँजी धेरै बढाएर पनि प्रति शेयर आम्दानी बढाउन सकिन्छ भन्ने प्रमाणित गरेरै छाडेको छ । निजी क्षेत्रका बैंकहरु मध्ये ग्लोबल आईएमईपछि सबैभन्दा धेरै चुक्ता पूँजी चार अर्ब ७७ करोड रहेको ईन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षमा एक अर्ब ९६ करोड खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा एक अर्ब ९३ करोड खुद नाफा कमाएकोमा गत बर्ष चार करोड बढाई प्रति शेयर आम्दानी ४०.६७ बाट ४१.१७ रुपैयाँ पुर्याएर धेरै पूँजी भए पनि प्रति शेयर आम्दानी नघट्ने प्रमाणित गरेको हो ।
बैंकले निक्षेप ७३ बाट ९० अर्ब र कर्जा ५३ बाट ६८ अर्ब पुर्याएको छ । निस्क्रिय कर्जालाई १.७७ बाट १.२५ मा झारेको बैंकले ५७ करोड प्रोभिजन गरेको छ भने ५३ करोड जोखिम कोषबाट फिर्ता गरेको छ । बैंकको ब्याज आम्दानी र संचालन नाफा भने घटेको छ । पूँजी कोष भने ११.९९ छ जुन ठीकै हो । बैंकको मूल्य आम्दानी अनुपात १७.१० र प्रति शेयर नेटवर्थ २०७.७० र प्रति शेयर सम्पतिको मूल्य २२९६ रुपैयाँ छ ।
बैंकमा सर्वसाधारणको हिस्सा बढाउन हालै १० प्रतिशत अर्थात ६८ लाख कित्ता शेयर अतिरिक्त मूल्यमा (एफपीओ) सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको छ । बैंकको जगेडा कोष बढेर पाँच अर्ब १८ करोड पुगेकाले आठ अर्ब चूक्ता पूँजी पुर्याउँन बैंकले मनग्ये बोनस शेयर दिएरै जान सक्छ । बाँकी दुई बर्षको खुद नाफाबाट समेत राम्रो प्रतिफल बाड्नसक्ने हैसियतमा रहेको र्इन्भेष्टमेन्ट बैंक बलियो आधार भएको बैंक हो ।