कसले बेच्यो एभरेष्ट बैंकको ३७ करोडको शेयर ?

Aug 27, 2015 Mero Lagani



साताको अन्तिम दिनको शेयर कारोबारमा एभरेष्ट बैंकको सर्बाधिक धेरै ३७ करोड ८२ लाख रुपैयाँ बराबरका एक लाख १८ हजार कित्ता शेयरहरु किनबेच भएपछि समग्र कारोबार रकम उचालिएर ८२ करोड नाघेको छ । शेयर दलाल नम्बर १३ थ्राइभ ब्रोकरेज हाउस र दलाल नं ५९ दिब्या सेक्युरिटिज एण्ड स्टक हाउसमार्फत एभरेष्टका धेरै कित्ताको शेयरहरु किनबेच भएपछि कारोबार रकम उचालिएको हो ।

 

दिब्या सेक्युरिटिजका एक कर्मचारीले संस्थागत र ब्यक्तिगत दुबै लगानीकर्ताहरुले एभरेष्ट बैंकका शेयरहरु किनबेच गरेको बताएका छन् । उनले ब्यक्तिगत गोपनियता राख्नुपर्ने भन्दै थप बिबरण भने दिन चाहेनन् । १३ नम्बर दलालले बेचेको शेयर सुरुमा ५९ नम्बर दलालले खरिद गरे पनि पछि ५९ नम्बर आफैले म्याचिङ गरेको देखिएको छ । केही शेयरहरु एभरेष्टका मुख्य प्रबद्र्धकले आफ्ना नातेदारको नामबाट बेचेको बुझिएको छ भने शेयर किन्ने संस्थागत लगानीकर्तातर्फ केही शेयरहरु बिशाल ग्रुप, एलआईसी नेपालले किनेको बुझिएको छ । एभरेष्टले हकप्रद शेयर जारी गर्ने संभावनालाई मध्यनजर गरी संस्थापकका नातेदारले ठूलो परिमाणमा महंगो मूल्यमा शेयर बेची रकम जोहो गरेको हुनसक्ने आँकलन गरिएको छ ।

 

एभरेष्ट बैंकको शेयर मूल्य धेरै बढेकोले नाफा सुरक्षित गर्ने हिसावले शेयरहरु किनबेच गरिएका हुन् । विगत छ महिनाको दाँजोमा हालैका दिनहरुमा शेयर मूल्य दोब्बर भई प्रति कित्ता तीन हजार चार सयको हाराहारीमा पुगेकाले लगानीकर्ताहरुले राम्रो नाफा कमाएका छन् ।

                                  यसरी माथि गएको छ एभरेष्टको शेयर मूल्य

 

हाल दुई अर्ब १२ करोड चुक्ता पूँजी रहेको एभरेष्ट बैंकले राष्ट्र बैंकले तोकेको आठ बर्ष पूँजी पुर्याउँन आगामी दुई बर्षभित्र चार गुणा पूँजी थप्नुुपर्ने बाध्यता रहेको छ ।

हाल कम्पनीको जगेडा कोष र खुद नाफा राम्रै भए पनि बोनस शेयरले मात्रै नपुग्ने हुँदा कुनै बैंकलाई किन्नुपर्ने वा हकप्रद जारी गर्नुपर्ने अबस्था छ । अर्कोतर्फ एभरेष्टको बिदेशी साझेदार भारतको पन्जाब नेशनल बैंकले बोनस शेयर भन्दा नगद लाभांशमा जोड गर्ने भएकाले उसको पनि चित्त बुझाउनुपर्ने अबस्था छ । अर्को तर्फ केही बाणिज्य बैंकहरु एभरेष्टमा मिसिने हल्ला चलाईएकाले बिहीबारको शेयर बजारमा ती कम्पनीको शेयर मूल्य प्रभावित भएको छ तर एभरेष्टले कुनै पनि बैंक खरिद गर्ने निधो अहिलेसम्म गरिसकेको छैन । तर बिहीबारको कारोबारमा कुमारी बैंकको शेयर किनबेच बिबेचनायोग्य रह्यो ।

गत साता १२०० अंक पार गरेर हालसम्मकै उच्च अंकमा पुगेका नेप्से यो साता लगात्तार चार दिन घटेपनि अन्तिम दिन विहिबार भने ८ अंकले उक्लिएको छ । विहिबार नेप्से ८.९१ अंकले बढेर ११८३.७६ अंकमा पुगेको छ ।

पूँजी बृद्धिको हल्ला वीमा समूह तर्फ मोडिएको र विकास बैकतर्फ पनि लगानीकर्ताको आकर्षण देखिएको छ । प्रस्तावित बीमा ऐनमा जीवन बिमाको पाँच अर्ब र निर्जिबन बीमाको चार अर्ब चुक्ता पूँजीको प्राबधान राख्न प्रस्ताव भएको छ । यसले बीमा कम्पनीहरुले अनिबार्य रुपमा पूँजी बढाउनुपर्ने भएकाले बोनस र हकप्रद शेयर बढी पाईने हल्लाका कारण लगानीकर्ताहरु बीमातर्फ लागेका देखिएको छ ।
विहिबारको कारोबारमा यति डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने इन्फास्टक्चर डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।




निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।