
सन् २००४ देखि बैंक अफ काठमाण्डौंबाट सेवा सुरु गरीसन् २००८ मा एनएमबी बैंकको कर्पोरेट बैंकिंगको नेतृत्व सम्हाल्न पुगेका श्रीजेश घिमिरे सन् २०११ देखि एनएमबी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छःअधिकृत घिमिरेसंगसंग मेरोलगानी डटकमका लागि परमेश्वर अधिकारीले समसामयिक विषयमा गरेको कुराकानी ।
बजारको अहिलेको चहल पहलका बिच सीडीएसको पछिल्लो कदमलाई कसरी हेर्नुभएको छ ?
बजारभन्दा पहिले सीडीएसको कुरा गरौं । यो धेरै पहिले आउनु पर्ने कुरा हो । दक्षिण एशियाली राष्ट्रमा हाम्रो देशमा यो सबैभन्दा ढिलो गरेर भित्रिएको छ । अहिले सीडीएस नआइ बजारको अटोमेशनको कुनै सम्भावना देखिएको थिएन । यसले अब अटोमेशनको ढोका खोलिदिएको छ । अहिले डीम्याटमा सीडीएसले अबलम्बन गरेका केही प्रकृयाहरु जटिल छन् । तर भोलिका दिनमा ट्रेडिंग र सेटलमेण्टमा यसले पक्कै पनि सकरात्मक असर पार्छ ।
जटिल प्रकृया भन्नु भयो नि ?
समस्याको कुरा । नीति, नियम, कानुन पहिला बन्ने अनि त्यस पछि बल्ल छलफलमा लैजाने प्रचलन बढ्दै गएको छ । बनेको नियमलाई छलफलबाट फेरि संशोधन गरेर, त्यसलाई पारित गरेर अनि बल्ल कार्यान्वायनमा लैजानुपर्ने अवस्था छ । सीडीएसका सम्बन्धमा पनि यस्तै भयो । सीडीएस आउनु पहिले नै सरोकारवालाका बिचमा चै छलफल, बहस गरिदिएको भए आज शायद सीडीएस अहिलेको भन्दा राम्रो ढंगले अघि बढ्न सक्थ्यो होला । तर जे भए पनि सुरुवात भयो, राम्रो भयो ।
अहिलेको हाम्रो बजारलाई अटोमेशन कति जरुरी देख्नु हुन्छ ?
अब डीम्याट खाता नभइकन आइपीओ नै भर्न नसकिने दिन आउन धेरै समय लाग्ने अवस्था छैन । बैंक खाता जसरी चलिरहेका छन्, त्यसरी डीम्याटमा शेयर जम्मा हुने अहिलेको प्रकृया हो ।बैंक खाता सञ्चालनका लागि अहिले जुन किसिमको सहज परिस्थिति बन्यो, त्यसरी नै सीडीएस पनि व्यवस्थित हुँदै जानु पर्छ । तर होलिष्टिक भएर हामीले कतिपय कुराहरु सोच्न नसकेका कारण यसमा केही समस्या भने देखिन सक्छ । जसलाई अहिलेको डीपीको चटारोले पनि सहजै पुष्टि गर्छ । यसमा चेतनाको कमी झनै समस्याको विषय हो । डीम्याट किन गर्ने, डीम्याट के हो ? भन्ने जस्ता सुचना प्रभावकारी रुपमा लगानीकर्तासम्म प्रवाह हुन सकेकै छैन । यसले बजारलाई अटोमेशनमा जानका लागि धेरै गृहकार्य गर्नुपर्ने देखिन्छ । अटोमेशन अहिले अत्यन्तै जरुरी भैसकेको छ भन्ने मेरो बुझाई हो ।
अहिलेको बैंकिंग कारोबार त अटोमेशनमा गइसक्यो नि ?
हो यहि त मुख्य कुरा हो । यति सहज रुपमा कसैले टाउकै दुखाउन नपर्ने गरेर बैंकिंग सिष्टम अटोमेशनमा जान सक्ने अनि शेयर बजार अटोमेशनको काममा अनावश्यक ढिलासुस्ती हुने, यो आश्चर्यको विषय हो । हाम्रो यो अफिसमा मात्र हेर्नु भयो भने आइपीओको कागजले भवन ओगटेको अवस्था छ । यहि कागजात राख्नका लागि प्रत्येक वर्ष स्पेश थप्नु परिरहेको छ । यसले हाम्रो होराइजनलाई रेष्ट्रिक्ट गरेको हो भनेर बुझ्न सजिलो बनाइदियो । अहिले देशको कुल जनसंख्याको ४० प्रतिशत इन्टरनेटको पहुँचमा पुगेको तथ्यांक आइरहेको छ । यता कुल जनसंख्याको १ प्रतिशतको हाराहारीमा मानिसहरु शेयरका लागि आवेदन दिन्छन् । यो ग्यापलाई हेरेर काम गर्नु पर्दैन ? स्काइप, भाइबर, फेसबुक, इमेल अनि यस्तै धेरै थरीका प्रोग्राम अनि एप्स चलाउन सक्नेले नै अहिलेको बैंकिंग सफ्टवेयर पनि चलाई रहेका छन् । यस्तो अबस्थामा शेयरको अनलाइन आवेदन अनि कारोबार अनलाईनबाट हुन सक्दैन भन्न त मिल्दैन नि ।
जहाँबाट पनि फर्म सवमिट भए पछि त लाइनमा बस्नुपर्ने अहिलेको बाध्यताको अन्त्य हुन्थ्यो । तर यहाँ बाधक के भयो भने यो कुराले स्पीड क्याच गर्न सक्दैन भन्ने हामीले सोच्यौं । उ जमानामा टाइपराइटर बेचेर बसेको मान्छे समयानुकुल परिमार्जित भएर कम्प्युटर व्यापारी भयो त । तर हामी कम्प्युटर व्यापारी नभइ पुरानै टाइपराइटर व्यापारी हुन लालायीत छौं । यो नै हाम्रो समस्या हो ।
झण्डै दशक पहिले एनएमबीले लगानीकर्ताको डाटाबेस बनाउने काम सुरु गरेको थियो त्यो के भयो ?
हो, हामीले ७ वर्ष पहिले एउटा नयाँ कामको सुरुवात गर्न खोजेका थियौं । सीडीएसको परिकल्पना हुनु पहिले नै हामीले लगानीकर्ताको विवरण डाटावेशमा राख्ने काम सुरु गरे पनि कुनै निकायबाट अलिकति पनि सहयोग नपाए पछि हामीले त्यसलाई निरन्तरता दिन सकेनौं । अब अनलाइन आवेदन दिन मिल्ने गरी डाटावेशमा लगानीकर्ताको विवरण स्टोर गरे पछि पनि आइपीओमा पुरै फर्म भरेर लाइनमा बस्न लगाइन्छ भने हामीले के का लागि त्यसलाई निरन्तरता दिने ? नयाँ कुरा देख्दा त त्यसलाई प्रोमोट गर्नुपर्ने तर हामीले त्यो सहयोग पाएनौं । यदि त्यस किसिमको सहयोग पाउने हो भने डाटाबेशमा लगानीकर्ताको विवरण अद्यावधिक गरेर एउटा टोकन बाँड्ने अनि त्यसका आधारमा सहज रुपले आइपीओ आवेदन दिलाउने व्यवस्था गर्न अहिले पनि सकिन्छ । अहिले भरिने आइपीओ फर्ममा शेयर विवरण भर्ने ठाउँ बाहेक जति फर्म भरे पनि एउटै विवरण भर्ने हो । आवेदकको नाम, ठेगाना, नागरिक्ता विवरण, तीन पुस्ते लगायतका विवरण त परिवर्तन हुँदैनन् नि । यस्तो रेकर्ड राखेर काम गर्दा आइपीओ आवेदन प्रकृयाको ५० प्रतिशत काम घट्छ ।
के चै हो त समस्या ?
हाम्रो रेगुलेटरी प्रिमाइस फरवार्ड लुकिंग हुन नसक्नु समस्याको जड हो । कुनै पनि बडीले अनलाइनलाई कसरी स्थापित गर्न सकिन्छ, सामान्य लगानीकर्तालाई शेयर बजारमा कसरी ल्याउन सकिन्छ भनेर आजका दिनसम्म सोचिएकै छैन । ढिलै गरेर भए पनि सीडीएस चै आयो, तर पनि धेरै अफ्ठेराहरु छन् । सीडीएसको आगमनले अटोमेशनको कम्पनेन्टहरु चैं केही हदसम्म अघि बढ्ने देखिन्छ । तर बैंक एकाउण्टसंग सीडीएस कनेक्ट हुनै सक्दैन, यसले कसरी अटोमेशनको काम अघि बढ्ला भन्ने कन्फ्युजन पनि पैदा गरिदिएको छ । बैकिङ कारोबार बिना कुनै पनि मार्केटेबल सेक्युरिटी सम्भव हुँदैन । शेयर किने पनि बेचे पनि त्यहाँ पैसाको उपस्थिति हुन्छ, बार्टरमा त यस्तो काम हुँदैन नि ? अनि संसार भरीको रेमिट्यान्सको रकम अटोमशनबाटै घरघरमा पुर्याउन सक्ने हामीले सीडीएसको बैंकिंग सेटलमेण्टको मोडलमा किन छिरेनौं भनेर समीक्षा गर्नु एकदमै जरुरी छ । ५ दशक पहिले संसारले प्रयोग गरेको प्रविधि हामीकहाँ आज प्रयोग गर्न पनि ढुंगे युगको जस्तो व्यवहारिक्ताले त बजार कसरी आधुनिकिकरण तिर अघि बढ्छ त ?
जिम्मेवारीबाट पन्छिने परिपाटीलाई औल्याउन खोज्नु भएको हो ?
बल पासिंग त हामी कहाँ एकदमै धेरै हुन्छ । मर्चेण्ट बैंक जस्तो यो संस्थामा त काम गदै जाँदा हामीसंग केही न केही कमी कमजोरी भेटिन्छन् । अब नयाँ सोच हुँदा हुँदै पनि नकारात्मक सोच धेरै मात्रामा हावी भएका कारण पनि कतिपय कुराहरुको कार्यान्वायनमा जान नसकिरहेको अवस्था छ । त्यसलाई धेरै मात्रामा बल पासिंगले पालपोस गरिरहेको छ । यो एकदमै बिचारणीय सोच हो । यसमा हामी प्राइभेट सेक्टरले भन्दा नियमक निकायले चासोका साथ काम अघि बढाउने सोच्नु पर्छ । अन्यथा बजारमा के के न नौलो काम हुँदैछ भनेर पर्खिनु बेकार हो, किनकी अहिले बजार जहाँ छ, त्यही रहन्छ ।
तर नेप्सेमा त रेकर्ड ब्रेक भयो नि ?
प्राविधिक आधारमा त यो नयाँ विषय हैन नि । हो, बजार अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो, तर त्यसलाई आधुनिक प्रविधिको सपोर्ट कति जरुरी थियो र हामीले के गर्यौ भन्ने कुरा पनि महत्वपुर्ण छ नि, हैन र ? अब बजार तत्कालै सामान्य अवस्थामा फर्कि हाल्ने अवस्था पनि म देख्दिन । फेरी अहिले डीम्याटको फ्लो बढेका कारण पनि बजारमा उछाल कायमै रहने अवस्था छ । यो डीम्याटमा आएको तिब्रताले सेटलमेण्ट छिटो र सहज हुँदा कारोबार त निश्चित रुपमा बढ्छ । यी सबै कुराहरुले बजारलाई अटोमेशनमा जानका लागि दवाब पनि श्रृजना गर्छ । अहिले अफलेटमा आएर हेर्ने हो भने पनि सीडीएसको रफ्तारले यसलाई पुष्टि गर्छ । तर कहिलेसम्म माथि जाने ? ६ महिना, १ वर्ष या २ वर्ष, यो चैं भन्न गाह्रो छ ।
भूकम्प पछिको यत्रो ठुलो विपदको घडीमा त बजार उचालियो भने भोलिका दिनमा ग्रोथ बढ्ने कुरालाई नकार्न सकिन्न । भूकम्पले फाईनान्सियल सेक्टरमा धेरै मात्रामा नकरात्मक असर नपारेको जस्तो देखिनु अनि पुनर्निनिर्माणको चरणमा उत्पन्न हुने ट्रान्जीक्सनले पनि बजारको ग्रोथलाई सपोर्ट गर्छ । अब मैले भूकम्प पछिका दिनमा देखेको र भन्दै आएको एउटा कुरा के हो भने पुनर्निर्माणमा सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो पटक्कै भएको छैन । खर्चको रफ्तार लक्ष्य अनुरुपको हुने हो भने त्यसको असर त शेयर बजारमा पनि त पर्छ नि । हामी कर तिर्छौं, तर सरकार खर्च गर्न नसक्ने स्थितिमा छ । यसले अर्थतन्त्र अब कता जान्छ भन्ने पनि देखाउँछ ।
शेयर बजारको कुरामा त एनएमबी क्यापिटलको भुमिकाको पनि कुरा आउला नि ?
हामी स्वीकार्छौं कि अहिलेको अवस्थामा हाम्रो भुमिका देखिएको छैन । एनएमबी मात्र नभइ यो सेक्टरको नै प्रभावकारी भुमिका देखिएको छैन । ३ वर्ष भन्दा बढी समय भैसक्यो, हाम्रो भुमिका कम देखिएको । हाम्रो दायरा बढाइदेउ, हामी केही गर्न चाहन्छौं, हाम्रो भुमिका कम भयो भनेर नियमकसंग हार गुहार पनि गरि रहेका छौं । तर यो रोलमा कुनै पनि काम अघि बढ्न सकेको छैन । अब त हामीलाई फलोअप गर्न जान पनि लाज लाग्ने बेला भैसक्यो । एउटै कुरालाई कति फलोअप गर्ने ? तर नगरी पनि चुप लागेर बस्ने अवस्था छैन, यहाँबाट पनि त्यो कुरा उठान गर्न चाहन्छु ।
आज भोली एनएमबी के गर्दै छ ?
मार्केटमा अहिले एग्रेसिभली अघि बढ्ने अवस्था छैन, यसले गर्दा हामी सामान्य अवस्थामा छौं । यति भन्दै गर्दा हामी सबै काम गर्न सक्षम छौं भन्ने सन्देश दिनै पर्छ । हामीसंग भएको स्रोत साधन, जनशक्ति छ जसले इनटरनेशनल प्राक्टिस, रिस्क मेनेजमेण्टदेखि विभिन्न क्षेत्रको नलेजलाई स्ट्रंग्ली बुझेको छ । तर यस अनुरुप जसरी हाम्रो मार्केट बिस्तार हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । यो सबै कुरा रेगुलेटरी बडीमै गएर ठोक्किन्छ । हाम्रो पहिलेदेखिको स्ट्रेन्थ भनेको इस्यू रिलेटेड विजनेश हो । आरटीएस पनि काम गरिरहेका छौं । मर्चेण्ट बैंकर भएर हामीले लिएको लाइसेन्स अनुसारको अलमष्ट सबै किसिमका सेवाहरु दिइरहेका छौं । यसमा पोर्टफोलीयो म्यानेजमेण्टमा हामीले खासै चासो दिएका छैनौं । स्ट्राटिजीकल्ली हामीले केही सोचेर नै पोर्टफोलीयोमा काम नगरेको हो । म्युचुअल फण्ड जस्ता प्रोडक्टमा नै हाम्रो ध्यान केन्द्रित छ । अहिले लाइसेन्स पाएका सबै काम गर्दै गर्दा भोलिका दिनमा यदि धितोपत्र बोर्डले कुनै पनि नयाँ सेक्टरका लागि लाइसेन्स दिने हो भने मर्ज एण्ड एक्वीजीशन, फाइनान्सीयल एडभाइजरी, रिसर्च, लोन इण्डिकेशन, रिस्क म्यानेजमेण्ट जस्ता कुनै पनि काम गर्न हामी तयार छौं । यसका लागि हामी सक्षम भएर नै सबै कामका लागि तयारी अवस्थामा बसेका छौं ।
डीपीमा त अहिले धेरै चाप होला नि ?
एकदमै मारामार छ । डीपीमा खाता खोल्ने र डीम्याट गर्नेको भिड बढेको बढेकै छ । नेप्सेमा डीम्याट नभएका शेयरको कारोबार नहुने भएकाले हामीलाई मात्र नभई ४५ वटै डीपीलाई यतिबेला भ्याइ नभ्याइ भएको हो ।
नयाँ स्कीमका सम्बन्धमा एनएमबी के गर्दैछ त ?
एउटा स्कीम चलिरहेको छ । छिटो भन्दा छिटो अरु स्कीम ल्याउने तयारीमा छौं । तर यसमा पनि धितोपत्र बोर्डकै कारणले समस्या देखा परिरहेको छ । पहिलो स्कीम ल्याउन कै लागि त हामीलाई बोर्ड कै कारणले १ वर्ष भन्दा बढी समय लागेको थियो । त्यो स्कीम इक्वीटी हाइब्रिड थियो जसलाई हामीले ग्रोथ स्कीम भनेका छौं । फिक्स इनकम सेक्यूरीटीज र इक्वीटीको मिक्स अपमा सञ्चालित स्कीममा ७ प्रतिशत वार्षिक प्रतिफल आउनु पर्छ भन्ने बेसिसमा सेल गरेका थियौं । ६० करोडको स्कीम फ्लोड गरेकोमा ओभर सस्क्राइब भएर हामीले त्यसलाई ७५ करोडसम्म पुगेर रोक्यौं । अहिले त्यसको नेट एसेष्ट भ्याल्लू झण्डै ८४ करोड रुपैंया पुगेको छ । नाभ पनि १० ११ को लेभलमा छ । यस आधारमा हाम्रो अपेक्षा अनुरुप स्कीमले राम्रो गती लिइरहेको छ । भविष्यमा झनै इनोभेटिभ अनि डिफरेण्ट टाइपको स्कीमहरु लयउने भनेर त्यसैमा काम गरिरहेका छौं । सम्भवतः त्यसको जानकारी चाँडै नै आउछ । तर धितोपत्र बोर्डले स्कीम दर्ता पश्चात धेरै समय खर्च गरिदिने समस्याले यसलाई असर पारेन भने मात्र । यस्तो किसिमले सहज परिस्थिती बनेमा हामी क्लोज इण्ड प्रणालीको डेढ देखि २ अर्व रुपैंयासम्मको स्कीम चाँडै लञ्च गर्छौं ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।