६८ करोड चुक्ता पूँजी रहेको फाईनान्सले गत आर्थिक बर्षमा १८ करोड खुद नाफा गरेर प्रति शेयर आम्दानी २७ रुपैयाँ कायम गरेको थियो । १८ प्रतिशत बोनस शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ८० करोड नाघ््ने छ । पूँजी कोष १८ र निस्क्रिय कर्जा अनुपात ०.५९ प्रतिशत मात्र रहेकाले फाईनान्सको अबस्था सबल नै छ । कम्पनीको निक्षेप र कर्जाको बृद्धि पनि संतोषजनक नै छ ।
राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिले राष्ट्रियस्तरको फाईनान्स कम्पनीको चुक्ता पूँजी कम्तिमा ८० करोड हुनुपर्ने ब्यवस्था गरेकोमा नारायणी नेशनललाई त्यो कुनै टाउको दुखाईकै बिषय रहेन । त्यसैले उसले आकर्षक बोनस शेयरका साथमा सात प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरेको बुझिन्छ । पूँजी पर्याप्त हुने भएकाले नगद लाभांशको प्रस्तावलाई राष्ट्र बैकले स्वीकृत गर्ने आधार छ ।
प्राईम कमर्शियल बैंकसंग मर्जमा जाने भन्दै लामो समयदेखि कुरा चलाउँदै आएको फाईनान्सले पछिल्ला दिनहरुमा भने प्राईमलाई घुर्की लगाउने हैसियत बनाएको छ । आफैले चुक्ता पूँजी कायम गरेर राष्ट्रिस्तरको बित्तीय संस्थाको हैसियत कायम राखिरहन सक्ने आधार मौद्रिक नीतिले दिएपछि नारायाणी नेशनलका संचालकहरुको मोलतोल गर्ने शक्ति बढेको बताईन्छ ।