
देशको खबर सम्बाददाताले सोमबार केही शेयर रजिष्ट्रार र निक्षेप सदस्य अर्थात डीपीहरुको कार्यालय भ्रमण गर्दा निकै भद्रगोलपूर्ण अबस्था रहेको पत्ता लगाएको छ । कतिपय लगानीकर्ताले पाँच महिना अगाडि शेयर डिम्याट गर्न निबेदन दिए पनि आफ्नो डिम्याट खातामा शेयर पाउन सकेका छैनन् भने कतिपय लगानीकर्ताको शेयर प्रमाण पत्र र डिआरएन नम्बरसहितको डिम्याट निबेदनै बेपत्ता भएको पाईएको छ ।
कम्पनीहरुले लाभांश तथा हकप्रद शेयर बितरण तथा साधारणसभाका लागि शेयरधनी दर्ता किताब बन्द गरिसक्दा समेत त्यो बन्द हुनुभन्दा पहिले शेयर किनेका र साधारणसभामा भाग लिन गएका लगानीकर्ताहरुको खातामा शेयर जम्मा नहुंदा उनीहरुको लाभांश के हुने भन्ने अन्योल पनि उत्पन्न भएको पाईएको छ ।
सीडीएससी एण्ड क्लियरिड. लिमिटेडले सार्वजनिक सूचना जारी गरी दिएको जानकारी अनुसार नेप्सेमा कारोबार गरिरहेका कम्पनीहरु मध्ये १३१ वटाले मात्र हालसम्म शेयर अभौतिकिीकरणको सम्झौैता गरी अनिबार्य डिम्याट कारोबार सुरु भएको छ । सीडीएससीमा निबेदन दिएर शेयर डिम्याट गराउन चाहने कम्पनीको संख्या ३४ रहेको छ भने नेप्सेमा कारोबार गरिरहेका २६ वटा कम्पनीहरु अझै सीडीएससीको सम्पर्कमा गएका छैनन् । यसरी ती कम्पनीहरु आफ्नो सम्पर्कमा नआई अनिबार्य अभौतिक शेयर कारोबार हुन नसकी हानी नोक्सानी पुगेमा सीडीएससी जिम्मेबार नहुने चेतावनी दिईएको छ ।
सीडीएससीले माघ १ गतेपछि अनिबार्य डिम्याट शेयर कारोबार गर्न चाहने लगानीकर्ताहरुलाई आफ्नो डिम्याट खाता खोली सक्कल शेयर प्रमाणपत्रसहित निबेदन दिएर डिम्याट गराउन आब्हान गरेको छ तर तत्काल शेयर बेच्न नचाहनेहरुले पछि गराएपनि हुने खुकुलो अबस्था छ । यहाँ बिचारणीय पक्ष यो छ कि गत बर्षको माघमा अनिबार्य डिम्याटमा गएका बाणिज्य बेंकहरुकै शेयर डिम्याट गराउन पाँच महिना अघि निबेदन दिएका लगानीकर्ताको खातामा शेयर जम्मा हुन सकेको छैन भने भरखरै डिम्याटको सम्झौता गरेका कम्पनीका शेयर एक, दुई दिनमै डिम्याट गराएर बेच्न असंभव जस्तै देखिएको छ ।
निक्षेप सदस्य तथा शेयर रजिष्ट्रारहरुको कार्यालयमा शेयर डिम्याट गराउनेहरुको निबेदनको ठूलोे चाड. लागेको, कर्मचारीको अनुभवको कमी, जनशक्तिको अभाव, लोडसेडिड. र शेयर बजार बढ्दा डिम्याट गराएर शेयर बेचिहाल्न चाहनेहरुको भीडले अस्तब्यस्तता छाएको पाईएको छ । कतिपय पहुँचवालाहरुले भनसुन गराएर निबेदन दिएको एकैदिनमा शेयर डिम्याट गराएको पाईए पनि आम लगानीकर्ताहरुको अबस्था दयनीय नै देखिन्छ । शेयर मूल्य बढेको बेलामा डिम्याट नभएका कारण बेच्न नपाउँदा लगानीकर्ताले कस्तो पछुताउ गर्नु पर्ने रहेछ भन्ने कुरा अहिले डीपीहरुकोे कार्यालयमा प्रष्टै देख्न सकिन्छ ।
भरखरै शेयर डिम्याटको सम्झौता गरेका बिमा र लघुबित्तहरुको शेयर डिम्याट गराउने लगानीकर्ताको चाप शेयर रजिष्ट्रार र डीपीहरुको कार्यालयहरुमा बढी देख्न सकिन्छ । अहिले नेपाल स्टक एक्सचेन्जमा बिमा र लघुवित्तहरुको शेयर मूल्य बढिरहेकाले नाफा सुरक्षित गर्न चाहनेहरुले शेयर डिम्याट गराएर बेचिहाल्न खोजेका छन् तर साना लघुबित्तहरु मध्ये केही कम्पनी डिम्याटको सम्झौता गर्न नगएका र केही बिमा र लघुवित्त कम्पनी भरखरै सम्झौतामा गएकाले माघ १ गतेसम्ममा ती कम्पनीहरुको शेयर लगानकिर्ताले डिम्याट गराउन मुस्किल पर्ने देखिएको छ ।
अहिले डिम्याट नभएका र डिम्याट सम्झौता भरखर गरेका कम्पनीहरुको डिम्याट नभएका शेयर प्रमाण पत्र किन्दा लगानीकर्ताहरुले आफ्नो नाममा शेयर पाउन कम्तिमा तीन महिना लाग्ने झंझटिलो अबस्था अझै रहेकाले माघ १ यता यस्ता कम्पनीको शेयर नकिन्दा नै बेश हुने अबस्था छ । कागजी प्रमाण पत्र किनेर बेकारको झंझट र तनाव किन ब्यहोर्ने ? अझ सीडीएससीसग डिम्याट सम्झौताको निबेदनै नदिएका २६ कम्पनीहरुका बारेमा त झन् लगानीकर्ताहरु सतर्क हुनुपर्न देखिएको छ ।
बजारमा एक, दुई लाख कित्ता शेयर भएका तर चर्को मागले शेयर मुल्य उचालिएका कम्पनीहरुको सवालमा अझै धेरै सतर्कता आबश्यक छ किनभने अहिले महंगो मुल्यमा ती कम्पनीको शेयर किनेका लगानीकर्ताले महिनौैपछि आफ्नो नाममा शेयर प्राप्त गर्दा अहिले तिरेको मुल्यमा बेच्न पाउने वा नपाउँने कुनै ग्यारेन्टी छैन । त्यसैले शेयर किन्दा अनिबार्य डिम्याट भए नभएको कुरा पहिले नै यकिन गरौ । तर डिम्याट नभएका कम्पनीका पनि दीर्घकालीन लगानीको हिसावले कम्पनीको अबस्था हेरी उचित मूल्यमा शेयर किनेर राख्दा आत्तिनु पर्दैन ।
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।