भुकम्प, तराईमा जारी अशान्ति र भारतीय नाकाबन्दीले अर्थतन्त्रका अरु क्षेत्र तन्नम हुँदा पूँजी बजारले मात्रै यसरी बुर्कुसी मार्नुपर्ने आधार कति बलियो छ त ? देशको अर्थतन्त्रको एना पूँजी बजार हो भने त्यही कुरा यहाँ प्रतिबिम्बित भएको हो त ?
अधिक तरलता, अन्यत्र लगानीको अवसरको कमी, शेयर बजारमा भित्रिएको आधुनिकीकरण, दोस्रो त्रैमासको बित्तीय बिबरणको आश र राजनीतिक अबस्थामा भरपर्दो सुधार हुने संकेत देखिए पनि शेयर बजार वास्तवमै बढेको हो भन्ने आधार बलियो छैन ।
अनिबार्य अभौतिक शेयर कारोबारका कारण कयौं कम्पनीको कारोबार रोकिएको, २९ बाणिज्य बेैक मध्ये
मर्जका कारण १० बाणिज्य बैंकका मात्रै २५ करोड कित्ता शेयर बेचबिखनमा बन्देज लागेको, मुख्य बिकास बैंक र फाईनान्स कम्पनीहरु पनि मर्जको क्रममा रही कारोबारमा नआएको कारण बजारमा शेयरको चरम अभाव भएको हो । त्यस्तै सीडीएससीसँग डिम्याट सम्झौता नगरेकाले कारोबारमा बन्देज लागेका कम्पनीहरुको शेयर किनबेच बन्द हुँदाको असर पनि आईतबारकोे बजारमा परेको छ । पहिले औसतमा १४१, १४२ कम्पनीको शेयर कारोबार हुने गरेकोमा आईतबार जम्मा ८९ कम्पनीको शेयर मात्र किनबेच हुनुले नै कारोबार हुने कम्पनीको संख्या घटेको स्पष्ट गर्दछ ।
अर्कोतर्फ पुसको अन्तिमतिर डिम्याट सम्झौता गरेका कम्पनीहरुका लगानीकर्ताहरुले पर्याप्त मात्रामा शेयर डिम्याट नगराईसकेका कारण पनि उनीहरुसँग बिक्रीमा राख्ने शेयर नभएकाले शेयरको भाउ आकासिएको होे । पहुंचवाला लगानीकर्ताको शेयर एकैदिनमा डिम्याट हुनसक्ने तर सामान्य लगानीकर्ताले महिनौ धाउँदा पनि शेयर डिम्याट गराएर आफ्नो खातामा पाउन नसक्ने अबस्था रहेकाले अझै केही दिन शेयरको कृत्रिम मुल्य बढाई कायमै रहन सक्ने अबस्था छ । बजारमा माग र आपुर्तिका सन्तुलन मिल्न नसक्दा त्यसको सिधा असर शेयर मूल्यमा पर्ने गरेको छ । केही खराब कम्पनीहरुको शेयरमा चलखेल गरेर मुल्य उकासी केही सिमित ब्यक्तिहरुले करोडौ कमाउने अवसर सिर्जना भएको छ ।
शेयर बजारमा धेरै शेयर हिस्सा हुने बाणिज्य बैंकहरु मध्ये एक तिहाई भन्दा बढीको कारोबार रोकिँदा लगानीकर्ताहरुले जस्तो कम्पनीको भए पनि उक्लिदो मुल्यमा शेयर खरिद गर्ने प्रबृत्ति हावी हुन थालेको छ । जगेडा कोष ऋणात्मक रहेका, अझै केही बर्षसम्म लाभांश दिनै नसक्ने र संस्थागत सुशासन कमजोर रहेका कम्पनीहरुको शेयर मूल्य पनि आकासिएर लगानीकर्ताहरुमा जोखिम बढ्न गएको देखिएको छ । यसरी उचालिएर खराब कम्पनीहरुको शेयर किन्दा भोलि बजार झर्न थाल्यो भने सबैभन्दा बढी घाटा तिनै लगानीकर्ताले ब्यहोर्नपर्छ, जो नयाँ लगानीकर्ता हुने संभावना बढी छ । किनभने शेयर बजार उकालो लाग्दा बजारमा हाम्फाल्ने नयाँ लगानीकर्ता नै हुन र ओरालो लाग्दा आत्तिई घाटा खाएर भाग्ने पनि उनीहरु नै बढी हुने गर्छन ।

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलगायतका नियमनकारी निकायहरु जो कम्पनीहरुलाई मर्जमा पठाउन बाध्यकारी प्रावधान लागु गरिरहेका छन्, उनीहरु शेयर बजारमा बढ्दै गएको जोखिमबारे भने मौनता साँधिरहेका छन् ।
आईतबार शेयर मूल्य अघिक बढेका कम्पनीहरु
राम्रा कम्पनीहरु पूँजी बृद्धिसम्बन्धी निर्देशन पालना गर्न मर्जमा गएर कारोबार रोक्न बाध्य छन् भने एक दुई करोडका कम्पनीहरु जसको आधारै बलियो छैन, उनीहरुको शेयर मूल्यले आकाश छोएर त्यसका केही लगानीकर्ताहरु मालामाल भईरहेका छन् । लाखौं लगानीकर्ताको खर्बौ रुपैयाँ बराबरको शेयर बन्धक बनिरहँदा केही करोड लगानी भएका कम्पनीहरुका सिमित लगानीकर्तालाई मालामाल बनाउने वातावरण तयार गरेर नियमनकारी निकायहरु अनौठो भुमिका निर्वाह गरिरहेका छन् ।
अझै चार देखि पाँच बाणिज्य बैंक र केही ठूला बिकास बैंक र फाईनान्स कम्पनीहरु मर्जमा जानै बाँकी भएकाले बजारमा बिक्रीयोग्य शेयरको अभाव अरु चर्किने अबस्था छ । आधा भन्दा बढी बाणिज्य बैंकहरु मर्जमा गएको अबस्थामा बजारमा बिक्रीमा आउने शेयरको मुल्य छोई नसक्नु हुने र मर्जमा गएका कम्पनीहरुका लगानीकर्ताहरु नेप्सेले रेकर्ड तोड्दा समेत टुलुटुल हेरेर बस्नुपर्ने कस्तो नियति हो ?
मर्जमा गएका कम्पनीहरुको शेयर कारोबार रोक्नु परे पनि केही दिनका लागि अर्थात सम्पति तथा दायित्वको मूल्यांकन ( डीडीए) र स्वाप रेसियो तय नभएसम्मका लागि स्वभाविक मान्न सकिन्छ तर के मर्जमा गएका कम्पनीका लगानीकर्ता अपराधी हुन र अनन्त कालसम्म शेयर बन्धक बनाएर असह्यै पीडा दिने ? मर्ज प्रक्रियामा गएका कम्पनीहरुको शेयर कारोबारबारे भारत लगायतका देशमा भएका अभ्यासहरु के छन् र त्यसलाई यहाँ किन अबलम्बन गरिदैन ?
नियमनकारी निकायहरुले मर्जलाई छोट्याउने, मर्ज प्रक्रिया नटुंगिदै शेयर कारोबार खुल्ला गर्ने भन्ने हल्ला गरेको लामो समय भए पनि त्यसलाई ब्यवहारमा उतार्न अझै केही गरेका छैनन् । कतिपय बैंकहरुले शेयर स्वाप रेसियो तय गरेर मर्जको प्रक्रिया पुरा गरे पनि उनीहरुको शेयर कारोबार चाँडै खोलेर लगानीकर्तालाई राहत दिन कोही तयार छैन । यसरी शेयर बन्धक बन्दा लाखौ लगानीकर्ताहरु प्रताडित हुनुपर्ने अबस्था आउँदा मर्जमा जाने कम्पनीहरुको शेयर बेचेर पाखा लाग्ने र मर्ज भन्ने बित्तिकै नाक खुम्च्याउने प्रबृत्ति आम लगानीकर्तामा बढेको पाईन्छ । बैंक अफ काठमाडौ, लुम्बिनी, सिद्धार्थ, एनसीसी, कुमारी लगायतका बैंकको मर्ज सम्झौता हुनु अघि भएका शेयर कारोबारले यही कुरा संकेत गर्दछ ।
यस्तो अबस्थामा धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलगायतका नियमनकरी निकायहरुले तत्काल सोच्नुपर्ने भएको छ बजारमा शेयरकोे अभाव गराएर खराब कम्पनीहरुको शेयर मूल्यले आकाश छुने अबस्था अरु बढाउने कि मर्जमा गएका कम्पनीको पनि निश्चित प्रक्रिया पुरा गरी शेयर कारोबार खुला गरी बजारमा स्वस्थ वातावरण कायम गर्ने ? यही असन्तुलनको कारणले भोलि नेप्से उचालिएर एउटा निश्चित बिन्दुमा पुगी क्र्यासको अबस्था आयो भने यी निकायहरुले आफ्नो कमजोरीप्रति जति पश्चाताप गरे पनि कमै हुनेछ किनभने धेरै लगानीकर्ताहरुको अर्बौ गुमिसकेको हुने छ ।